बुटवल । प्रथम प्रचण्ड थैव स्मृती कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा सिद्धार्थ युवा क्लब विजयी भएको छ । बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तरगत आज शुक्रबारको खेलमा आयोजक सौभाग्य युवा क्लबलाई पराजीत गर्दै फाइनल यात्रा तय गरेको हो ।
सिद्धार्थले आयोजकलाई २-१ गोल अन्तरले पराजीत गर्दै उपाधी भिडन्तमा झरना स्पोर्टिङसँगको भेट पक्का गरेको हो । सिद्धार्थका लागि जर्सी नम्बर ९ का सरोज क्षेत्रीले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी २३ औं मिनेटमा विश्वास थापाले एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।
यसैगरी आयोजक सौभाग्यका लागि खेलको ५४ औं मिनेटमा जर्सी नम्बर ८ का यामु रानाले १ गोल फर्काएपनि जितका लागि प्रयाप्त हुन सकेन । खेलमा सिद्धार्थका जर्सी नम्बर २ लगाउने शंकर राई ५४ औं मिनेटमा रातो कार्ड पाएपछि बाहिरिएका थिए । यसरी १० खेलाडीमा सिमित भएको सिद्धार्थसँग अंक बराबर गर्ने वा अगाडी बढ्ने सौभाग्यले अवसरलाई सदुपयोग गर्न सकेन । खेलमा सिद्धार्थका अनुप थापा म्यान अफ दि म्याच घोषित भएका छन् ।
उपाधिका लागि आगामी आइतबार झरना स्पोर्टिङ युवा क्लब र सिद्धार्थ बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतिक्रिया