काठमाडौँ। राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको हो ।
आजको खेलमा पनि एपीएफका लागि भण्डारी एक्लैले आठ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरे । जारी लिगमा एपीएफ क्लब हालसम्म अपराजित रहेको छ । एपीएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ । सात खेलमा सबैमा हार बेहोर्दै चौदण्डीगढी अङ्कविहीन अवस्थामा छ ।एपीएफका लागि भण्डारीले खेलको चौथो मिनेटमै गोल गरेको थियो । उनले खेलको १८औँ र ३६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।
भण्डारीले खेलको ४३औँ, ५३औँ, ५६औँ, ७२औँ र ८७औँ मिनेटमा गोल गरे । यस्तै एपीएफका लागि अनिता केसीले खेलको २४औँ तथा ४०औँ, कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी समय र ६४औँ मिनेटमा गोल गरे । यस्तै अनु लामाले ७६औँ तथा रविना गोलेले खेलको ७९औँ मिनेटमा गोल गरे । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ । वालिङ लिगको तेस्रो स्थानमा छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अंकका साथ लिगको पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया