ताजा अपडेट »

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

बुधबार, ०१ जेठ २०७६

जेठ १,

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोक ब्याञ्जुले भन्नुभयो, “हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पु¥याउने उद्देश्यले अभिलेखका रुपमा तयार गरेका हौं ।” पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ । प्रमुख ब्याञ्जुले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्याण्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताउनुभयो । त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ । -रासस