ताजा अपडेट »

छिल्लीकोटको प्रमुख आयस्रोत ‘मालागिरी’

शुक्रबार, २४ पुस २०७७
1 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटका बासिन्दाहरुको लागि प्रमुख आयस्रोतको रुपमा मालागिरी रहेको छ । प्रत्येक घरको आँगनमा सुगन्ध कोकिला (मालागिरी) छरपस्ट देख्न सकिन्छ । छिल्लीकोटका बासिन्दाहरुले यही मालागिरीले नै घर चलाएका छन् । मलागिरी पाईने नेपालकै एक स्थान दाङको छिल्लीकोट हो । त्यहाँबाट वार्षिक एक करोड बराबरको मालागिरीको व्यापार हुने गरेको स्थानीय परवीर पुनले बताए । ‘हामीले मालागिरीबाट वर्षमा एक करोड आम्दानी गर्दै आएका छौं’, उनले भने ‘प्रत्येक घरले मालागिरीको व्यापार गर्ने गरेका छन् ।’ छिल्लीकोटमा एक सय ६ घरधुरी रहेका छन् ।

ती सबैले मालागिरीबाटै आफ्नो घर चलाउने गरेका छन् । एक घरले प्रत्येक वर्ष एक लाखदेखि बढी आम्दानी गर्ने गरेको स्थानीय ओमप्रकाश पुनले बताए । उनकाअनुसार छिल्लीकोटबाट वर्षेनी सय क्वीन्टल मालागिरी बिक्री हुने गरेको छ । त्यहाँका नागरिकको जीवन आर्जन गर्ने मुख्य आयस्रोत नै मालागिरी भएको उनको भनाई छ । ‘यहाँका प्रत्येक नागरिकको मुख्य पेशा भनेको मालागिरी नै हो’, उनले भने ‘यहाँका प्रत्येक घरले दुई÷तीन क्वीन्टल मालागिरी विक्री गर्ने गर्नुहुन्छ ।’ गएको बर्ष प्रतिक्वीन्टल ३६ हजार रुपैँयामा बिक्री गरेको उनको भनाई छ । वास्तविक किसानले मूल्य निर्धारण गर्न नपाउँदा यसको मूल्यमा वर्षेनी घट्ने र बढ्ने भइरहने उनले बताए ।

अहिले रुखबाट जति झर्याे, त्यतिमात्रै मालागिरी टिप्ने गरेको भन्दै टिप्नका लागि प्रविधि ल्याएमा सहज हुने उनले बताए । यसका लागि सरकारले ध्यान दिनुुपर्ने उनको माग छ । मालागिरीको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरबत्ति निर्माणका लागि प्रयोग गरिन्छ, भने मालागिरीको गेडाबाट तेल बनाउन प्रयोग हुने गरेको स्थानीय पूर्ण पुनले बताए । भान्सार शूल्कमा सहुलियत गरेमा किसानहरुलाई सहज हुने उनको भनाई छ ।