सम्माननीय प्रधानमन्त्री ज्यू
नमस्कार, अभिवादन, लाल सलाम, जय नेपाल, लास्सो, फ्याफुल्ला, तासिदले, सेवारो, जोजोलापा
प्रधान्मन्त्री ज्यू हजुरलाई त अहिले असारको पन्ध्र छ । हली आफै, बाउसे आफै, ब्याडे आफै, रोपाहार पनि आफै । हुँदा–हुँदा खाना-खाजा तयार पार्ने पनि आफै जस्तो हुनुभएको छ । अलिअलि सहयोग गर्लान कि भनेका लाठेहरु बाटा लागिहाले बाक्लो दाल खाने दाउमा । बाँकी भएका अलिअलि पनि विश्वासयोग्य छैनन् । कोहि भर्खर बसाई सरेर आएका छन् जो आफ्नो अर्काको छुट्याउन सक्ने बेला नै भएका छैनन् । न यसो सिआईडि गर्न आएका पो हुन की सर्लक्क भान्सामा पठाउन पनि भएन । घरमै बाँकी रहेका पनि पत्यारिला छैनन् भाग खान सिपालु छन् तर बाहिर पठाउन र काम लगाउँदा फत्य गरिहाल्लान् भन्न नसकिने खालका छन् । त्यसैले तपाई यो बाली लगाउन दिनरात नभनेर लाग्न पर्ने बेलामा म एउटा अदनाले लेखेको पत्र पढ्ने फुर्सद छैन भन्ने जान्दा–जान्दै पनि पठाउँने दुस्शाहस गरेको छु । तपाईलाई कुन शब्दले अभिबादन गरौ र हजुरलाई मन पर्ने अभिवादन र शब्द खुट्याउन नसकेर माथिका शब्द लेख्न पुगे । आसा छ हजुरले छानेर आफूलाई मन पर्ने र उपयुक्त हुने अभिवादन ग्रहण गर्नुहुने छ ।
हजुरले बृहत परिवार बनाउने आसाले हो वा शक्तिशाली हुने लोभले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच शुरुमा लिभिङ टुगेदरमा बस्ने र मन मिल्दै गएमा औपचारिक बिवाह गर्ने नभए बिछोडिने गरी घरजम गर्न शुरु गर्नु भएको थियो । जसलाई ‘जेट’ नाम दिनु भएको थियो र ‘पाईलट’ पनि दुईवटा राख्नुभएको थियो । शहरमा चल्ने टुकटुके टेम्पो नभएकोले दुईजना पाईलट राखेको दाबी गरे पनि अर्का पाईलट हजुरका भित्री आत्मामा ‘को-पाईलट’ थिए । नाम राख्नुभएको थियो जेटको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जसलाई चर्चित साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले डबल नेकपा भन्ने गर्नुभएको थियो शुरुवाती दिनदेखि नै । धेरैको जिकिर थियो यो जहाज गन्तब्यमा पुग्दैन र लिभिङ टुगेदरबाटै यात्रा टुङ्गिन्छ र भयो त्यही ।
तर आम सर्बसाधारणहरु तपाईहरुको लिभिङ टुगेदर पूर्विय संस्कृति र परम्परा विपरित भए पनि बिवाहमा नै परिणत होस् भन्ने हेतुले तपाईहरुका ६ वटा प्रदेश नामक र एउटा संघ नामक अवैध सन्तान जिम्मा लगाएका थिए । अवैध यस मानेमा कि संस्कारानुसार बिवाह कर्म नभएकोले । तर तपाईले आज ती सातवटा सन्तानलाई बाटामा अलपत्र पारिदिनु भएको छ । यसमा तपाई मात्रै एकल दोषि भने हुनुहुन्न । तपाई घरमूली भएकोले तपाईका भागमा ५१५ तपाईका किचकिचे सहयोगिका भागमा ४९५ दोष पर्ने देखिन्छ । भारी बोक्नेले गतिलो गरी नबोक्दा वा नबिसाउँदा हुने परिणती यहि नै हो । कि गतिलो गरि बोक्नु पर्ने थियो नभए बिसाउँदा सन्तान दरसन्तानको ख्याल गर्नु पर्ने थियो भन्ने भूईमान्छेहरुको आरोप छ । खैर यो तपाईहरुको घर झमेलामा को दोषी को निर्दोषी भन्नेबेला अहिले होइन भूइमान्छेहरुको । बेला आएपछि अवश्य भन्नेछन् ।
तपाइहरुको घरझगडाले निम्त्याएको राजनीतिक अवस्थालेभन्दा पनि तपाइहरुले प्रयोग गरेका भाषा शैलीले नेपाली जनता र विशेषगरि युवा पुस्ताले के सिक्नेहोला भन्ने विषयले चिमोटेकोले यो पत्र लेख्न बाध्य भएको कुरा निवेदन गर्न चाहन्छु प्रधानमन्त्री ज्यू । अहिले लिभिङ टुगेदरबाट छुट्टिएका तपाइहरु जो तत्कालका लागि खोलिका दुई किनाराका रुपमा देखिनु भएको छ, तपाइहरुले भाषणमा प्रयोग गरेका शब्द, विम्व र बोलिबाट तपाइहरुका होनाहार कार्यकर्ताले तालि हान्दा रमाईलो लाग्दो हो । केकान राम्रो बोले भन्ने पर्दो हो । तर वास्तविकता फरक रहेछ । यो तपाइहरुलाई तपाइका वरिपरि झुम्मिने कार्यकर्ताले भन्ने आँट पक्कै गर्दैनन् । तपाइले राजधानिको एउटा कार्यक्रममा उपत्यकाका कार्यकर्तालाई सम्बोधन गर्दै गरेको कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरिरहेको थिए ।
कोभिड-१९ का कारणले विद्यालयमा भौतिक उपस्थित सम्भव नभएकोले कक्षा १० मा पढ्ने मेरी छोरी आफ्नो कक्षा सकिएपछि म भएको ठाँउमा आईन । बाबा के हेरिरहनु भएको भनेर सोधिन । मैले भने प्रधानमन्त्रीको सम्बोधन । राजनीतिमा खासै चासो नराख्ने छोरी पनि हजुरको भाषण केहिबेर सुनिन् अनि बाबा प्रधानमन्त्री भनेको त हाम्रो देशको ठूलो मान्छे होईनन् र ? मर्यादाक्रममा तेस्रो नम्बरमा पर्छन होइन र ? सायद उनले सामाजिक शिक्षा पढेर यी कुरा थाहा पाएकी होलिन् । अनि मैले उनलाई सोधे किन र छोरी ? के भयो र ? उनले जवाफमा भनिन् नेता भनेका त हामीलाई बाटो देखाउने, राम्रो काम गर्ने, राम्रो बोलि बचन भएका हुनु पर्ने होइन र ? किन यति तल्लो स्तरमा झरेर निक्रिस्ट शब्दहरु प्रयोग गरेर एकअर्कामा गालिगलौज गरेका ? उहाँहरुबाट हामीले के सिक्ने ? कस्तो संस्कार सिक्ने ? उहाँहरुका कार्यकर्ता कसरी राम्रो मानिस बन्नुहुन्छ होला ? अनि भोलि गएर कसरी देश र समाजको सेवा गर्नुहुन्छ होला ? म अवाक भए ।
मसँग उनलाई दिने जवाफ भएन प्रधानमन्त्री ज्यू । यति भनेपछि उनी आफ्नो काममा लागिन । म एकछिन घोत्लिए र मसँग भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली वृहत शब्दकोश पल्टाएर नेता शब्दको अर्थ खोजे । जसमा लेखिएको रहेछ ‘कुनै राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति वा अगुवास नाईके, नाटक, महाकाव्य आदिको प्रमुख पात्र, लैजाने व्यक्ति, बाटो बताइदिने व्यक्ति, नायक, मालिक ।’ हेर्नुहोस त तपाइहरुलाई प्रयोग गरिने शब्द नेताको अर्थ कति गहन रहेछ । के यो शब्दलाई तपाइहरुले न्याय गर्नु भएको रहेछ ? तपाई त देशको कार्यकारी । तपाइतिर सबैका नजर पुगेका हुन्छन् । त्यही कार्यक्रममा तपाइले सगर्व भन्नुभएको थियो विदेशमा समेत नेपालको प्रधानमन्त्री केपी ओली भनेर चिन्न थाले । अझ अगाडि बढेर भन्नुभएको थियो भारतका कुना-कुनामा भन्न थाले नेपालको प्रधानमन्त्री केपी शर्मा ओली भनेर । के तिनिहरुले तपाइले प्रयोग गरेका भाषा, शैली र शब्दहरुका बारेमा ख्याल गर्दैनन् ?
हामीले जसरी मोदी र ट्रम्पले बोलेका कुराहरु ख्याल गर्छौ र उनैको सिको गर्न समेत पछि पर्दैनौ भने उनीहरुले छोड्लान । हाम्रा चर्चित हाँस्यकलाकार मनोज गजुरेल यसको ज्वलन्त उदाहरण छन् । उनीहरुका मनमा नेपालका प्रधानमन्त्री कस्ता हुँदा रहेछन र कस्ता भाषा शैली प्रयोग गर्दा रहेछन भन्ने नपर्ला ? ठिक छ उनीहरुलाई पर्ला नपर्ला तर हाम्रा साना नानीबाबुहरुलाई पर्ने रहेछ । उनीहरुलाई नेता भनेका खराब, झुठो बोल्ने, ठेकदार, डन, गुण्डा, चुल्ठे, मुन्द्रे, तस्कर, माफियाका एजेण्ट, खराब काम गर्ने र कार्यकर्तालाई अनावश्यक उक्साहटमा लाग्ने बनाउने रहेछन् भन्ने सिकाउने कि शब्दकोशले भनेजस्तै बन्ने ?
तपाइको एक घण्टा लामो भाषणमा खोई तपाइको पार्टीका एजेण्डाहरु ? खोई राजनीतिक एजेण्डा ? खोई सामाजिक नीति ? आर्थिक नीति के हुने ? वैदेशिक नीति के छन् ? अहिलेको महाव्याधिसँग कसरी जुधिरहेको छ देश र जनतालाई त्यो महाव्याधिबाट जोगाउन थप कदम चाल्न के गर्दै हुनुहुन्छ ? तपाइकै भाषा सापटी लिएर भन्दा भेट्ना कुहेर झरेका भनिएका दुईवटा फलहरुलाई त्यती धेरै सत्तोसराप गर्नुपर्छ र, प्रधानमन्त्री ज्यू ? तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले अक्सिजनको सिलिण्डरसहित शयन कक्षबाट देशको प्रशासन चलाउँदा बिरोध गर्ने तपाइले करिब एक वर्षदेखि तपाई आफ्नो अफिस नगई निबासबाट देस चलाउनु भएको छ बिरामी र कोभिडको कारणले । दुबैजनाले नै बालुवाटारमा पार्टिका बैठक र भोजहरु आयोजना गर्नु भयो ।
बालुवाटार देशको कार्यकारीको निवास हो कसैको पार्टी अफसि होईन । तर तपाइहरुले पार्टी अफिस र कतिपय बेलामा त गुटको अफिस नै बनाउन पछि पर्नु भएन । विपक्षिले हिजो त्यसै गरेकाले उसँग बिरोध गर्ने नैतिक धरातल बाँकि छैन भन्ने लागेर तपाइले पनि त्यही गलत कामलाई निरन्तरता दिनु भएको छ । सधैभरि तपाई र तपाइको पार्टी सत्तामा नरहला । अनि त्यतिबेला के गर्ने ? कि जो शत्तामा जान्छ उसका लागि बालुवाटार पार्टी अफिस बनाउने परम्परा बसाउने ? होइन भने हिजोको काम गलत थियो भने आफूले सच्याउने शाहस किन नगरेको ? पुष ५ पछि तपाइमा एकाएक कहाँबाट यति धेरै शक्ति र उर्जा कहाँबाट प्राप्त भयो ? देशको कार्यकारी उर्जावान हुन पक्कै पनि सुखद कुरा हो । प्रशासन चलाउन अफिस जान नसक्ने तर एक-एक घण्टासम्म उभिएर बोल्न सक्नुहुन्छ कसरी ? यो पनि नाटक र झुठ भनेर बुझ्दैनन् ती भोलिका कर्णधार भनिएकाहरुले
? देशकै तेस्रो वरीयतामा उभिएकाले त झुठो बोल्न हुनेरहेछ भने हामीले किन नहुने, भने जवाफ के छ प्रधानमन्त्री ज्यू ? आम मानिसले अहिले हजुरहरुलाई हुँदाखाँदाको सन्तान मारेर बत्तिस गुणयुक्त सन्तान जन्माउनका लागि नयाँ बधु खोज्न थाल्नुभएको छ भन्ने आरोप लगाई रहेका छन् । वरियात जुटाउने तयारी गर्दै हुनुहुन्छ ।
उनीहरुका लागि खाना नाना र छाना जुटाउने तयारी गर्दै हुनुहुन्छ । २/२ वटा किड्नी फेरेर करिब ७० वर्षको उमेरमा पनि तपाइमा १८ वर्षे जवानी देखिएको छ । थाहा छैन कति सफल हुनुहुन्छ । आवश्यक परे हरिवंश पुराण पनि लगाउनका लागि अख्तियार, निर्वाचन आयोग र सर्वोच्च अदालत नामक पण्डितहरुको जोहो पनि गरिसक्नु भएको छ भन्दैछन मानिसहरु । किनकि तपाई अहिले मार्क्सवादी कम र आध्यात्मवादी ज्यादा बन्नुभएको छ भन्ने धेरैको बुझाई छ । जुन आफैमा बिरोधाभाष कुरा हो । भैरहेका सन्तान अयोग्य भए अथवा भनौ कुपात्र भए । काम गर्न छोडेर डेटिङ जान पैसा मागे, रोयल बुलेट बाइक किनिदिन किचकिच गरे, तपाइले ज्युनार गर्ने ८४ व्यञ्जनबाट अलिकति आमा, दाजुभाई, दिदीबहिनी, बुहारी, नातीनातिनीलाई पनि दिनुहोस भन्दा तपाइको रिसको पारो यती तात्यो कि घरमा बम नै हिर्काएर नबजे बाँसुरी नरहे बाँस बनाउनु भयो भन्दैछन् । कम्तिमा आगो मात्रै लगाएको भए पनि छिमेकि हारगुहार गरेर थोरैधेरै जोगाउने थिए कि भन्दैछन् ।
मर्यादाक्रमले तपाई अहिले नेपालको तृतीय स्थानमा रहनुभएको छ । तपाइबाट नै जनताले आसा मात्रै होइन धेरै भरोसा गरेका थिए । सायद त्यसैले गुनासो पनि तपाइसँगै गरेका होलान भन्ने मेरो लाटो बुझाइ हो प्रधानमन्त्री ज्यू । गाँउघरमा हजुरबुवा हजुरआमाहरुले भन्ने गर्नुहुन्थ्यो ‘भारी बोक्ने मानिस जहिले पनि झुकेको हुन्छ । यदी उ झुकेन भने उसलाई भारी गन्तव्यसम्म पुर्याउन गाह्रो हुन्छ । कि उ आफै लड्छ नभए ढाड कम्मर र तिघ्रा दुख्छन र अन्त्यमा भारी नै फ्याँकि दिन्छ ।’ सायद अहिलेको तपाइको अवस्था त्यही हो कि ? त्यसै भनिएको होइन रहेछ ‘फलेको हाँगा ननुगेको कहाँ हुन्छ’ भनेर । तपाइलाई नुगनभन्दा टुट्न र भाँचिन मजा लाग्यो कि ? आनन्द आयो कि ? नेपाली जनताले तपाई नुगेर भएपनि देशको यस बढेको हेर्न खोजेका थिए । यसको अर्थ तपाइले आफ्नो आत्मसम्मान र स्वाभिमान गुमाउनु पथ्र्यो र पर्छ भन्न खोजीएको चाँहि कदापि होईन ।टुक्रिनुभन्दा झुक्नुमा नेपाली जनताको कल्याण निहित थियो । पार्टीका कुरा पार्टीमा मिलाउनु पथ्र्यो ।
तपाइहरुको घरझगडामा नेपाल र नेपाली जनताले किन दुःख भोग्नु पर्ने ? दुई वर्षपछि त दनक दिइनै हाल्थे त सचेत नेपाली जनताले । चौबाटोमा उभिएर देशको कार्यकारिले आमा चकारेर गाली गरेको पटक्कै सोभनिए भएन प्रधानमन्त्री ज्यू । तपाइले नै भन्नुभएको थियो एउटा कार्यक्रममा ‘नेपालका पत्रकार र सञ्चार गृहले आदारार्थी शब्द प्रयोग गर्न जानेन । त्यती मात्रै होईन घरमा आमा बा लाई पनि आदर गर्न जान्दैनन् वा गर्दैनन् कि’ भनेर । सायद यो प्रसंग राष्ट्रपति र प्रधानमन्त्रीलाई तिमीको सम्बोधन प्रयोग भयो भनेर भन्नुभएको थियो । अहिले तपाइले बोलेका शब्द युट्युव खोलेर हेर्नुहोस त के लाग्छ तपाइलाई ? के कार्यकारिले बोल्ने भाषा यही हो ? यसले प्रधानमन्त्रीको कुर्सी र देशको इज्जत मान प्रतिष्ठा बढाउछ ? एकपटक आफैले आत्मसमीक्षा गर्नुहोस त प्रधानमन्त्री ज्यू ।
यति धेरै मेरो खैरो खन्ने यो मान्छे पक्कै पनि भर्खरै लिभिङ टुगेदरबाट बिच्किएका प्रेमिहरुको गुटको हो भन्ने अवश्य लागेहोला । तर माफ गर्नुहोला प्रधानमन्त्री ज्यू म त त्यो गुटको होईन । म त केबल नेपाल देश नामक गुटको मानिस हुँ । केवल नेपाल देश र नेपाली जनताको भलो चाहने गुटको मानिस हुँ । मैले केपी ओलीबाट यो अपेक्षा गरेको होईन । अपेक्षा गरेको हुँ त केवल देशको कार्यकारी प्रधानमन्त्रीबाट । देशको कार्यकारी सभ्य, शिष्ट र मिजासिलो भएर उभियो भने सारा नेपाली जनले त्यही सिक्छन । नेपालीको शीर गर्वले फूल्ने छ भन्ने अपेक्षा हो ।
घरमा बा आमा सभ्य र शिष्ट भए सन्तान पनि त सभ्य र शिष्ट हुन्छन होईन र प्र म ज्यू ? देश पनि त त्यी घर होईन र ? मानिस कक्षा कोठामा नैतिक शिक्षा पढेर मात्र नैतिकवान हुनेभए त तपाइहरुले नैतिक शिक्षा पढ्नु भएकै थियोहोला ? नेपाली उखान ‘जो अगुवा उही बाटो ..’ भनेजस्तै भए तपाइहरुका बोलि बचन र व्यवहारहरु । अहिले तपाइहरुको भाषा-शैली रत्यौलि खेलेभन्दा फरक छन्जस्तो लाग्दैन । यी भाषा र शब्दले ती साना नानीबावुहरुमा कस्तो छाप पर्ला केही सोच्नुभएको छ ? सोच्नु भएको छ त केबल तपाइका कार्यकर्ताका तालीका पर्राहरु । अहिले तपाइहरुले बोल्ने प्रत्येक कुरा रेकर्ड हुनेछन् र प्रत्यक्ष प्रसारण भैरहेका हुन्छन् । तपाइहरुले राजनीति शुरु गर्दा जस्तो रातिमा लुकिलुकि गर्ने कोठे भाषण र दिउसोमा गरिने कोणसभाको जमाना होइन अहिले ।
प्रविधिले यत्रो फड्को मारिसक्दा पनि तपाइहरुको चेतना र सोचाइमा किन परिवर्तन नआएको होला ? अचम्म लाग्दछ । अरुलाई तल्लो स्तरमा ओर्लिएर गालि गलौज गर्दा आफू पनि त्यही स्तरमा झरिन्छ होईन र ? आफूले आकासतिर फर्किएर थुकेपछि त आफ्नै अनुहारमा खस्छ होईन र ? यसले आफ्नो आत्मविश्वास र आत्म स्वाभिमान गुमेको संकेत गर्दैन र ? २०४५/०४६ तिर ‘पम्फादेबि ठकुरी लात्ताले भकुरी’ भन्न सिकाउनु भयो । ‘बिरे चोर देश छोड’ भन्न लगाउनु भयो । ‘स्वीस बैंकमा पैसा थुपारेका छन् हामीले ल्याउछौ ।’ भन्नु भयो । खै ती कुरा पूरा भए ? अझै पनि तिनै पुराना थोत्रा औजार प्रयोग गर्न किन नछोडेको ? तपाइहरुले खेलिरहनुभएका फोहरी राजनीतिक खेलभन्दा खतरनाक तपाइहरुले प्रयोग गर्नुभएका भाषा शैली छन् ।
त्यसबाट बढी डर लागिरहेको छ । अबको पुस्ताले के सिक्ला तपाइहरुबाट र कता जाला ? हाम्रा छिमेकी कार्यकारी नरेन्द्र मोदी र सिजिनफिङ कति सभ्य र शिष्ट भएर प्रस्तुत हुन्छन । देशको कार्यकारीको व्यवहार उठबस र भाषाले नै देशको शिर उठाउन सहयोग गर्ने भएकोले अरुबाट होईन तपाइबाट अपेक्षा गरिएको हो । अरु दुधले नुहाएका छन् भन्न पटक्कै खोजिएको होईन । उनीहरु झन खराब छन् । तर तपाई नरम र शिष्ट हुनुहोस बिरोधिहरु यसै गल्न बाध्य हुनेछन् । नभए उनीहरुको मान मर्दन हुनेछ । आफै खिएर जानेछन् ।
आफै खसेका नट बोल्टुको किन त्यती धेरै सम्झना आएको प्रधानमन्त्री ज्यू ? खराब छ र गलत बाटोमा लागेको छ भने ठूला मानिसले त सम्झाउने हो नकि उसकै तहमा ओर्लिएर गालिगलौज गर्ने । उनीहरु र तपाइमा फरक के भयो त ? त्यसैले अनुरोध छ प्रधानमन्त्री ज्यू अब भावि पुस्तालाई सहि मार्ग प्रदान गर्नका लागि भएपनि सभ्य र शिष्ट भैदिनुहोस । सहि राजनीति संस्कार दिनका लागि पनि आफूत संस्कारी हुनु पर्यो । अर्को पत्र आप्नो देशको कार्यकारीको शालिनता र भद्रताका बारेमा लेख्न पाइने आसासहित अहिलेलाई बिट मार्ने अनुमती चाहन्छु ।
उही तपाइको भलो चाहने एक नेपाली । अर्जुनध्वज अर्याल
उप-प्राध्यापक, त्रि .वि .वि., किर्तिपुर
प्रतिक्रिया