ताजा अपडेट »

एकल प्रयासमा १० करोडको फनपार्क

आइतबार, ०५ जेठ २०७६


गाउँमै आधुनिक फनपार्क बनाउँदै चौधरी

वैशाख ५,
एन.बी.कंडेल/ग्लोबल आवाज
स्थानीयको एकल प्रयास र लगानीमा रुपन्देहीको मोतीपुरमा आधुनिक वाटर पार्क बन्दैछ । बुटवल उपमहानगरपालिका वार्ड नं.१९,भुड्कैंयामा उक्त पार्क निर्माण हुँदैछ । सोही स्थानमा घर भएका ४६ वर्षिय छविलाल चौधरीको निजी लगानीमा करिब १० करोड लागतमा ‘बुटवल फनपार्क बन्दै गरेको हो । एक वर्ष अघिबाट निर्माण सुरु गरिएको सो फन पार्कको ६० प्रतिशत निर्माण भइसकेको सञ्चालक चौधरीले बताए ।


फनपार्कका लगानीकर्ता छविलाल चौधरी 

गत वर्षबाट निर्माण सुरु गरिएको हो । एक वर्षमा ६० प्रतिशत काम सकिएको छ । आगामी साउनदेखि सुचारु गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ । एक विघा क्षेत्रफलमा बन्ने यस पार्कमा वाटर पार्क,स्लाइडिङ,होटल,पार्टी प्यालेस,रेष्टुरेण्ट,चिल्ड्रेन पार्क लगाएतका सुविधा रहने छन् । उनले भने । पछिल्लो समय रुपन्देहीमा पर्यटन र मनोरञ्जनका लागि धेरै होटल,पार्क,रेष्टुरेण्टहरु स्थापना भएपनि ग्रामिण क्षेत्रमा त्यस्ता सुविधा नभएको र ग्रामिण क्षेत्रका वासिन्दाहरुमा पनि अत्याधुनिक स्विमिङ पुल र पार्कको पहुँचका लागि आफ्नै क्षेत्रमा सो पार्क स्थापना गरेको चौधरीले बताए । उनले भने 'ग्रामिण क्षेत्रमा पनि विकास र व्यस्तता बढ्दै गएको छ ।


फुर्सदको समयमा र विशेष अवसरमा रमाइलो गरौं वा शरिरलाई आराम गराउँदै मनोरञ्जन र आनन्द लिने मन र धन भएपनि उपलब्धता र पहुँच नहुनुका कारण टाढा जान नसक्ने स्थानीयलाई लक्षित गरेर पार्क निर्माण गरिएको हो । यसबाट स्थानीय मात्र नभई बुटवल,तिलोत्तमा,सिद्धार्थनगर,शुुद्धोधन,सैनामैना,ओमसतिया,मायादेवी गाउँपालिका लगाएत समग्र रुपन्देही र छिमेकी जिल्लाहरुबाट आउने चाहनेका लागि सहज हुनेछ ।'


निर्माणधिन वाटर पार्कको नमुना तस्वीर

बेलबास बेथरी सडकखण्डमा पर्ने यस फनपार्कमा बुटवल मिलनचोक,बुद्धनगर, नहरपुर हुँदै,यागीकुटीबाट मगरघाट हुँदै,लुम्बिनीदेखि अमुवा हुँदै र महेन्द्र राजमार्गको बेलबास नहरपुर हुँदै चारैतर्फबाट पुग्न सकिन्छ । पार्कमा विवाह पार्टीका लागि ३ सय जनाको क्षमता रहेको एसि हल,करिब १०० जना क्षमताको रेष्टुरेण्ट र सुरुवातमा १० कोठा सहितको होटल निर्माण हुँदैछ । त्यसैगरी बालबालिकाको लागि विभिन्न खेलकूदका सामग्री सहित छुट्टै पार्क रहनेछ ।

गत वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यका साथ निर्माण सुरु गरेपनि अधिकांश निर्माण सामग्री विदेशबाट ल्याउनु पर्ने हुँदा समय लम्बिएको उनले बताए । आफ्नो केही जमिन बिक्री गरेर आफ्नै जग्गामा पार्क निर्माण गर्न लागेका चौधरीले थप तथा नपुग लगानीको लागि बैंकमा प्रक्रियारत रहेको बताए । प्रतक्ष्य/अप्रतक्ष्य रुपमा करिब ५० जनालाई रोगजार बनाउने उद्देश्यका साथ पनि निर्माण गरिएको रिसोर्टमा स्थानीय जनशक्ति र स्रोतलाई प्राथमिकता दिने सञ्चालक चौधरीले बताए । फनपार्कमार्फत थारु संस्कृति र परिकार सहित स्थानीय पहिचानलाई प्रवद्र्धन गर्ने उनको लक्ष्य रहेको छ ।