ताजा अपडेट »

एनआरएनएमा संस्थागत प्रक्रिया ओझेलमा परेकै हो त ?

विहीबार, २३ पुस २०७७

गैर आवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा क्रमश लामो समयदेखि स्वर सुनिदै आएको छ । संस्थापन पक्ष जसरी पनि विधान संशोधन कोरोना महामारीकै बेला भर्चुअल जुममार्फत तत्काल पारित गराउन चाहन्छ। संघकै करिब पाँच दर्जन कार्यसमितिकै साथीहरु विस्तृत अध्ययन गरेर पास गरौं भनिरहेका छन् । मलाई जानकारी भएअनुसार दुवै पक्ष बीच पटक-पटक भेटवार्ता भएका छन् । वार्ता परिणाममुखीभन्दा दाउपेचमा परिणत भएको मैले बुझेकोछु । संघ बैठकमै उपाध्यक्षहरु मन केसी, रवीना थापा, अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा र युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यलगायतले हतारमाभन्दा बिस्तृत छलफल गरि अघि बढाऔंभन्दै पत्रकार सम्मेलनमा बोलेको मैले घरमै बसेर हेरिरहेको थिए ।

पक्ष र विपक्षमा मत बाडिदै जादा दिन-दिनै मेरो मनमा पीर थपिदै गएको छ । हामीले आजभन्दा झण्डै १८ बर्ष अघि जन्मभुमि छाडेर बिभिन्न मुलुकमा बसोवास गर्ने नेपालीलाई एकताको सुत्रमा बाध्न गैर आवासीय नेपाली संघ स्थापना गरेका थियौ । १८ बर्ष अघिको मेरो उमेर र जोसमा डा. उपेन्द्र महतो, भीम उदास, देवमानहिराचन, रामप्रताप थापाले साथ दिएपछि नेपालीले गर्व गर्न सक्ने संस्था जन्माउन पाएकोमा व्यक्तिगत रुपमा म दंग थिए । संसारभरका नेपालीलाई समेट्ने संस्था गठनले शरीरमा छुट्टै स्फुर्ति थियो । भर्खर जन्माएको संस्थामा अस्ट्रेलियाबाट शेष घले, बेलायतबाट प्रा. डा. सुर्य सुवेदी र नेपालबाट कुलचन्द्र गौतम बसेपछि एनआरएनएले नयाँ उचाई लिनेमा म ढुक्क थिए । त्यसपछि क्रमश धेरै प्रतिष्ठित साथीहरु जोडिदै जानुभयो । उहाँहरु सवैको नाम यहाँ लिन संभव छैन  । यो एनआरएनए बेलायतबाट सुरु गर्दा सन् २००३ देखि २००५ मा डा उपेन्द्र मह्तो अध्यक्ष हुनुहुन्थ्यो भने म सचिव थिए । २००५ देखि २००७ मा अर्को कार्यकाल मैले काम गरेपछि म युरोप संयोजक तिर गए । अहिले गैर आवासीय नेपाली संघ ८० भन्दा बढी देशमा पुगिसकेको छ ।

जब कुनै चिज बस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुदैन । खरीद वा बिक्री गर्ने साधन बन्न जान्छ । जस्ले बढी पैसा तिर्छ उसैले सामान खरीद गर्छ, बजारको नीति यहीं हो। साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै-यस्तै कुराहरु खेलिरहेको थियो ।

प्रत्येक दुई बर्षमा जन्मभुमी नेपाल गएर सम्मेलन गर्ने र दशैतिहार परिवारसँग मनाउदै नेतृत्व पनि चयन गर्ने परम्परानै बनिसकेको थियो । १६ बर्षपछि गतबर्ष नवौं सम्मेलनमा एनआरएनए पुग्दा संस्थाका आर्थिक र सांगठानिक प्रतिवेदन पारित नहुने अवस्थामा पुगे । बिगतमा पुर्व अध्यक्ष मह्तो र हामीले साचेको एनआरएनए विस्तारै बदलिदै जानथालेको आभास मैले त्यतिवेला पाए । लाखौं रुपैयाँ पाँचतारे होटलका अल्कोहलमा खर्च भए । तर आर्थिक पारदर्शितामा संस्था शुन्यमा झरेको महशुस मैले मनमनै गरे । म संस्थापक सचिव भएपनि संस्था भित्रको मेरो पहुच र अधिकार केही छैन । मैले अहिले दिने भएको एक थान सुझाब मात्र हो । त्यो पनि सुझाब जहिले पनि ऐच्छिक हुन्छ, त्यो बाध्यकारी हुदैन । त्यसैले मैले संस्थाका बारेमा सार्वजनिक रुपमै बोल्ने निर्णय गरेर लेख तयार गरे ।

यो लेख तयार गर्दैजाँदा १८ बर्ष अघिदेखि एनआरएनए मा लागेका केही अग्रजहरु बाहेक धेरै नयाँ व्यक्तिहरु छन् । उनीहरु आ-आफ्नो क्षेत्रमा विज्ञ पनि छन । म जस्ता पुराना व्यक्तिलाई भेट्दा एक थान नमस्कार गर्ने बाहेक संस्थाका परम्परा, संस्कार र एनआरएनए गठनका बारेमा आजसम्म एनसीसीदेखि आइसीसीसम्म कसैले मलाइ एक शव्द पनि सोधेको सम्झाना छैन । आ-आफ्ना उद्देश्य पुर्तिका लागि ल्याएको प्रस्तावमा समर्थन पाउन बेलाबेलामा केही कुरा सुनाउँछन् । उनीहरुको प्रस्ताबमा समर्थन गरे धन्यवादसम्म पाइन्छ । यी घटनाहरुले मलाई एनआरएनए जस्तो संस्था अब एउटा प्रयोगका साधनका रुपमा विकास भैरहेको अनुभव हुनथालेको छ । जब कुनै चिज बस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुदैन । खरीद वा बिक्री गर्ने साधन बन्न जान्छ । जस्ले बढी पैसा तिर्छ उसैले सामान खरीद गर्छ, बजारको नीति यहीं हो। साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै-यस्तै कुराहरु खेलिरहेको थियो ।

संघका महासचिव हेमराज शर्माले विवाद बनिरहेको विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधिहरु पठाउन गैर आवासीय नेपाली संघका शाखाहरुलाई पत्राचार गरेको बिज्ञप्तीको समाचारमा एक्कासी आँखा पुग्यो । अनि मनमा कस्तो कस्तो नरमाइलो लाग्यो । धेरै साथीहरुले विधान संशोधनका बिषयमा बिभिन्न कुराहरु उठाएका छन् । सवैलाई समेटेर लैजानु पर्ने बेलायमा महासचिव शर्माले संस्थागत मान्यता विपरीत एकलौटी ढंगले बिज्ञप्ती जारी गरि के उपलब्धि हासिल गर्लान र ? महासचिव शर्मा पनि पिएचडी गरेकै व्यक्ति हुन् । उनले पनि अध्यापन गराएर जिबिको पार्जन गरेकै छन् । एउटा सम्मानित पेशामा भएका मानिसले अब्बल भएर देखाउनु पर्नेमा नीजि कम्पनी चलाएजस्तो व्यवहार देखाएको गुनासो धेरैले म सँग गरेका छन् । कुनै पनि व्यक्ति अध्ययनशील वा धनाढ्य भएर मात्र पुग्दो रहेनछ, त्यसको व्यवहार नै समाजले जाच्ने कसिहो । महासचिव शर्माको जीवनमा पनि त्यो लागुहुन्छ जस्तो लाग्छ ।

सामाजिक संस्थाका बारेमा मन भित्रका अन्तरविरोध चलिरहेको बेला संघका महासचिव शर्माले पटक-पटक सामाजिक संजालमार्फत जारी गरेका सुचनाहरु मेरो मानसपटलमा आइरहन्छन् । संघको विधानत कार्यकारी अधिकार संघका अध्यक्ष र महासचिवमा रहन्छ । तर, पनि संघलाई सामुहिक नेतृत्व प्रणालीमा लग्न त्यहाँ उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, प्रवक्ता, महिला र युथ संयोजकहरु भएको कार्यकारी सचिवालय बनाएका छौं । त्यहाँ छलफल गरि सवैको भावनालाई समेटेर अघि बढनु पर्नेमा  उनले व्यक्तिगत संस्था चलाएजसरी सामाजिक संजालमा सुचना जारी भएको देखेर मेरो मन थप छियाछिया भयो । अनिसोचे, यो धर्तिमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एकजना डाक्टर हुन्छ । एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेसन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ । कहिलेकाहीं गलत औषधी दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ । झण्डै दुई दशक अघि जन्माएको प्वित्र संस्था एकपक्षीय निर्णयले दुघर्टना हुने हो कि भनेर अहिले मलाई धेरै चिन्ता लागेको छ ।

जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ । संस्थामा एउटा पद्धति हुन्छ । संस्थाको स्थापित मान्यताहरु छन् । त्यहाँ सामुहिक छलफल हुनुपर्छ । त्यहाँ सामाजिक भावना हुनुपर्छ । संस्थागत मर्यादाहरु उल्लघंन गरिए भने निर्वाचित व्यक्ति नै एकतन्त्रीय बन्न पुग्छ । अनि उसलाई जे मनलाग्यो त्यही निर्णय हुन्छ । अन्तत संस्थाको अवसान हुन्छ । आज ८० भन्दा बढी देशमा भएको संस्था आगामी दिनमा हेर्दाहेर्दै लाइट बालेर खोज्नुपर्ने अवस्थामा पुग्छ । क्षणिक स्वार्थमा जोडिएको मानिसहरु वा व्यक्तिहरुले आफ्नो स्वार्थपुर्ति गरेर हिड्लान् । तर, एनआरएनए सामाजिक संस्थाका रुपमा रहिरहन सक्दैन्।  -लेखक एनआरएनएका संस्थापक सचिव हुन