ताजा अपडेट »

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत हिउँदे मकै खेतीको विस्तार

बुधबार, ०८ जेठ २०७६


जेठ ८,
ग्लोबल आवाज
गुल्मी । गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम मकै जोन कार्यक्रम लागू भए पश्चात हिउँदे मकैखेतीको बिस्तार गरिएको छ । यस वर्ष मात्र परियोजनाले जिल्लाको इस्मा गाउँपालिकाको राताडाँडा गुर्वाखोला चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकैको घोगा उत्पादनका लागि हिँउदे मकैको शुरुवात गरिएको परियोजनाका प्रमुख कुल प्रसाद दवाडी बताए ।


मकै जोनको प्राविधिक एंव व्यवस्थापकिय सहयोगमा हिँउदे मकै प्रवद्र्धनका लागि यस वर्ष विभिन्न ४ वटा स्थानमा जम्मा २० रोपनी क्षेत्रफलमा परिक्षण उत्पादन गरिएको थियो । परिक्षण उत्पादनका लागि सि.पी. ६६६, सि.पी. ८०८, एन.एम.एच. तथा खुमल हाइव्रिड -२ जातका मकैहरु कार्तिकको अन्तिम हप्तामा लगाइएको थियो । यस वर्ष हिँउदमा वढेको चिसोको कारण मकै पाक्नमा केहि ढिलो भएको प्रमुख दवाडीले बताए ।


गुल्मीमा पछिल्ला वर्षहरुमा हरियो मकैको खपत उल्लेख्य मात्रामा वृद्धि हुदै गएको छ । जिल्लामा हरियो मकैको घोँगा पाल्पाको अर्गेली, तराइका रुपन्देही तथा नवलपरासी जिल्लाबाट आउने गर्दछ । यस वर्षको मकैको अवस्था, बजारमा हरियो मकैको उच्च माग एवम् मुल्यका कारण परिक्षणमा उत्पादनमा संग्लग्न कृषकहरु उत्साही देखिन्छन् ।

परियोजनाले समेत यस वर्षको नतिजाको आधारमा आगामी वर्ष छल्दी, पनाहा तथा निस्तीखोलाको फाटहरुको करिव १ सय रोपनी क्षेत्रफलमा हिउदे मकै प्रवद्र्धन गरी जिल्लालाई आवश्यक पर्ने हेरियो घोगामा आत्मनिर्भर हुने गरि कार्यक्रय तर्जुमा गरिएको मकै जोन प्रमुख कुल प्रसाद दवाडीले बताए । यस वर्ष मकै जोनले गरेको परिक्षण उत्पादनबाट आगामी वर्षमा यसै जिल्लाको उत्पादनबाट हरियो मकैको खपत हुन सक्ने देखिन्छ ।