भैरहवा । कोभिडको कारण करिब १ बर्ष देखी बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आउन सुरु भएको छ । सरकारले तोकेका सुरक्षाका मापदण्डहरु अपनाएर सिनेमा हल सञ्चालनमा ल्याईएको यसका सञ्चालकले जानकारी दिएका छन् । भैरहवामा रहेको काशी सिनेप्लेक्स बुधबारदेखी सञ्चालनमा आएको सञ्चालक ओम जैसीले जानकारी दिए ।
बुधबार पत्रकार सम्मेलनको आयोजन गरि करिब १ बर्ष देखी बन्द रहेको सिनेमा हल सञ्चालनमा ल्याइएको उनले बताए । लामो समय देखी हल बन्द हुदा यस संग सम्बन्धित कामदारको ज्याला मात्र नभई हल सञ्चालन गर्ने उपकरणहरु पनि खराब भएर धेरै नोक्सान ब्यहोर्नु परेको जैसीको भनाई छ । नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष समेत रहेका जैसीले विगत १० महिनादेखि बन्द रहेका सिनेमा हलले करौडौं घाटा व्यहोर्नुपरेको बताए । ‘हामीले पटकपटक डिमान्ड चार्ज र चलचित्र विकास शुल्क मिनाहा गर्न सरकारलाई आग्रह गर्दै आएका छौं, तर चलचित्र क्षेत्रलाई कुनै किसिमको राहत उपलब्ध गराइएको छैन्, ’उनले भने ।
मुलुक बिस्तारै कोभिड महामारी पछि सहज अवस्थामा फर्किन थालेकोले सिनेमा हल पनि सञ्चालन गर्न पाउनु पर्ने माग सहित हल सञ्चालकहरुले आन्दोलन थालेका थिए । उनिहरुको माग सुनुवाई गर्दै सरकारले माघको पहिलो साता देखी हल सञ्चालन गर्न दिएको अनुमति अनुसार नै सञ्चालनमा ल्याईएको जैसीको दावी छ । उनले सरकारले तोकेको मापदण्ड अनुसार सबै दर्शकलाई मास्क र सेनेटाईजर अनिवार्य गरिएको बताए । यस्तै हलमा बस्दा पनि एउटा सीट छोडेर मात्र दर्शकलाई बसाल्ने ब्यवस्था गरिएको छ । हाल कोरोनाको जोखिम कम रहेकोले र हलले सुरक्षाका प्रयाप्त मापदण्डहरु पालन गरेकोले दर्शकलाई निर्धक्क भएर मनोरन्जन लिन उनले अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य उद्ववराज भट्टराईले सिनेमाहल सञ्चालन संगै बिस्तारै चलचित्र जगत र यससंग जोडिएका क्षेत्र चलायमान हुने विश्वास ब्यक्त गरे । उनले कोभिडको मारमा धेरै चलचित्रकर्मीहरु परेकोले यस क्षेत्रमा सरकार बिशेष राहत प्याकेज प्रदान गर्नु पर्ने बताए । यस्तै सञ्चारकर्मी चेतन पन्तले मानव जिवनमा मनोरन्जन अपरिहार्य रहेको बताउदै सिनेमा हल यसको एउटा परिपुरक भएको बताए । उनले अहिले कोरोनाको त्रासबाट भुलाउन सिनेमाहल एक उपयुक्त माध्यम भएकोले यहा सम्म सबैलाई ढुक्क भएर आउन आग्रह गरे ।
हल सञ्चालनमा आएपछि दर्शकलाई यस तर्फ आकर्षित गर्न अहिले सबै टिकटको मूल्य समान १ सय २५ रुपैया कायम गरिएको काशी सिनेप्लेक्सका सञ्चालक ओम जैसीले जानकारी दिए । यो रकम भनेको हाल कायम रहेको मूल्यको आधा भन्दा पनि कम रहेको उनले बताए । चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष ओम जैसीका अनुसार रुपन्देहीमा १५ वटा र साविक पश्चिमाञ्चल क्षेत्रमा ५६ वटा सिनेमा हलहरु छन् ।
प्रतिक्रिया