ताजा अपडेट »

धार्मिक सहिष्णुता खलबलिनु हुँदैन

मंगलबार, १४ पुस २०७७

धर्म, संस्कार र संस्कृति मानव जीवनको अभिन्न पाटो हो । यिनीहरुले नै मानव जातिलाई जंगली जनावरभन्दा भिन्न बनाई अथवा पशुको दर्जाबाट माथि उठाई सुव्यस्थित, अनुशासित र परिस्कृत भएर बस्न सिकाउँछ । त्यसैले धर्म, संस्कार र संस्कृतिसँग मावनको अन्योन्याश्रित सम्बन्ध रहेको छ । उखानै छ ‘पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ नेपालीमा भन्दा ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ ।’ संस्कार र संस्कृतिलाई छोडेर हामी एकछिन धर्मको कुरा गरौं ।

धर्म संस्कृतबाट आएको शब्द हो । यसलाई अंग्रेजीमा (Religion)भनिन्छ । पूर्विय आस्थामा धर्मको विभिन्न अर्थ लगाइएको पाइएतापनि पश्चिमा विद्वानहरुले अंग्रेजी शब्द ( Religion ) रिलिजनको पर्यायवाची शब्दनै छैन भन्ने निष्कर्ष निकालेका छन् । त्यसैले धर्मको खास परिभाषा यहीनै हो भन्ने कुरामा एकमत छैन अर्थात् धर्मको व्यापक अर्थहरु छ । यसलाई विभिन्न तरिकाले व्याख्या गरिएको छ । यद्यपि सामान्य एक अर्थमा हामीले धर्मलाई असल, परोपकारी, सकारात्मक र पुण्य वा पवित्र कर्महरु भनेर बुझ्ने गर्दछौं ।

त्यस्तै गरेर धर्मलाई कर्तव्य चरित्र र नैतिकतासँग पनि जोडेर व्याख्या गरिन्छ । जस्तो की बग्नु पानीको धर्म हो । जोडिनु हड्डीको धर्म हो , विहान उदाउनु सूर्यको कर्तव्य हो, तातो हुनु आगोको धर्म हो ,चिसो हुनु हिउँको धर्म हो, फुल्नु फूलको चरित्र हो, आदि । यी तमाम कर्महरुमा कर्तव्य, नैतिकता र सास्वतता छ । त्यसैले धर्मको अर्थ गहन तर व्यापक पनि छ । किन भने अंग्रेजी, जर्मन र फ्रेन्च भाषाका विद्वानहरुले धर्मको उल्था गर्न प्रयत्न गरेका थिए । तर धर्म शब्दको अर्थ वा परिभाषा यही हो वा यति मात्र हो भनेर भन्न सकेनन् । यसकारण धर्म शब्दको अर्थ व्यापक र गहन हुनुका साथै यस्लाई अर्थ्याउनु अति कठिन काम भनी स्वीकार गरेका छन् ।

प्रख्यात भाषाशास्त्री नोम चोम्स्कीले धर्म शब्दको विश्वका हरेक भाषामा फरक अर्थ रहेको र यसलाई सिमित अर्थमा बाँध्न सकिदैन भनेका छन् भने ग्रासमेनले धर्मको विभिन्न सात अर्थ निकाले । त्यस्तै गरेर मोनियर, कार्ल फ्रेडरिक गेल्डर र विलियम लगाएतका विद्वानहरुले धर्मको २० भन्दा बढी प्रकारका अर्थहरु निकाले । यी विद्वानहरुका अनुसार धर्म शब्द भित्र कानून, काम, कर्तव्य, नियम, व्यवस्था, प्रथा, परम्परा, प्रचलन, शिक्षा, दिक्षा, गुण, स्वाभाव, चरित्र, आदत, अधिकार, नैतिकता, व्यावहार, व्यावस्था, आस्था, विश्वास, सम्मान, सम्पत्ति र प्रतीक आदि अर्थहरु पर्ने बताए । धर्मका यी तमाम अर्थहरुलाई बुझ्दा समग्रमा धर्म मानवजीवनसँग सम्बद्ध कुरा हो । असल जीवन पद्धति हो र जीवनको सही मार्ग हो भनेर बुझ्न सकिन्छ ।

प्रख्यात फ्रान्सेली समाजशास्त्री ईमाइल दुर्खिमले सामाजिक एकतासँग जोडेर धर्मको नँया ढङ्गबाट व्याख्या गरेका छन् । साथै उनले धर्मको उत्पत्ति समाजबाटै भएको बताएका छन् । उनका अनुसार धर्म मानवीय मुल्य सहितको सास्वत र पवित्र मान्यताहरुसँग सम्बन्धित अनेकौं विश्वास क्रिया, कर्तब्य र आचरणहरुको त्यो प्रेरणाश्रोत हो जसले समाजको नैतिक र सामाजिक व्यवस्थालाई सुदृढ गर्दै आफ्नो धर्म मान्नेहरुलाई सामाजिक एकतामा बाँध्ने गर्दछ ।’ त्यसैले धर्मको सम्वन्ध केवल आस्था विश्वास र पूजा अथवा आरधनाको पद्धतिसँग मात्र सिमित हुदैन । धर्म प्रकृति, तत्वहरु, ज्ञानहरु, कर्महरु, शक्तिहरु, आस्था र स्थानहरु, व्यावहार र विश्वासहरु लगाएत आचरणहरुको एक संगठित व्यवस्था हो । जसको उद्देश्य लौंगिक अलौकिक जीवनसँग सम्बध्द्ध अन्तिम सत्य सहितको लक्ष्य प्राप्ति पनि हो । जसको सम्बन्ध शुरुदेखि अन्त्यसम्म मानव समाजसँगनै हुन्छ । यसैले मेलिनोस्कीले धर्मलाई सामाजिक परिघटना मानेका छन् ।

तर,विश्वका विभिन्न देशमा रहेका समाज तथा समूहले विश्वास र आस्थाका साथ अनुसरण गर्दै आएको बौद्ध, हिन्दु, बोन, किराँत ,इस्लाम, इसाई, जैन शिख आदि आस्थाहरुलाई मात्र धर्म भनेर बुझ्ने गरेको छौं । धर्मलाई यही अथवा यति मात्र बुझ्नु गलत हो अथवा धर्म शब्दमाथीको संकुचन हो । धर्म एउटा गहिरो र बृहत अर्थ बोकेको शब्द हो । यसको गहिराई बुझ्न अति कठिन काम पनि हो । जति जसरी यसलाई आजसम्म बुझ्दै आएको छौं त्यो अति कम र भ्रम हो । किन भने आजसम्म धर्मलाई जुन अर्थ लगाएर त्यसमाथी अतिबाद र कट्टरताहरु लादिन्छ त्यसले मानव समाज र समुदायलाईनै हानी गर्दछ । जस्तो की धर्म भनेर बौद्ध, बोन, हिन्दु जैन, इसाई, इस्लाम, किरात आदि आस्थाहरुलाई मात्र बुझ्दछौं । तिनीहरुको आ–आफ्नो वेद ग्रन्थ वा शास्त्रहरु छन् ।

यसका अनुयायीहरुले ती आ-आफ्नो ग्रन्थ, वेद वा शास्त्र र परम्पराको अनुसरण गर्छन् र त्यसै अनुसार निर्देशित हुन्छन् । यसरी ती ग्रन्थहरुको अनुसरण गर्ने क्रमका कतिपय अतिवादि अनुयायी अथवा कट्टरपन्थीहरुले अनेक विवाद र मतभेद निकालेर द्वन्द्व, युद्ध दङ्गा र आतङ्कवादको सिर्जना गरेका छन् । त्यही कारण धर्मको नाममा विश्वमा अनेकौं साम्प्रदायिक युद्ध, हिंसा र कलह भएको इतिहासहरु पाइन्छन् । यति मात्र नभएर यसलाई राजनीतिकरण गरेर राज्यनै टुक्रिएको इतिहासहरु पनि छन् । यो सबै हुनुको प्रमुख कारण भने धर्मको अर्थलाई नबुझ्नु नै हो अर्थात धर्म को शब्दार्थ साँघुरो दायरामा सिमित पारिनुले हो ।

धर्म जस्तो विशाल र गहन शब्द माथी यति धेरै अन्योल, विवाद, विषमता, संकुचन, र विकार हुनु मानव समाज र सभ्यताको लागी अत्यन्त दुःखद पक्ष हो । किन भने अहिले सम्म हामीले बुझ्दै आएको बौद्ध, हिन्दु, बोन, जैन, ईशाई, इस्लाम, किरात आदि धर्म भनेको आस्था, विश्वास, सम्प्रदाय हो । जीवनको सही मार्गदर्शन हो, मानवहरु अनेक जीवन पद्धति हो । यी आस्थाहरुको निर्माण भने मानव समाजको उत्पत्ति र चरणबद्ध विकासको क्रमसँगै हुदै आएको हो र मानवहितकैलागी सिर्जना भएका हुन् । जस्तो कि हिन्दु आस्थामा धर्म भनेर प्राणि र ब्रह्माण्ड बीच अविश्रान्त सम्बन्ध कायम भएको त्यो व्यवस्थालाई जनाउछ जस्ले स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र असल जीवन पद्दतीका सुत्रहरु र सही मार्ग आदिलाई सिकाउँछ।

बौद्ध आस्थाले ब्रह्माण्डको नियम, कानुन लगायत सम्पुर्ण प्राणी जगतको मुक्तिको मार्गदर्शन गर्दै अंहिसाबादी शान्तिदुत बुद्धले प्रतिपादित गरेका ज्ञान र शिक्षा–दिक्षालाई धर्ममा समेट्छ । साथै यो आस्था भनेको जातिय भेदभाव नभएको र युग सापेक्ष भई वैज्ञानिकताको आधारमा चल्ने दूरदर्शिता सहितको जीवनदर्शन पनि हो । त्यसैगरी बोन र किरात धर्ममा प्रकृति र मानवको अविश्रान्त सामिप्यता र सम्वन्धको उल्लेख गर्दछ । मानव जीवनको लागि प्रकृतिको अपरिहार्यता जनाउँदछ भनेको सृष्टीको मूल प्रकृतिलाई ठान्दै यसको पुजनतर्फ अभिप्रेरणा जगाउँछ । जैन आस्थाले मानव जातिको नैतिक उत्थान तथा शुद्धीकरण र ज्ञान प्राप्तिको लागि तिर्थकरले प्रतिपादन गरेका शिक्षा–दिक्षा र उपायहरूको अवलम्वन जनाउँछ । सच्चरित्र अहिंसा र पवित्रता यस्को मुख्यसार हो । यहुदीहरुको धार्मिक ग्रन्थ कैवालाले मानव जातिलाई दया, प्रेम, न्याय, करुणा, परोपकार, दीनदुखी र अशक्तहरुको सेवा र सदाचारी हुने प्रेरणा निर्देशन दिन्छ जुन कुरा जहिले मानवहितको लागि हुन्छ ।

एवम् रीतले ईशाई आस्थामा मानव जातिलाई लोभ मोहमा नपर्ने लगाएत आफूलाई कमजोर दीनहिन ठान्नु नहुने र प्राणि जगतको रक्षालाई आस्थाको मूलसार मान्दछ भने इस्लाम आस्थाले गरिबहरुलाई अनिवार्य दान दिनुपर्ने कुरालाई जोड दिन्छ । नारीको दयनिय स्थान र धार्मिक कट्टरता भने यो आस्थाको कमजोर पक्ष हो । गुरुनानकले प्रवर्तन गरेको शिख आस्थामा गुरु ग्रन्थ साहिव अनुसार अंहिसा सत्कर्म र परोपकारलाई नै मानवजीवनको ओैचित्य मान्दछ । यसरी संसारमा समयको विभिन्न कालखण्डमा विभिन्न प्रवर्तकहरुबाट प्रवर्तन भएका आस्थाहरु अन्ततगोत्व मानव जीवनकै हित, नैतिक विकास र सामाजिक व्यावस्था सुदृढीकरणकै लागी निर्माण गरिएका हुन् । त्यसैले हामीले विचार आस्था र धर्मको बारेमा विवाद लडाइँ र झगडा गरी समाज र समुदायमा विखण्डन निम्त्याउनु हुदैन । कुनै पनि आस्थाप्रति आस्थावान् हुनु मानवको नैसर्गिक अधिकार हो ।

आफ्नो इतिहास तथा पहिचानको खोजी र सुरक्षा त सबैले गर्नुपर्छ । कुनैपनि जात जाति तथा समाज र समुदायले आफ्नो धर्म संस्कार संस्कृति र पहिचान जोगाउने बहानामा जबरजस्ती आस्था र बिचारहरु लाद्नु पनि गलत हो । हामीले हाम्रो केही अत्यन्त रुढी परम्पराहरुलाई यूग र समयसापेक्ष परिस्कार पनि गर्दै लैजानु सक्नुपर्छ र सकेसम्म धर्म र परम्पराको नाममा पशुबलीलाई हटाउदै लानु पर्छ । मानव वाहेकका प्राणिहरुको संवेदनालाई पनि बुझ्नु पर्दछ । यसरीनै क्रमिकरुपले मानव जीवन समाज र समुदाय सुधार र विकास हुदै आएको हो । हामीले प्रकृति, मानव र ब्रम्हाण्ड लगाएत अनेक प्राणीहरुसँगको तादम्यता नमिलाई मानवीय कर्तब्य भुलेर आफ्नो स्वार्थसिद्धी मात्र सोच्यौं भने हाम्रो सभ्यता कुनैपनि समय दुर्घनामा परी सखाप भएर जाँदैन भन्न सकिन्न । मानवले आफ्नो काम, कर्तव्य, ज्ञान, भुलेर प्रकृति र ब्रम्हाण्डको नियमलाई वेवास्ता गरी, स्वार्थ सिद्दीका लागि वैज्ञानिक र समय सापेक्ष हुन नचाहाँदा यो विश्वबाट मैनजोदारोको सभ्यता, माया सभ्यता, सिन्धुघाँटीको सभ्यता, हडप्पाको सभ्यता आदि जस्ता कतिपय समृद्ध सभ्यताहरु पनि नष्ट भएर गएको इतिहासहरु हामीले भुल्न हुँदैन।

अहिले हामी गुरुङ जातिमा धर्म र पहिचानको नाममा कुलधर्म र बौद्धधर्ममा कुनलाई मान्ने भनेर विवाद र अन्यौलता सिर्जना भएको छ । बोन धर्म गुरुङको वास्तविक धर्म हो । बौद्धधर्म गुरुङ जातिमा पछि मात्र प्रभावित र आयातित धर्म हो भन्न थालिएको छ । यसले विखण्डनको सुष्म आभास दिन्छ । यो सोचनीय विषय हो । गुरुङ जातिले मान्दै आएको मूल धर्म वा कुलधर्म र बुद्ध धर्मको बारेमा विभिन्न मतभेद र विचारहरु व्यक्त हुन थालेको छ । सबै धर्म र आस्था उत्पत्तिको आ-आफ्नो इतिहास र आधार त छन् नै ।

सायद धर्मको अर्थलाई नबुझेर पनि यस्तो भएको हुनसक्छ । कुलधर्म भनेर हामी बोन धर्मलाई बुझ्दछौं र बुद्ध धर्म भनेर गौतम बुद्धको ज्ञान र दर्शनमा चल्ने शिक्षा दिक्षा आस्थालाई बुझ्दछौं । तर, यी दुबै आस्थाहरु परन्तुमा मानवहितकै लागी हुन् । यसैले हामीले दुबै आस्था र विश्वासहरुको सम्मान गर्नु पर्दछ । अनुसरण आफ्नो स्ववेच्छा हो । राम्रो कुरा सबै धर्मबाट लिनु पर्दछ । सम्मान सबै धर्म र दर्शनलाई दिनुपर्छ । जसले जुन धर्म प्रति आस्था विश्वास राखे पनि हाम्रो जातिय र सामुदायिक एकतालाई भने भुल्नुहुदैन । त्यसैले धर्मको नाममा हामी विखण्डित हुनुहुदैन किनकी राज्य पक्षद्वारा हामी माथी गरिएको विभेदको विरुद्ध एकता जहिल्यै जरुरी पर्छ । हामी सबैले यो पनि बुझ्नु जरुरी छ की धर्मको नाममा हुने अतिवादीता मानव समाज र समुदायको लागि सदैव घातक सिद्ध हुन्छ । –(इटहरी –६,सुनसरी)

https://www.globalaawaj.com/archives/60534