वैशाख २७,
ग्लोबल आवाज
बुटवल । प्रधानमन्त्री के.पी.ओलीले घोषणा गरेको रेल यातायात सुरु हुने या नहुने अझै कुनै निश्चित छैन । तर,रोटरी क्लब अफ बुटवल, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (बनवाटिका) र तिलोत्तमा नगरपालिकाको संयुक्त प्रयासमा वनवाटिका बाल रेल भने आजदेखि संचालनमा आएको छ । बाल रेलको शुक्रवार एक कार्यक्रमका विच रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराई र तिलोत्तमा नगर पालिकाका मेयर वासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा गभर्नर भट्टराइले रोटरीले संचालन गर्ने सबै परियोजना समुदायको हितको लागि भएको बताउँदै समुदायले सञ्चालनको पनि जिम्मेवारी रहने बताए । बाल रेल सञ्चालनले मनोरञ्जन मात्र होइन वनवाटिकाकै वृहत्तर विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मेयर वासुदेव घिमिरेले तिलोत्तमामा पहिलो पटक रेल उद्घाटन गर्न पाउँदा निकै खुसी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
रोटरी चाइल्ड डेभलपमेण्ट सेन्टर क्षेत्रमा रेल संञ्चालन गरिएको छ । यसको स्पिड प्रतिघण्टा ७–८ किलोमिटर रहेको छ । करिब १ हजार फूट लम्वाइमा रेलको लिग बिच्छाइएको छ । भारतको अहमबादको मिटु एमयुसमेण्ट एण्ड इलेट्रिकल्स कम्पनीवाट खरिद गरिएको उक्त रेलको १ वर्ष ग्यारेण्टी रहेको छ भने १० वर्षसम्म कुनै समस्या नआउने दाबी गरिएको छ । क्लबका अध्यक्ष डा. नारायण प्रसाद पन्थले सञ्चालनको सम्पूर्ण जिम्मा वनवाटिका व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बताए । रेल सञ्चालनको लागी अहिलेसम्म ४५ लाख रुपैया खर्च भइसकेको बताए ।
वनवाटिकामा बाल रेल सञ्चालन भएपछि पर्यटकको संख्यामा वृद्धि हुने वनवाटिकाका अध्यक्ष बाबुराम अर्यालले बताउँदै रोटरी क्लब अफ बुटवललाई धन्यवाद दिए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षता , सचिव दया भण्डारीको सञ्चालन तथा प्रेसिडेण्ट काउन्सिलका अध्यक्ष रोटरिएन निर्मल लाकौलको स्वागतमा भएको उद्घाटन कार्यक्रममा रोटरियन, रोटयाक्टर, तिलोत्तमाबासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया