ताजा अपडेट »

भरतपुर महानगरमा उद्योग ग्राम निर्माण शुरु

मंगलबार, १३ माघ २०७७

चितवन । भरतपुर महानगरपालिका-२० भीमनगरमा प्रदेशस्तरको उद्योग ग्राम निर्माण शुरु गरिएको छ । तीन वर्षमा रु १९ करोड खर्च गरेर साना, लघु र मझौला उद्योग रहने गरी उद्योग ग्राम निर्माण थालिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले साना, लघु र मझौला उद्योग रहने गरी संरचना निर्माण गरिने जानकारी दिए । यहाँ छरिएर रहेका उद्योगलाई एकै ठाउँमा व्यवस्थित सञ्चालनका लागि उद्योग ग्राम उपयोगी हुने उनले जानकारी दिए । यस वर्ष पर्खालको काम गरिँदैछ । चार बिघा १० कठ्ठा जमीनमा साना उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण संरचना निर्माण गरिने उनले बताए ।

आगामी वर्षबाट संरचना निर्माणको काम थालिने छ । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माणपछि व्यवस्थापनको जिम्मेवारी महानगरपालिकालाई दिँदै छ । दाहालले भने, “हामी सबैको प्रयासका कारण महानगरपालिकामा यो परियोजना थालिएको हो ।” व्यवस्थित उद्योग ग्राम महानगरपालिकामा हुँदा उद्योगी लाभान्वित हुने उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख यादवनाथ आचार्यका अनुसार यस आवमा पर्खालको कामका लागि रु एक करोड आठ लाख ५५ हजारमा बलदेव विल्डर्सले बोलपत्र सकार गरेको हो ।

आचार्यले साना उद्योगका लागि प्रदेशमा नै व्यवस्थित उद्योग ग्राम यहाँ बन्न लागेको बताए । उनले भने, “हामीले तयारी गरेर महानगरलाई व्यवस्थापनका लागि हस्तान्तरण गर्ने छौँ ।” यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहाँ उद्योग ग्राम बनाउन चासो दिएका कारण कामले मूर्तरुप लिएको आचार्यको भनाइ छ ।

उद्योग ग्रामका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । जिल्लामा १३ हजारभन्दा बढी साना उद्योग दर्ता भएका छन् । छरिएर रहेका उद्योगलाई व्यवस्थित र एकै ठाउँमा सञ्चालन गर्न उद्योग ग्राम सहयोगी हुनेछ । उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल साना उद्योग यसबाट लाभान्वित हुने बताए । फर्निचर, वल्डिङ, मसला, ब्लक जस्ता उद्योगलाई विद्युत् आपूर्ति, प्रदूषणलगायत समस्याबाट मुक्ती पाउने उनको भनाइ छ ।

जिल्लाकै कालिका नगरपालिका-७ मा शक्तिखोर औद्योगिक क्षेत्र बन्दैछ । एक हजार ७४१ बिघामा औद्योगिक क्षेत्र बन्न लागेको हो । यता महानगरपालिकाको वडा नं २२ मा घरेलु तथा साना उद्योग प्रदर्शनी कक्ष निर्माण थालिएको छ।