वैशाख २६,
भेनेजुएला । भेनेजुएलामा विपक्षी नेता हुआँ गुआइदोका सहायक पक्राउ परेका छन् । राजधानी कराकासमा सेबिन नामक भेनेजुएलाको गुप्तचर दस्ताले गुआइदोका सहायक एजर जाम्ब्रानोलाई प्रहरीले पक्राउ गरेका हुन् ।राजधानी कराकासको ला फ्लोरिडा जिल्लामा स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४० मिनेको समयमा सेबिनका सैनिकले उनको कारलाई घेरा हालेको र उनले आफ्नो कारबाट बाहिर निस्कन नमानेपछि अर्को ठूलो ट्रकले उनी कार भित्रै रहेका बेला सेबिनको मुख्यालयतर्फ घिसार्न शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गुआइदोले पनि ट्विटरमार्फत् उनी पक्राउ परेको पुष्टि गरेका छन् । त्यसअघि त्यहाँको संसद्ले जाम्ब्रानो र अन्य ६ जना विपक्षी नेताहरुको पक्राउ गरी मुद्दा चलाउन सक्ने निर्णय गरेको थियो । विपक्षी नेताहरुले भने सर्वोच्च अदालतमा समाजवादी राष्ट्रपति निकोलस मादुरोका समर्थक मात्रै रहेकाले उनीहरुको फैसलालाई मान्दै नमान्ने घोषणा गर्दै आएका छन् । यता विपक्षी नेता गुआइदोलाई समर्थन गर्दै आएको अमेरिकाले जाम्ब्रानोको पक्राउलाई गैरकानूनी भन्दै यसबाट भेनेजुएलाले नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया