ताजा अपडेट »

बुटवलमा विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण

सोमबार, २० पुस २०७७

बुटवल । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुद क्षेत्र प्रभावित भइरहेका बेला बुटवल उपमहानगरपालिकाले शिक्षकहरुका लागि खेलकुदका विभिन्न विषयमा विशेष प्रशिक्षण सुरु गरेको छ । नगर खेलकुद विकास समितिमार्फत बुटवलका १९ वटै वडाका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सोमबार बुटवल देविनगरस्थित नवीन औद्योगिक कदरबहादुररिता रायमाझी माविको परिसरमा एक समारोहका बीच खेलप्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । खेलकुदमा विविधिकरण र विशिष्टिकरण गर्दै सम्भावनालाई साकार पार्नुपर्ने उनले बताए । खेलकुदसँग सम्बन्धित नवीन सोच, प्रविधि र सम्भावनालाई आदान प्रदान गर्दै दक्ष र स्वच्छ खेलाडीको उत्पादन नै नगर खेलकुद विकास समितिको कार्यभार हुनुपर्नेमा सुवेदीले जोड दिए । विद्यार्थीको शारीरिक, नैतिक तथा आत्मबलको विकास गर्दै खेलकुदका आवश्यक भौतिक पूर्वाधारहरु बनाउने र बुटवलमा खेलकुदका सबै सम्भावनाको क्रमशः विकास गर्दै लगिने प्रमुख सुवेदीले प्रतिवद्धता जनाए ।

उपप्रमुख गुमादेवी आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउँदा त्यसले बालबालिकामा बहुआयामिक तथा सकारात्मक प्रभाव पार्ने बताइन् । सक्षम खेलाडी उत्पादनको स्रोत नै विद्यालय तह रहेकाले सोही अनुरुपका खेलकुदका माध्यमबाट अनुसाशन, नैतिक शिक्षा र सभ्य नागरिक उत्पादन गर्नेतर्फ केन्द्रित हुन उनले आग्रह गरिन् । विद्यालयहरुमा सञ्चालन हुने दोस्रो राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर खेलकुदका विभिन्न विधामा आयोजना गरिने खेलकुदका क्रियाकलापलाई लक्षित गरेर प्रशिक्षण सुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले जानकारी दिए । उनले आसन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरेर विद्यालयका शिक्षकलाई खेलकुदका विभिन्न विधामा प्रशिक्षण दिन लागिएको बताए ।

बुटवलका विभिन्न वडाका १५ सामुदायिक र १४ संस्थागत विद्यालयका खेल शिक्षकलाई विभिन्न विषयमा प्रशिक्षण दिनेगरि प्रशिक्षण सञ्चालन गरिएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक प्रेम बस्नेतले बताए ।

वरिष्ठ प्रशिक्षक मोहन घलेको नेतृत्वमा विषय विज्ञद्वारा प्रशिक्षण
वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय चिफ कोच मोहन घलेको नेतृत्वमा रहेका विभिन्न विधाका प्रशिक्षकहरुले विद्यालयका खेल शिक्षकलाई विषयगत प्रशिक्षण दिनेछन् । कबड्डीका लागि राष्ट्रिय रेफ्री र अन्तर्राष्ट्रिय खेलाडीहरु दिनेश आचार्य, महेन्द्र सुनार र गोविन्द सुनार, भलिबलका लागि एफबीआई कोच अर्जुन घिमिरे र नवीन थापा सारुले प्रशिक्षण दिनेछन् ।

तेक्वान्दोका लागि राष्ट्रिय रेफ्री तथा कोच चन्द्रकान्त आचार्यले र कराँतेका लागि राष्ट्रिय रेफ्री तथा कोच उमेश थापाले प्रशिक्षण दिनेगरि कार्यक्रम तालिका तय भएको नगरखेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिइन् ।