वैशाख ३०,
ग्लोबल आवाज
पाल्पा । स्थानीय निकायकै मिलिमतोमा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा क्रेसर सञ्चालनमा आएका छन् । राष्ट्रिय गौरवको योजनाका नाममा अवैधरुपमा नदीमा हेवी इक्यूूपमेण्ट प्रयोग गरी गिट्टी बालुवा र ढुङ्गाको निकासी हुँदा समेत स्थानीय सरकारले वास्ता गरेको छैन । जिल्लामा विकासे परियोजनाका नाममा अवैध क्रसर उद्योग समेत सञ्चालनमा आउन थालेका छन् ।कालिगण्डकी करिडोर राष्ट्रिय गौरवको योजना हो । पिपलडाँडादेखि गैडाकोटसम्म १ सय ३० किलोमिटर सडकको स्तरोन्नतीको काम भैरहेको छ ।
४३ करोडमा योजना सम्पन्न गर्नेगरी इकेके कन्स्ट्रक्शन कम्पनीले जिम्मेवारी पाएको हो । यससँगै यस भेगको कालिगण्डकीमा ‘हेवी इक्यूूपमेण्ट’ प्रयोग गर्दै नदीजन्य पदार्थको अवैध उत्खनन् तथा निकासी बढेको हो । रम्भा गाउँपालिकाले वडा नम्बर–१ को हुँगीघाट ठेक्कामा लगाएपछि कालिगण्डकी करिडोरले नदीजन्य पदार्थ निकासी गरिरहेको छ । गिट्टी, बालुवा र ढुङ्गा ठेक्का पाएको ठेकेदारले करिडोर निर्माण कम्पनीलाई मोटो रकममा ठेक्का बेचेको स्थानीय नारायणप्रसाद भट्टराईले बताए ।
‘ठेकेदारले विकास निर्माण गर्ने ठेकेदारसँग सहमति गरि घाट दियो । अहिले ठूला डोजर प्रयोग गरेर नदीबाटै बालुवा, गिट्टी झिकिएको छ ।’ उनले भने स्थानीय सरकारको मिलिमतो देखिन्छ । अवैध क्रसर गाडेर काम गर्न थालेका छन् । यस्तै रामपुर नगरपालिकाको निस्दीखोलाघाटमा पनि नदीजन्य पदार्थ निकासी भैरहेको छ । स्काभेटर तथा डोजरले दिनहुँ नदीजन्य पदार्थ उत्खनन गरिरहेको स्थानीय रनबीर दर्लामीले बताए । उनले नगरपालिका क्षेत्रभित्र अवैध उत्खनन् तथा निकासी हुँदा नगरपालिकाले कारवाही गर्न नसकेको स्थानीयको आरोप छ ।
रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले नगरपालिकाले १५ दिनका लागि करिडोर निर्माण गर्न नदीजन्य पदार्थ निकासी स्वीकृति दिएको बताए । ‘कार्यपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्रिय योजना भएकोले करिडोरलाई प्रयोग गर्न दिननका लागि १५ दिनको लागि निकासी गर्न दिने निर्णय गरेका छौं ।’ भन्दै उनले नदीजन्य पदार्थको उत्खनन् गर्न हेवी इक्युपमेन्ट प्रयोग गर्न नपाईने र आफुहरुले प्रयोग गरेको पनि नदेखेको बताए । रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीका अनुसार २०१८ को डिसेन्बर ३ देखी तीन वर्षको ठेक्का सम्झौता भएको हो । अहिले सडक स्तरोन्नतिको कामलाई तिव्रता दिईएको छ । निर्माण कम्पनीका कन्सट्रक्सन म्यानेजर धर्मध्वज कुँवरले ठूलो काम भएकोले नदीका सामाग्री प्रयोग गर्नुपर्ने भएको बताए । नदीजन्य पदार्थ निकासी गर्न र क्रसर राख्न अनुमति छ भन्ने प्रश्नमा उनले भने, ‘अनुमति छ भनम् । ठूलो काम हो, धेरै क्वान्टिटी छ । मान्छेले गर्न नसकिने भएकोले हामीले डोजर प्रयोग गरेका छौं ।’ उनले थपे ठ्याक्क अनुमति त छैन भनम् । विकास निर्माणको लागि सहमति स्थानीय तहसँग भएको हो । इआइए भएको घाटहरुमा मापदण्ड अनुसार कति मापदण्ड निकाल्ने हो त्यही अनुसार गर्छौं, हामी जथाभावी गर्दैनौं, कुँवरले भने, हामीलाई चाहिनेमात्र निकाल्छौं बाहिर लगेका छैनौं ।
रिडीदेखि बाँकामलाङसम्मको १ सय १० किलोमिटर उक्त क्षेत्रमा विगतमा जिल्ला समन्वय समितिले ठेक्का लगाउने गरेको थियो । अहिले स्थानीय तहले ठेक्का लगाएका हुन् । तानसेन र रामपुर नगरपालिका, बगनासकाली, रम्भा गाउँपालिकाका विभिन्न स्थानमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेर नदीजन्य पदार्थ निकासीको ठेक्का लगाइएको छ । उनीहरूले मापदण्ड पूरा नगरी नदीजन्यपदार्थ निकाल्दा नदीको दोहन बढेको हो ।तानसेन नगरपालिकाले नदी दोहनका लागि गौरवको आयोजना भन्दै बाटो चौडा पारेको छ । रामपुर नगरपालिकाले १३ घाटको सूचना निकालेको थियो । बगनासकालीले यस वर्ष एउटा मात्र घाटमा ठेक्का लगाएको छ । रम्भाले पनि झन्डै ३० लाख रुपैयाँको ठेक्का लगाएको छ ।रामपुर नगरपालिकामा टेन्डर राख्दा विवाद भए पनि १३ मध्ये ६ घाटको नदीजन्य पदार्थ निकाल्न ठेक्का लागेको हो । रामपुर नगरपालिकाको निस्दीखोला र कालीगण्डकी किनारमा स्काभेटर लगाएर गिटी, बालुवा निकाल्दा स्थानीय युवाले शनिबारदेखि रोक लगाएका छन् ।
नगरपालिकाले आईईई गरे पनि टेन्डर नलागेका घाटमा कालीगण्डकी करिडोर आयोजनाका ठेकेदारले जथाभावी गिटी, बालुवा, ढुंगा निकालेको स्थानीय युवाको आरोप छ । उनीहरूले ठेक्का लगाएको घाटमा गिटी, बालुवा लिन नआउने र नगरपालिकासँग मिलेमतो गरी नजिकैका घाटबाट जथाभावी निकालेको बताएका छन् । प्राकृतिक विपत्ति निम्तिने गरी खोला थता नदी किनारमा गहिरो खाल्डो बनाएर टिप्परमा ढुंगा ओसार्दै गर्दा स्थानीयले रोकेका थिए । निस्दी खोला र नदीमा जथाभावी स्काभेटर लगाएको स्थानीयको आरोप छ । नगरपालिकाले ट्र्याक्टरको ४ सय र टिपरको १ सहजार ५ सय तिर्ने गरी अनुमति दिए पनि जथाभावी भएपछि नियन्त्रणका लागि स्थानीय आफैं जुटेका हुन् ।
ठूला आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा नदी र खोलाबाट गिट्टी, बालुवा र ढुंगा झिक्ने गरेको गुनासो स्थानीयको छ । रातमा समेत टिप्पर लगाएर नदीजन्य सामग्री निकालेका छन् । रम्भा गाउँपालिकाको हुँगीमा कालीगण्डकी नदीछेउमा क्रसर समेत राखेको छ । गेझा, भुजात, हुँगीलगायतका स्थानमा व्यवसायीले जथाभावी डोजर, स्काभेटर लगाएर नदीजन्य सामग्री निकालेको सूचना स्थानीयले गाउँरनगर सरकारका साथै जिल्ला समन्वय समितिमा समेत दिएका छन् ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले आईईई गरेका घाटमा नगरपालिकालाई राजस्व तिर्ने गरी निकाल्न अनुमति दिएको बताए । ‘हामीले स्काभेटर, डोजर लगाएर निकाल्न भनेका होइनौं,’ उनले भने, ‘मापदण्ड पूरा गरेर मात्र निकाल्न भनेका हौं ।’ उनले आईईई गरेर १३ वटा घाटका टेन्डर लगाएकामा ६ वटामा मात्र निकासी भएको बताए । बाँकीमा नगरपालिकाले तोकेको राजस्व तिरेर निकाल्नलाई राष्ट्रिय गौरवको आयोजना भएकाले दिएको उनले बताए । ‘निस्दी र भुजातमा निकाल्न दिएका हौं,’ उनले भने, ‘तर, स्काभेटर प्रयोग गरेर निकाल्न भनेको होइन, मापदण्ड अनुसार निकाल्नुपर्छ भनेका छौं ।’ रम्भा गाउँपालिका प्रमुख विष्णुप्रसाद भण्डारीले नदीमा स्काभेटर लगाएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेको बताए । ‘हामीले चारवटा घाटमा आईईई गरेर ठेक्का लगाएका छौं,’ उनले भने, ‘त्यसबाहेक अन्यत्र बदमासी भए तत्काल रोक्न भनेको हो ।’- भुवन रायमाझी/बुद्धभूमि
प्रतिक्रिया