ताजा अपडेट »

समृद्धिका लागि कृषि अनुसन्धान

बुधबार, २५ बैशाख २०७६

वैशाख २५,
काठमाण्डौ । आर्थिक समृद्धिका लागि कृषि अनुसन्धानको महìवपूर्ण भूमिका रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गर्नका लागि अनुसन्धान महìवपूर्ण हुने भएकाले त्यसमा कृषि अनुसन्धान परिषद् (नार्क)ले आफ्ना नयाँनयाँ प्रविधि तथा अनुसन्धान राज्यलाई दिइरहेको दाबी गरेको छ ।

परिषद्ले विकास गरेका धान, मकै, गहुँ, जौका विभिन्न जात, सिर्जना गोँलभेडा, ट्राउट माछा, बोयर बाख्राको व्यवसायीकरण भइसकेको दाबी गरेको छ । नार्कअन्तर्गत बाली, बागवानी, पशु, मत्स्य र सामाजिक आर्थिक क्षेत्रका अनुसन्धान गर्न देशैभरि ६२ वटा कृषि अनुसन्धान केन्द्र रहेका छन् । नार्कका लागि चालू आर्थिक वर्षमा दुई अर्ब ३७ करोड ७८ लाख रुपियाँको बजेट विनियोजन गरिएको छ । जुन कृषि मन्त्रालयको कुल बजेटको ९.४३ प्रतिशत रहेको हो । नेपालमा कृषि अनुसन्धानको आरम्भ भएपछि विभिन्न ६७ बालीका ३२३ जात विकास गरिएका छन्, जसमध्ये परिषद् स्थापनापछि उन्मोचन गरिएका जातको सङ्ख्या २११ रहेको नार्कका कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले जानकारी दिनुभयो । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार विगत २७ वर्षमा धान एक प्रतिशत, मकै २६ प्रतिशत र गहुँ १९ प्रतिशत क्षेत्रफलमा वृद्धि भएको छ भने धानमा ४६ प्रतिशत, मकैमा ६५ प्रतिशत र गहुँमा ९६ प्रतिशतले उत्पादन वृद्धि भएको छ । त्यसमा नार्कले विकास गरी उन्मोचन वा सिफारिस गरेका जातको उल्लेखनीय योगदान रहेको निर्देशक गुरुङले दाबी गर्नुभयो । सुक्खा र डुबान दुवै सहन सक्ने खालका धान जातको विकास गरी उन्मोचन गरेको उल्लेख गर्दै गहुँको उत्पादकत्व वृद्धिका लागि सुक्खा सहन सक्ने र रोग प्रतिरोधी जातको विकाससमेत गरिएको छ ।

नार्कको २८औँ वार्षिकोत्सवको उपलक्ष्यमा मङ्गलबार आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा खाद्यान्न बालीतर्फ धानमा कालो चामल, एरिज आइडिया, श्रीराम खुस्बू, एलपीएनबीआर १६०५, र अल्ट्रा सुपर सिफारिस गरिएको जानकारी गराएको छ । धानको वर्णशङ्कर जातमा हर्दिनाथ हाइब्रिड धान–१, हर्दिनाथ हाइब्रिड धान–१० सिफारिसका लागि प्रस्ताव गरेको छ भने गहुँमा खैरो सिन्दूरे, डढुवा, कालो पोके, सेतो ढुसी रोग अवरोधी बीएल ४३४१ जात विकास गरी खेतीका लागि सिफारिस गरिएको नार्कका निर्देशक गुरुङले जानकारी दिनुभयो । बदाममा समृद्धि, मुङ्गमा प्रतीज्ञा, मासमा रामपुर मास र खजुरा मास १, मुसुरोमा खजुरा मुसुरो ४, तोरीमा नवलपुर तोरी–४ खेतीका लागि नार्कले सिफारिस गरेको छ । विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ सङ्कलन गरी भविष्यका लागि जिन बैङ्कमा संरक्षण गरिएको छ । साथै विभिन्न स्थानीय पशु लुलु तथा आछामी गाई, भैँसी, भेडा, बङ्गुर, कुखुरा र बाख्राको जमेको वीर्य जिन बैङ्कमा राखी संरक्षण एवं उपयोग गरिएको पशु स्वास्थ्यका वरिष्ठ वैज्ञानिक डा. सुनीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बोयर बाख्राको पाठापाठीको उत्पादन तथा वितरण सङ्ख्यामा निरन्तर वृद्धि भइरहे पनि बोयर बाख्राको सम्पूर्ण माग पूरा गर्न नसकिएको नार्कले जनाएको छ । ट्राउट माछाको प्रविधि विकास तथा विस्तारले गर्दा मध्य तथा उच्च पहाडी जिल्लामा निजी तथा सहकारीस्तरमा १२५ भन्दा बढि ट्राउट माछा फार्म स्थापना भएको छन् ।

आगामी आर्थिक वर्षको कार्यक्रममा मसिनो र बास्नादार धानका जात, मकैमा थप वर्णशङ्कर जात, बढी मासु दिने बाख्राका जातको विकास, माछाको उत्पादन र उत्पादकत्व वृद्धि, आलुका उन्नत जातको विस्तार र समुदायमार्फत गुणस्तरीय बीउ उत्पादन, उखु बालीको जातीय व्यवस्थापन प्रविधिको विकास र फलफूलका बेर्नाको उत्पादन तथा वितरणमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दे देशलाई आत्मनिर्भर बनाउने लक्ष्य नार्कले लिएको निर्देशक गुरुङले बताउनुभयो । नार्कमा अनुसन्धानका लागि जिल्लाबाट जग्गा माग्नेहरू दिनदिनै आइरहेका छन् तर नेपाली सेना र सशस्त्र प्रहरीले नियन्त्रणमा राखेका जग्गा अझैसम्म फिर्ता नदिएको गुनासो आर्थिक प्रशासनका प्रमुख रामबहादुर केसीले गर्नुभयो ।