ताजा अपडेट »

हड्तालबाट जनतालाई दुःख : प्रधानमन्त्री

विहीबार, २२ माघ २०७७

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् । अखिल नेपाल किसान सङ्गठनले आज आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भने “गरीबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो ।

एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।” अध्यक्ष दाहाल र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै भने , “एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।”

ओलीको भनाई थियो, “उहाँहरु आक्रमक ढङ्गले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईँहरु कानूनको पालना गर्नुहोस् । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।” किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उनको भनाइ छ ।

पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उनको भनाइ छ । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी किसान आन्दोलनको जगमा अडिएको बताउँदै पार्टी प्रतिबन्ध भएको अवस्थामा किसान महासङ्घ र विद्यार्थीबाट नै पार्टीका काम गरिएकोे स्मरण गरे । किसान आन्दोलन नै परिवर्तनको खम्बा रहेको भन्दै उनले यसले सामाजिक जागरण र परिवर्तनका लागि संवाहकका रुपमा काम गर्नुपर्ने भनाइ राखे । उनले जमीनको सदुपयोग गरी खाली ठाउँ हुन नदिने आग्रह गर्दै त्यसका लागि केही नभए मेवा, खुर्सानी र केरा रोप्न आग्रह गर्दै किसानले कृषिसँगै राजनीतिक जागरणलाई देशव्यापीरुपमा अगाडि बढाउनु पर्छ भने।