ताजा अपडेट »

भैँसीपालनबाट सातलाख आम्दानी

शुक्रबार, १६ माघ २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका-६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएका छन् ।

उनी विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बनेका हुन् । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । उनले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिएका छन् । उनी पशुपालनबाट सन्तुष्ट छन् । उनी भन्नछन्, “गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब रु सात लाख बचत भयो । यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ”

उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उनी प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिए । परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उनले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुआत गरेका थिए । उनले भने “शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेका हौँ अहिले भने फममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी रहेका छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ” उनले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन् भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको जाकारी दिए ।

दाङमा प्रतिलिटर दूधको फुटकर मूल्य रु ८०

मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका-६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताए । उनले भने, “यस अघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो । अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” सोही फर्ममा मल किन्न गएकी तुलसीपुर-६ गोलौराकी ३८ वर्षीया पूर्णिमा बस्नेतले आफूले अर्गानिक तरकारी खेती गर्दै आएकाले भैँसीको मल लिन आएको जानकारी दिए ।

उनले भने, “एक ट्र्याक्टर मललाई रु तीन हजार ५०० पर्दोरहेछ खुशी लाग्यो अब लगेर हिउदे तरकारी खेती गर्छु ।” उनको फर्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका उनले बताए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको जानकारी दिए ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन” “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट भैँसीपालक किसान भनेर पुरस्कृत गर्यो, त्यसबाट थप हौसला मिलेको छ”, उनले भने । अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदको लागिसमेत मानिस आउने गरेका छन् ।

पढेलेखेका पैसा कमाउनकै लागि जागीर खानै पर्छ अथवा विदेश नै जानुपर्छ भन्ने छैन उनको सुझाव छ । उनी पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्छन् । यसको लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । उत्पादित सामग्रीलाई उचित बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ ।