भैरहवा । लुम्बिनी बौद्धमार्गी र विश्वका शान्तिप्रेमी समुदायको स्वर्ग मात्र नभई चराहरुको पनि स्वर्ग समान रहेको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैँचा र विशेषगरी चराहरुको आकर्षणका लागि बनाइएका नहर र पोखरी आदिले गर्दा लुम्बिनी चराहरुको स्वर्गको रुपमा रहेको छ ।
लुम्बिनीमा २ सय ९० प्रजातीका चराहरु रहेका छन् । कतिपय चराहरु रैथाने छन् भने कतिपय चराहरु बसाइसराइ गरेर आउने गर्दछन् । विशेषगरी जाडो याममा अत्याधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चराहरु लुम्बिनीको न्यायो घाम जलचर गर्न आउने गर्दछन् । आगन्तुक चराहरुमा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि अनेकन प्रजातीका चराहरु लुम्बिनी क्षेत्रमा आउने गर्दछन् । हजारौं माइल टाढाबाट बिना भिसा र पासपोर्टमा सयौं आकाशलाई पार गर्दै पर्यटकीयहरु लुम्बिनी आउँदा लुम्बिनीको वातावरण सुनमा सुगन्ध छरेजस्तो हुन्छ ।
लुम्बिनीमा आउने पर्यटकहरुलाई यहाँको चराहरुको समेत अवलोकन गराउन सकियो भने समस्याको रुपमा रहेको पर्यटक बसाई अवधि लम्ब्याउन सकिने अगुवाहरु बताउँछन् । लुम्बिनी प्रचार–प्रसारमा लागेका अभियन्ता चेतन पन्तले अहिले लुम्बिनी बिकास कोषले चराहरुको बासस्थान बढाउनका लागि गरेका पहल सराहनीय भएको बताए । लुम्बिनी आउने पर्यटकलाई यस क्षेत्रमा रहेको चराहरुको अवलोकन गराउन पाए लुम्बिनीमा पर्यटकको बसाईमा दुई मत नै नभएको उनको जिकिर रहेको छ । पछिल्लो समय लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोषले यस बारे बिभिन्न प्रयासहरु पनि थालेका छन् ।
गौतम बुद्धको प्रिय पंक्षीको रुपमा रहेको सारस चराको संरक्षणमा स्थानीय संरक्षणकर्मी साथै लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोषले चासो देखाएपछि यस क्षेत्रमा सारसको संख्या उल्लेख्य रुपमा बढ्दै गइरहेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर पंक्षीको रुपमा तोकेर यसको संरक्षणमा लागेको छ । यसका लागि स्थानीयहरुलाई सचेतीकरण गर्नेदेखी कालानमक प्रजातीको चामल उत्पादनमा जोड दिइएको नगर प्रमुख मनमोहन चौधरीले बताए । लुम्बिनी सारसहरुको प्रिय बासस्थान मात्र नभई प्रजनन्को लागि पनि उत्तम ठहरेको छ । आफूलाई सुरक्षित ठानेका सारसहरु अहिले लुम्बिनी वरिपरि ढुक्क भएर आफ्ना सन्तान वृद्धिमा लागेका छन् ।
गुरुयोजना अनुसार लुम्बिनीको २ सय ६५ एकड भूमिलाई सारस संरक्षणका लागि सिमसार क्षेत्र बनाइएको छ । जसलाई क्रेन फाउन्डेशन अमेरिकाको सहकार्यमा “लुम्बिनी सारस आरक्ष” स्थापना गरि सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । मंगलबार विश्व सिमसार दिवसको अवसर पारेर यस क्षेत्रमा रहेका जलाशयहरुलाई वातावरण संरक्षणमा लागेका ७ जना अगुवाहरुको नाममा नामाकरण समेत गरिएको छ । डाक्टर जर्ज अर्चिब्लाड सिमसार, डाक्टर हर्क गुरुङ्ग सिमसार, डाक्टर चन्द्रा गुरुङ्ग सिमसार, डाक्टर मिङ्गमा नोर्बु सिमसार, हरि शरण नेपाली “काजी” सिमसार, डाक्टर तिर्थमान मास्के सिमसार र डाक्टर घना गुरुङ्ग सिमसार नामाकरण गरिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका मात्र नभई मर्चवारसम्म पनि सारसहरुको प्रजनन् रोजाईमा पर्ने गरेको छ । लुम्बिनी वरिपरि अहिले २ सय ५० जोडी भन्दा बढी सारस रहेको सारस संरक्षणकर्मि अर्जुन कुर्मिको भनाई छ । बुद्ध र सारस बीचमा दया र करुणा जोडिए अनुसार बुद्धका काकाका छोरा देवदत्तले बाँणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको अनुमान गर्न सकिन्छ । लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चराहरुमा भुँडीफोड, गरुड, घोङ्गीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकंठ लगायत सयौं प्रकार रैथाने जातका चराहरु पाइन्छ ।
लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । यसै बिच लुम्बिनीमा पनि विश्व सिमसार दिवस मनाइएको छ । लुम्बिनी बिकास कोषले एक कार्यक्रमको आयोजना गरि “पानी, सिमसार र जिवन” भन्ने मूल नारासहित सिमसार संरक्षणमा जोड दिएको हो । लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षता, लुम्बिनी प्रदेशका बन, पर्यटन, उद्योग तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य फकरुद्धिन खाँन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य लगायतले पर्यावरण संरक्षणको बिषयमा बोलेका थिए ।
प्रतिक्रिया