ताजा अपडेट »

सुरु भयो लुम्बिनी भ्रमण वर्ष,अब शान्ति र समृद्धि : प्रधानमन्त्री

शनिबार, ०४ जेठ २०७६

बुद्धभूमि
बुटवल । लुम्बिनी भ्रमण वर्ष–२०७६ शनिबारदेखि विधिवत रुपमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को भव्य समारोहका बीच शुभारम्भ भएको घोषणा गरेकी हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले तिलौराकोट,लुम्बिनी र रामग्रामलाई समेटेर ग्रेटर लुम्बिनीको रुपमा विकास गर्नुपर्ने बताउँदै अब मुलुकमा हत्या हिंसाको अन्त्य भई शान्ति र समृद्धि स्थापना हुने बताए ।

सरकारले लुम्बिनीलाई अत्यत्नै महत्वका साथ अगाडी बढाउने बताउँदै उनले हालै आफू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदा अन्तराष्ट्रिय वैशाख डे को रुपमा मनाउन प्रस्ताव गरेको जानकारी गराए । उनले पवित्र स्थल लुम्बिनीलाई स्वच्छ,हराभरा राख्दै ज्ञानभूमिको रुपमा प्रचार गर्नुपर्ने बताए । उनले तिलौराकोट उत्खनन्बाट भेटिएका प्राचिन बस्तुले विश्वलाई पुनः सोँचनिय बनाउने बताउँदै कपिलबस्तुलाई फरक ढङ्गले विकास गर्नुपर्ने बताए ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी गुरुयोजना समयमा नसकिएको प्रति गुनासो गर्दै लुम्बिनी र यहाँको पर्यटन बारे देशमै व्यापकता नपाएको बताए । प्रदेश ५ मा पर्यटनको अथाह सम्भावना रहेपनि काम ढिलो गतिमा भएको हुँदा यहाँका महत्वपूर्ण स्थलहरु ओझेलमा परेको बताए । उनले यस क्षेत्रका प्राचिन,ऐतिहासिक,सांस्कृतिक क्षेत्रको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै पूर्वपश्चिम रेलसँगै इतिहास र संस्कृतिलाई पनि जोड्नुपर्ने बताए ।