लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई सामान्य तापमानमा पनि भन्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ ।
फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भन्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाइ हुने गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन सुरु गरिने बताए । अस्ट्राजेनिकाको खोप आमजनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो । बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए)ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।
एकजना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्यांक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् । आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए । उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताएका छन् ।
यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर, पछिल्लोपटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।
प्रतिक्रिया