वैशाख ३०,
सिमकोट । किसानले लगाएको तरकारीमा रोग लाग्न थाले पछि तरकारी बारीमै स्थानीय उपचार विधि सिकाउन थालिएको छ । केही समय अगाडी लगाएका आलु तथा प्याजमा रोग लाग्न थाले पछि प्रशिक्षणका क्रममा रहेका अगुवा किसानहरुलाई स्थलगत रुपमा लिएर रोग नियन्त्रणका लागि यो विधि प्रदान गरिएको हो ।
हुम्ला जिल्ला रासायनीक विषादी मुक्त जिल्ला भएको कारण तरकारी खेतीमा रोग किरा लागेमा स्थानीय उपचार विधि थाहा नभएको बेला उपयुक्त जानकारी प्राप्त भएर प्रयोगमा समेत आएकोले रोग नियन्त्रणमा सहयोग मिलेको खार्पुनाथ गाउँपालिका वडा नम्बर चारका अगुवा किसान हैतबिर हमालले बताउनु भयो । वर्षेनी रुपमा आलु काउली, बन्दा, प्याज, टमाटर, साग, भेन्टा लगाएतका तरकारी उत्पादन गरेर बिक्री वितरण गर्दै आउनु भएका उहाँले यतिखेर पनि आलुमा लागेको डढुवा र प्याजमा लागेको फेद कटुवा रोगलाई नियन्त्रण गर्न जैविक विषादी निर्माण गरेर छरेको बताउनु भयो । यसरी जैविक विषादी निर्माण गरेर दुबै तरकारीलाई रोगबाट बचाएको समेत उहाँले बताउनु भयो । गाउँ घरमा भएका वस्तुबाट पनि तरकारीमा लाग्ने रोगलाई नियन्त्रणको विधि सिकेर भोलि रोग किराबाट हुने क्षती कम गर्न नयाँ तरिकाको स्थलगत जानकारी भएको र घरमा आएर आफ्नै तरकारी बारीमा पनि प्रयोग गरेको अर्का किसान शेर बहादुर रावलले बताउनु भयो । रासायनीक विषादी प्रयोग गर्न नपाइएको अवस्था जैविक विषादी निर्माण र प्रयोग बारे जानकारी पाउदा किसानलाई ठुलो राहत मिलेको उहाँले बताउनु भयो ।
मौसमी तरकारी लगाएको बेला ती तरकारीमा लागेका रोगको स्थानीय प्रविधिबाट उपचार गरिने विधिका बारेमा सिमकोट गाउँपालिकाको वडा नम्बर दुईका ठेहे, चारको बुराउसे तथा खार्पुनाथ गाउँपालिकाको छिप्रा गाउँ गरी तीन वटा वडाका ४५ जना अगुवा किसानहरुलाई स्थलगत अभ्यास गरिएको कृषि प्राविधिक जंग बहादुर शाहीले बताउनु भयो । किसानहरुले तरकारी बारीमा लगाएका सबै खाले तरकारीमा विभिन्न खाले रोगहरु देखिने र त्यो रोग नियन्त्रणका लागि स्थानीय स्तरमा विषादी तयार गरी रोग नियन्त्रण गर्न सिकाईएको उहाँले बताउनु भयो । स्थलगत अभ्यासका क्रममा आलुमा लागेको डढुवाका लागि ड्याङ बनाएर पानीको निकास गर्ने तथा प्याजमा लागेको फेद कटुवाका लागि झर्रो, पिरो, टर्रो गन्ध आउने, रमरमाउने, सिस्नु मिसाएर बन्ने जैविक विषादीका परीक्षण समेत गरिएको उहाँले बताउनु भयो । आयआर्जनका क्षेत्रमा काम गर्दै आएको गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहजिकरणमा तरकारी खेतीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न स्थानीय विषादी निर्माण र प्रयोगको कार्य भएको हो ।
प्रतिक्रिया