ताजा अपडेट »

यार्सागुम्बा सङ्कलनको चटारो

मंगलबार, ०७ जेठ २०७६

जेठ ७,

लमजुङ । हिमाली जिल्ला मनाङका लेकमा धमाधम यार्सा सङ्कलन भइरहेको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न स्थानीय तथा बाहिरी जिल्लाका नागरिक मनाङका लेकमा पुगेका छन् । नार र फूमाबाहेक अन्य लेकमा यार्सागुम्बा टिप्न खुला गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पुर्जी दिनेगर्छ । नार र ताचै बगरछापको सीमा नम्ग्या खर्कमा सुरुमा यार्सागुम्बा टिप्न खुला गरिन्छ । नम्ग्याखर्क व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष याद घलेका अनुसार वैशाख १६ गतेबाट नम्ग्याखर्कमा यार्सा टिप्न खुला गरिएको छ

उहाँका अनुसार गत वर्ष सङ्कलन अवधिभर करिब दुई सय जनाले यार्सागुम्बा टिपेका थिए । यस वर्ष बढी हिमपात भएकाले बढी यार्सा पाउने आशले धेरैले पुर्जी लिएका छन्, उहाँले बताउनुभयो ।
यार्सागुम्बा खोज्न धादिङ, गोरखा, लमजुङलगायत जिल्लाबाट सङ्कलकहरू आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङका करिब २२ वटा लेकमा यार्सागुम्बा पाइने अनुमान गरिएको छ । नार र फूबाहेकका सबै लेकहरूमा यार्सागुम्बा टिप्न खुला गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार लेकअनुसार पुर्जी मूल्य फरक–फरक छ । साबिकको गाविसस्थित संरक्षण समितिले यार्सागुम्बा सङ्कलनको जिम्मा लिएको उहाँले बताउनुभयो । पुर्जीबाहेक व्यापारीलाई छोडपुर्जीबापत एक किलो बराबर १० हजार रुपियाँ रोयल्टी समितिले लिन्छ । स्थानीय तहले निकासी करबापत प्रतिकिलो १० हजार रुपियाँ लिन्छ ।

व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपियाँ राजस्व बुझाउनुपर्छ । मनाङमा गत वर्ष १२९ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको एक्यापले जनाएको छ । फागुनसम्मै हिमपात भइरहेकाले यस वर्ष यार्सागुम्बा बढ्न सक्ने अनुमान गरिएको छ । व्यवसायीका अनुसार एक किलोको ११ लाखदेखि १६ लाख रुपियाँसम्म बिक्री हुन्छ । यार्सागुम्बा टिप्न कडाइ गर्न थालिएको छ । गुण्डागर्दी, चोरीडकैती, लुटपाट, अमर्यादित गतिविधिलगायत क्रियाकलाप रोक्न यार्सागुम्बा टिप्न जानेको नागरिकताको फोटोकपि राखेर परिचयपत्र दिने गरिएको छ । नारको लेकमा २०६६ जेठमा सात जना गोर्खालीको हत्या भएपछि यार्सागुम्बा सङ्कलनमा कडाइ गरिएको हो । स्थानीय तह, प्रशासन, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिले बैठक राखेर यार्सागुम्बा सङ्कलन स्थलमा सुरक्षा व्यवस्था कडाइ पारेको छ । मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार यार्सागुम्बा सङ्कलन गर्ने समयमा घटना, दुर्घटना हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ । -बेलिना थापा/गोरखापत्र