ताजा अपडेट »

सडक छेउमा पकौडा बेचेर मासिक ६० हजार आम्दानी

विहीबार, ०२ जेठ २०७६


रु २० रुपैंयामा एक पिलेट (१२ पिस) स्वादिलो पकौडा

वैशाख २,
एन.बी.कंडेल /ग्लोबल आवाज

थोरै लगानी र सामान्य सीप र दैनिक छोटो समय खर्चिएर पनि स्वदेश मै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ,४३ वर्षिय राज कुमार चौधरी । विगत १० वर्षदेखि तिलोत्तमा–१५का सडक छेउ–छाउमा सानो ठेला राखेर पकौंडा बेच्दै आएका उनी महिनाको ६० हजार कमाउँछन् । एउटा ठेला,एक सेट ग्यास,एउटा पानीको ड्रम,एउटा ठूलो बाटा,एउटा कराई,अर्को एउटा ठूलो प्लेट,केही साना प्लेटहरु,दुई ओटा जग मुस्किलले पनि करिब ५० हजार उनको सुरुवाती लगानी होला । तर, उनी न्यूनतम महिनामा ५० हजार कमाउँछन् , त्यो पनि आरामले । यसको लागि उनले जटिल मिहिनेत जोखिमूर्ण चुनौती र अरुमा भर पर्न पर्दैन । उनले बेच्दै आएको आलुको पकौडा स्वादिलो मानेर नियमित खाने ग्राहक नै सयौं छन् ।

मात्र रु २० मा १२ पिस सहितको एक प्लेट पकौडाले धेरैको चित्त बुझ्दैन । प्रायले पुनः थपेर अर्को प्लेट लिने गरेको उनी बताउँछन् । त्यतिमात्र होइन । धेरैले आफ्नो घरपनि लाने गरेका छन् । उनको ठेलामा पकौडाको सामग्री बाहेक उमालेका अण्डा पनि पाइन्छ । अण्डा र पकौडा खानेको संख्या पनि त्यति नै रहेछ । अण्डा र पकौडा मिलाएको प्रति प्लेट रु.५० पर्दछ । तराइका स्थायी बासिन्दा चौधरीले व्यापार गर्न लागेको २ दशक भन्दा बढी भयो । पहिला उनले केही समय मजदुरी , जागिर गरे । पछि केही वर्ष फलफुल,सागसब्जीको व्यापार गरे । त्यति मात्र नभई मदिरा व्यापार पनि गरे । किराना पसल पनि सञ्चालन गरे । तर,विगत १० वर्षदेखि ठेलामा पकौडाको व्यापार गर्दै आएका छन् । साथै ठूटि पिपलमा उनको किराना पसल पनि छ ।

सामान्तया सजिलै पाइने आलु, टमाटरको चट्नी , मर–मसलाको प्रयोगबाट उनले बनाउने पकौडा स्वादिलो हुनाले नै उनको पकौडा चर्चित छ । त्यसैगरी उनले पकौडा पकाएर राख्दैनन् र पकाएका लामो समयसम्म रहँदैन पनि । स्थानीय स्तरमा मात्र नभई चौधरीले बनाएका पकौडा टाढा–टाढासम्म पनि चर्चित छन् । मधवलिया,ठूटि पिपल क्षेत्रका मात्र नभई बुटवल,मणिग्राम भलवारी र भैरहवाका ग्राहकहरु पनि नियमित आउने गरेको उनी बताउँछन् । उनले भने ‘एक पटक खाएका प्रायः आउनुहुन्छ । बुटवलदेखि भैरहवा बीचका केही ग्राहक नियमित आउनुहुन्छ । तपाइँहरु पनि धेरै पटक आउनु भयो नि ! ’ उनको ठेला व्यवसाय मात्र होइन पकौडाले उनको परिवार पनि फस्टाएको छ ।

विद्यालय स्तर मात्र अध्ययन गरेका उनका एक छोरा लुम्बिनी इञ्जिनियरिङ कलेजमा इञ्जिनियरिङ अध्ययन गर्दैछन् । अर्का छोरा र तीन छोरी स्थानीय बोर्डिङ स्कूलमा पढ्छन् । ‘यस्तो महङ्गाई छ छोराछोरीलाई पढाउन धेरै नै आम्दानी चाहिन्छ ।’ उनले भने । अनि पकौडा त सस्तैमा बेच्नुहुन्छ त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्‘ केही त सस्तो हुन प¥यो । सबै महङ्गो हुन भएन नि ! फेरी धेरै नाफा खाएर थोरै बेच्न भन्दा थोरै नाफा खाएर धेरै बेच्नु राम्रो हो ।’

हफ्ताको दुुई दिन मंगलबार र शुक्रबार बजार लाग्ने सो क्षेत्रमा ति दिन उनको पकौडा निकै खपत हुुन्छ । बजारको दिन २५ किलोदेखि ३० किलो आलुको पकौडा खपत हुने उनी बताउँछन् । त्यस्तै अन्य दिन १० किलोदेखि १५ किलो आलुुको पकौडा खपत हुने उनी बताउँछन् । उनले संख्यामा दैनिक कति प्लेट बिक्री गर्छन् र कमाउँछन् भन्ने छुट्टै लेखा–जोखा गरेका छैनन् । तर,औषतमा उनको दैनिक मुनाफा कम्तिमा २ हजारदेखि बढीमा ३ हजार हुने गरेको उनी बताउँछन् ।

उनको पारिवारिक पृष्ठभूमि पनि रोचक र उदाहरणिय छ । ओमसतिया–३,केरवानी स्थित उनको पु¥ख्र्यौली घर छ । सोही स्थानमा उनीहरुको ५ बिघा क्षेत्रफलमा जमिन छ । सो जमिनमा सबै भाईले संयुक्त खेती गर्दै आएका छन् । ५ भाई मध्येका जेठा छोरा उनी लगाएत माइला र साइला भाई पनि आफ्नो व्यपार÷व्यवसायमा जमेका छन् भने कान्छो भाई कलेज पढ्दैछन् । माइलो भाई कतार गएर फर्केपछि आफ्नै होटल सञ्चालन गरेको र साइलो भाइले मोटरसाइकल,ट्याक्टर,पप्मसेट मर्मत वर्कशप सञ्चालन गरेको उनले बताए ।

५ भाई उनीहरु र उनीहरुका पनि छोराछोरी ठूला भएपनि औपचारिक रुपमा उनीहरु छुट्टिएका छैनन् । बाबु–आमा सहित २८ जनाको उनीहरुको परिवार संयुक्त रुपमा एउटै घरमा जम्मा हुने,पर्व मनाउने र सँगै खाने गर्छन् । तर,सबै जनाले आ–आफ्नो व्यापार व्यवसाय र सोही क्रमममा छुट्टै बसेका छन् । उनका कान्छा भाइको पढाइमा उनको विशेष सहयोग छ । उनकी श्रीमतीले किराना पसल हेर्छिन् । विदाको समय छोरा र भाइको पनि उनलाई सहयोग छ ।

दिउँसोदेखि साँझसम्म चल्ने उनको पकौडा व्यवसाय उनको परिवारको जीविकोपार्जनका लागि मात्र होइन । भाई ÷छोरा–छोरीको अध्ययन र केही सम्पत्ति जोड्नका लागि मुख्य र दरिलो आधार बनेको छ । स्वदेशमै दैनिक ६ देखि ८ घण्टा मिहिनेत गरेर मासिक ६० हजार आम्दानी गर्न सकिने यस्ता स्वदेशी व्यवसायको विकल्पमा दुुबई,कतार,साउदी जानेहरुका लागि मात्र होइन स्वदेशमा अवसर नै छैन,ठूलो लगानीबिना व्यवसाय गर्न सकिदैन भन्ने लाखौं युवाहरुको लागि राज कुमार चौधरी र उनको पकौडा वाला ठेला प्रेरणादायी बन्न सक्छ ।