ताजा अपडेट »

अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

विहीबार, १५ माघ २०७७

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका-७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन् ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि घटनास्थलमा आज बिहान ७ः५५ बजे पुगेका हुन् । मङ्गलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितका लागि तत्काल हेलिकप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ गएका हुन् । ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको उनले जानकारी दिए ।

कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि-फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए । आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ ।