वैशाख ३,
स्याङ्जा । पछिल्लो समय स्याङ्जामा विदेशिएका युवा स्वदेश फर्केर बाख्रापालनमा लागेका छन् । सात वर्षसम्म दुबईमा काम गरेर फर्कनुभएका भीरकोट नगरपालिका ३ रानीडाँडाका केशरजङ्ग अधिकारीले लेकाली बाख्रा फार्ममार्फत व्यावसायिक बाख्रापालन गर्नुभएको हो । दुबईमा रहँदा दुबो खुवाएर बाख्रा पालेको देखेपछि उहाँले नेपालमै आएर बाख्रापालन गर्ने सोच बनाएको बताउनुभयो ।
अहिले उहाँको व्यवसायको अनुशरण गर्नेको सङ्ख्या बढिरहेको अधिकारी बताउनुहुन्छ । गाउँमै २८ रोपनी जग्गा किनेर बाख्रापालन थाल्नुभएका अधिकारीको फार्ममा अहिले ५८ बाख्रा रहेका छन् । उहाँले करिब १२ लाख रुपियाँ लगानी गरेर खरी जातका १८ बाख्रा खरिद गरेर व्यवसाय सुरु गर्नुभएको थियो । अहिले उहाँको लगानी करिब २२ लाख पुगेको बताउनुभयो । यो व्यवसायमा धेरै मिहिनेत नगरिकनै वार्षिक चार लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।
बाख्रापालनसँगै उहाँले पाँच रोपनी जमिनमा नेपियर, भटमासे, मण्डेलाजातका घाँसखेती गर्नुभएको छ । गण्डकी प्रदेश सरकारबाट साढे दुई लाख रुपियाँ अनुदानसमेत प्राप्त गर्नुभएका अधिकारीले जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर अनुदानमा प्राप्त गर्नुभएको छ । त्यस्तै भारतमा कम्प्युटर इन्जिनियर अध्ययन गर्नुभएका कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले पनि बाख्रापालन व्यवसाय अँगाल्नुभएको छ । चार वर्ष भारतमा राम्रो जागिर गर्नुभएका न्यौपानेले अरूको अधीनमा बसेर काम गर्न मन नपरेपछि नेपालमै फर्किएको बताउनुभयो । - अर्जुन काफ्ले /गोरखापत्र अनलाइन
प्रतिक्रिया