भैरहवा । जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष जितेन्द्रनाथ शुक्ल (बक्लु)ले मर्चवारमा जनमत पार्टी मात्र जनताको विश्वासमा खरो उत्रिने दावी गरेका छन् । अहिले सम्म मर्चवारमा बिकासको नाममा भोटको मात्र राजनिति भएको दावी गर्दै उनले आफुले वास्तविक विकास गरेको बताए ।
सिके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मर्चवारमा आयोजना गरेको आमसभामा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष समेत रहेका शुक्लले आफु सत्तामा रहे पनि नरहे पनि जनताको सेवामा सधै अगाडी रहने बताए । “मर्चवारको बिकासको नाममा यहाका सिधा जनता धेरै ठगियौ, अब जनताको हित सोच्ने जनमत पार्टीले नै हाम्रो उद्दार गर्छ ।” शुक्लले भने “छिमेकी गाउँपालिकामा भै रहेको चरम भ्रष्टाचारका कारण मैले आफ्नो गाउँपालिकामा मात्र नभई छिमेकी गाउँपालिकामा पनि बिकास निर्माण र सामाजिक काममा सहयोग गरेको छु ।”
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले अहिले ओली सरकार निरंकुश भएकोले राजा जस्तै यो पनि फाल्ने दावी गरे । ओली सरकार भ्रष्टाचारमा डुबेको कारण जनताको समस्या नबुझेको उनको जिकिर थियो । “ ओली सरकारले आफै पनि किसानका समस्या हल गर्न सक्दैन, सीमा क्षेत्रमा रहेका किसानले सामान्य मल ल्याउदा पनि प्रहरी लगाएर किसानको मल लुट्ने गरेको छ ।” उनले आरोप लगाए ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल, स्थानिय अगुवा जगन्नाथ कुर्मि, आनन्द प्रसाद गुप्ता, सहाबुद्दिन देवान लगायत जनमत पार्टीमा प्रवेश गरे पछि अहिले त्यस क्षेत्रमा जनमत पार्टी बलियो देखिएको छ । सुरु देखी नै मर्चवार क्षेत्रलाई आधार बनाएर जनमत पार्टीे आफ्नो कार्यक्रमहरु केन्द्रित राखेको थियो ।
आइतबार असुरैनामा सम्पन्न भएको आमसभालाई त्यस क्षेत्रमा जनमत पार्टीको शक्ति प्रदर्शनको रुपमा पनि लिईएको छ । सम्मरीमाई गाउँपालिका मात्र नभई सम्पूर्ण मर्चवार क्षेत्रबाट नै हजारौ जनताहरु स्वतःस्फूर्त रुपमा आएको आयोजकको भनाई छ । सोमबार नै जनमत पार्टीका सम्मरीमाई गाउँपालिकाको अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले काशीराम यादवको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा दुर्गावती केवट, सचिव जतई धवल, सह–सचिव राजेन्द्र प्रसाद लोध, कोषाध्यक्ष कमलावती अहिर रहेका छन्।
प्रतिक्रिया