ताजा अपडेट »

कम्बोडियालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, ०१ जेठ २०७६

जेठ १,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहन जस्ता प्रावधान रहेको बताएका छन् । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले पूर्वाधार लगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सार्वजनिक-निजी साझेदारी र लगानी ऐन लागू गरिएको बताउँदै नेपालमा लगानीकर्तालाई सहजताका लागि सरल र सहज विधि एवं प्रक्रिया रहेको तथा भारत र चीन जस्ता ठूला बजार यससँग जोडिएको जानकारी दिए ।नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय संगठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालको जुनसुकै क्षेत्र पनि लगानीका लागि निश्चित प्रतिफल पाइने क्षेत्र हो । कृषि, खनिज स्रोत, जडीबुटी, पर्यटन उद्योग र वित्तीय बजार जस्ता क्षेत्रमा लगानीका लागि अवसरहरु छन् ।’नेपालले हालै लगानी सम्मेलन गरेको र त्यसमा ४० राष्ट्रका प्रतिनिधि सहभागी भई ठूला १८ परियोजनामा वित्तीय लगानी गर्न प्रतिबद्धता आएको जानकारी उनले दिए ।

उनले बौद्धमार्गी भएको नाताले कम्बोडियालीले शाक्यमुनि गौतमबुद्धको जन्मस्थल र बौद्धदर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्ने औँल्याउँदै सोही स्थलमा अन्तर्रा्ष्ट्रिय वैशाख दिवस मनाउन सम्बन्धित निकायहरुमा परामर्श गरिने जानकारी दिए ।उनले भने, ‘म प्रधानमन्त्री सामदेक हुन सेनलाई हाम्रो प्रयासमा सहयोग गर्न र आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न आग्रह गर्दछु ।’ नेपालले कम्बोडियाको तीव्र आर्थिक विकास र समृद्धितिरको निरन्तर यात्राबाट धेरै कुरा सिक्न सकिने विश्वास पनि उनले विश्वास व्यक्त गरे ।

कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह

सोही कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विदेशमा लगानी गरिरहेका कम्बोडियाका उद्योगपति र व्यवसायी समूहहरुलाई नेपाललाई प्राथमिकता दिन आग्रह गरे ।उनले कम्बोडियामा लगानीका लागि नेपाली लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गरिने विश्वास दिलाउँदै कम्बोडियालीहरुलाई नेपाल, विशेषगरी लुम्बिनीमा भ्रमण गर्न अनुरोध गरे ।