जेठ १,
काठमाण्डौ । हजाईजहाजबाट यात्रा गरौँ टिकटको मूल्य महँगो, बसबाट यात्रा गरौँ टिकट लिनै झन्झट । आमसर्वसाधारणले भोग्दै आएको दैनिकी र सास्ती हो यो । तर, प्रविधिको विकासले यस्ता समस्या एकपछि अर्को समाधान हुँदै गएका छन् । अब बसको टिकट लिँदा भोग्नुपर्ने झन्झटबाट मुक्ति पाइने भएको छ । र, यसका लागि सुरु भएको छ, बससेवा डटकम ।
बससेवा डटकममार्फत वेबसाइट र मोबाइल एपमार्फत अनलाइन बस टिकट खरिद गर्न सकिने भएको छ । बससेवा वेबसाइट तथा एपमार्फत स्मार्टफोन प्रयोगकर्ताले मोबाइलबाटै आफूले जान चाहेको स्थानको बसको सिट छानेर टिकट काट्न सक्नेछन् ।
कसरी काट्ने टिकट
कम्पनीको विश्वास
पिआर खनाल
प्रमुख कार्यकारी अधिकृत, बससेवा डटकम
हामीले कुनै यात्रुलाई बस टिकट खरिद गर्न टिकट काउन्टरसम्म पुग्न नपरोस्, उसले अनलाइनबाट आफैँ वा साइबर, कम्युनिकेसन, ट्राभल्स, होटेलबाट टिकट खरिद गर्न सकोस् भन्ने उद्देश्यले यो सेवाको सुरुवात गरेका हौँ । हामीले यातायात क्षेत्रका लागि बनाएको यो प्रविधि यात्रु र व्यवसायी दुवैलाई निकै उपयोगी छ । यस क्षेत्रलाई प्रविधिमैत्री बनाउन सके यो स्वतः व्यवस्थित र मर्यादित हुन्छ । अहिले उहाँहरूको व्यवसायमा रहेको प्रतिस्पर्धा र यात्रुको मागका हिसाबले उहाँहरू अत्यन्त सकारात्मक हुनुहुन्छ ।
एसी, एलइडी, वाइफाई तथा बाथरुमसहितका बसहरू आएका छन् । यात्रुलाई उत्कृष्ट सेवा दिनुपर्छ भन्ने कुरामा उहाँहरूको सकारात्मक सोच छ । समय र बजारले घरबाटै टिकट काट्न सकिने प्रविधिकोे डिमान्ड गरेकोे छ । अहिले नै दैनिक करिब ६ सयवटा टिकट बससेवा डटकमबाट बुकिङ हुन्छ । त्यसकारण हामी अवश्य सफल हुन्छौँ ।
तथ्य
यातायात सेवालाई पछिल्लो प्रविधि प्रयोग गर्दै कसरी व्यवस्थित गर्न सकिन्छ
भन्ने सोचसहित चार वर्षअघि नै बससेवा डटकम खुलेको हो । यसले वेबसाइट र
मोबाइल एपमार्फत देशका ८५ वटा यातायात समिति तथा कम्पनीको टिकट
अनलाइनमार्फत खरिद गर्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ । जसअनुसार
देशभरका १ सय २० वटा रुटका बसमा टिकट काट्न सकिन्छ । हाल देशका ५० जिल्लाका
लागि छुट्ने बसमा अनलाइनमार्फत टिकट लिन मिल्ने व्यवस्था मिलाइएको छ ।
कसरी सञ्चालन हुन्छ ?
बससेवाले यातायात व्यवसायीको मोबाइल वा कम्प्युटरमा एप र सफ्टवेयर इन्स्टल
गरिदिन्छ । यातायात व्यवसायीले गाडीको सम्पूर्ण जानकारी अनलाइनमा राख्छन् ।
कति टिकट कटियो, कुन–कुन सिट बाँकी छन्, टिकटको मूल्य कति हो ? सबै
अनलाइनबाटै हेर्न पाइन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल
भन्छन्, ‘पहिला यातायात व्यवसायीले सिट बिक्री हुनेबित्तिकै कागजमा
कोर्थे । बससेवामा आबद्ध व्यवसायीले स्मार्ट प्रविधिमार्फत कति सिट खाली छ
जानकारी राख्छन् ।’
भुक्तानी कसरी गर्ने ?
टिकट खरिद गरिसकेपछि विभिन्न डिजिटल प्रविधिबाट भुक्तानी गर्न सकिन्छ । इ–सेवा, आइएमई पे, इ–प्रभु, इ–नेटपे, आइ–पे, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एससिटी कार्डमार्फत भुक्तानी गर्न सकिन्छ । माथि उल्लेख भएअनुसारका सेवा नलिएका ग्राहकले चोक–चोकमा रहेका साइबर, कम्युनिकेसन पसल तथा होटेल र ट्राभल एजेन्सीमार्फत पनि बसको टिकट काट्न सक्छन् । -सुदीपकुमार ढुंगाना
प्रतिक्रिया