ताजा अपडेट »

तराईमै फल्यो स्याउ,पहाडमा पनि फलाउन सकिने

बुधबार, ०८ जेठ २०७६

जेठ ८,

रुपन्देही । खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा फल्ने स्याउ तराईको उच्च गर्मीमा पनि फलेपछि रुपन्देहीको मणिग्राममा उक्त स्याउ हेर्ने आउनेको संख्या बढेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको एक नर्सरीमा यतिबेला लटरम्म स्याउ फलेको छ ।

विगत लामो समय देखि नर्सरी, फलफुल र फुलको विषयमा अध्ययान अनुसन्धान गर्दैै आएका रमेश पाण्डेले उक्त स्याउ आफ्नो नर्सरीमा फलाएका हुन् । मणीग्राममा रहेको लुम्बिनी नर्सरीमा चिलिङ्ग जातको स्याउ फलेको छ । सञ्चालक पाण्डेका अनुसार स्याउ फलेपछि हेर्नेहरु र चासो व्यक्त गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए । गत वर्ष ४ /५ वटा मात्रै फल लागेका थिए। यो वर्षभने स्याउको बोटमा लटरम्म फल लागेका छन् । जंगली प्रजातिको चिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमीबाट यो स्याउको बोट तयार गरिएको हो।

चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ । जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो । ‘५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ, सञ्चालक पाण्डेले भने । उनको नर्सरीबाट विरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ । गुल्मी र पाल्पामा समेत एकैसाथ विरुवा रोपिएको थियो । ती सबै बोटले फल दिएका छन् । सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर गर्मी मौसमका कारण तराईमा बैशाखमै फल देखिएको उनले बताए । गत वर्ष फलेको फल गुलियो रहेको पाण्डेले बताए । उनकै नर्सरीबाट विरुवा लगेका मणिग्रामका रमेश पराजुलीको घरमा समेत स्याउ फलेको छ । तराईमा समेत स्याउ फल्छ भन्ने सुनेका पराजुलीकै आग्रहमा नर्सरी व्यवसायी पाण्डेले बोट ल्याएका थिए ।

भारतका कतिपय क्षेत्रमा उच्च तपक्रममा समेत स्याउ फलाउने गरिएको छ। सोही जातको बोट भएमा यसको उत्पादन हुने विश्वास गरिएको छ। पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन् । स्याउको बोटमा कुनै प्रकृतिको किटनाशक विषादी राखिएको छैन । सामान्य मल र पानीमात्रै राखिएको छ । किराको आक्रमण समेत अहिलेसम्म देखिएको छैन । कृषि विज्ञहरु भने तराईमा फल्ने स्याउको स्वाद नहुने दाबि गर्छन । तर यसको परीक्षण नै भने अहिलेसम्म भएको छैन । निकट भविश्यमा अझ बढि भन्दा बढि विस्तार गर्ने योजना बनाइएको सञ्चालक पाण्डेको भनाई रहेको छ । -कृष्ण खनाल/कृषि पत्रिका