ताजा अपडेट »

आदर्श विचार र नेतृत्वको खाँचो

बुधबार, ०१ पुस २०७७

भनिन्छ ‘आदर्श कहिल्यै मर्दैन, त्यो त स्थापित हुन्छ, अनुकरणीय हुन्छ ।’ यदि मर्छ भने भौतिक वस्तुहरुको अस्तित्व मात्रै । यदि आदर्श नै मर्न थालेपछि उदाहरणीय चीज केही नहुने हुन्छ । किनभने यसरी त इतिहास पनि रहने छैन, नाश हुनेछ । यसो त हुनै भएन नि । भयो भने के त ? अकल्पनीय आपत संकट । मेरो बुझाइमा आदर्श दर्शन, भौतिकवादी दार्शनिक स्टेफेन हकिङ्गले भनेजस्तो कृष्ण विवर (Black hole) मा पस्ने वस्तु होइन । यसले ब्ल्याक होललाई पनि जित्नु पर्दछ र आफ्नो अस्तित्व सदैव कायम राख्नुपर्दछ । यसोभन्दा यदि म कतै विज्ञान विरोधी ठहरिन्छु भने पनि सही ।

आफ्नो देश, काल र परिस्थिति अनुसार स्थापित आदर्श अर्को कालखण्डमा अपुग हुन सक्छ तर, शुन्य हुँदैन, त्यसको महत्व झन् बढेर जाछ र विकसित नयाँ सार्वभौम रुप लिएर आउँछ । यसो भनांै कि सकारात्मकहरुको सरंक्षण र प्रवद्र्धन हुँदै जान्छ । सारतः आदर्श भनेको सकारात्मक सोँचहरुको समुच्चय हो भन्दा अतियुक्ति अथवा अतिशयोक्ति नहोला । तर, आजको उपभोक्तावादी समाज आदर्शबाट टाढा भाग्दै छ । सकारात्मकताको एतिहासिक बाट पर नकारात्मक, झुट अश्लिल र षडयन्त्र–भ्रष्टाचार सबैको मार्गदर्शक भएको छ । निजी स्वार्थ नै सबैको लक्ष्य छ । यतिमात्र होइन आदर्शका विरुद्ध खुलेआम वैचारिक युद्धको घोषणा भएको छ । आदर्श मरिसक्यो, यसको औचित्य छैन भन्ने ठूला–बडा विद्वान पनि हाम्रै समाजमा विद्यमान छन्।

यस्तै साँेचमा मान्छे आफ्नो स्वार्थ पूर्तिका लागि जे गर्नपनि तयार छ । मान्छे यति स्वार्थी भइसक्यो कि आफ्नो रगत मात्र होइन आँखा, किड्नी समेत किन्न बेच्न तयार छ । यसका पछाडि कतिपय सामाजिक आर्थिक कारण पनि छन् । मूलतः यी सबै विसंगतिको मूल पूँजीवादी व्यवस्था नै हो । पुँजीवादी समाजले मानवीय नाता, मूल्य नैतिकता संस्कार आदि सबै चिजलाई माल (न्ययमक) को रुपमा परिणत गरिदिएको छ । जुन बिकाउ छन् । हाम्रो श्रम, सीपलाई पूँजीवादी आधुनिक मशिनले विस्थापित बनाइदिएको छ । हाम्रो संस्कार, नैतीकता, संस्कृति क्यासिनो रेस्टरेन्टहरुमा पैसा तिरे कथित परिमार्जित रूपमा पाइन्छ । सूचना प्रविधिको विकास ले सम्पूर्ण विश्वलाई एक ठाउँमा केन्द्रित गरेता पनि दुरुपयोग त्यति नै छ ।

आजसम्म आदर्श पात्रका रूपमा प्रायः राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेकाहरु मध्येबाट लिने गरिएको छ । हाम्रो देशमा यो क्षेत्र झन् गन्हाउँदो अवस्थामा छ । नेपाली राजनीति आज शक्तिको दुरुपयोग तथा समाजमा विसंगति प्रवाह गर्ने मूल बनेको छ । तस्कर, गुण्डाहरु, भ्रष्टाचारीलाई कुनै न कुनै पार्टीको झण्डाको छायाँ छ । यस्तो अवस्थामा नेपाली जनता जर्ज वाशिंगटन, महात्मा गान्धी, नेल्सन मण्डेला तथा भीमसेन थापा, बलभद्र कुँवर र गंगालाल श्रेष्ठ जस्ता आदर्श नेतृत्व पात्रको खोजी गर्दा थाकेर लखतरन परेका छन् । यस्तो सम्भावना १९ दिने जनआन्दोलन तथा जनयुद्धले गराएको थियो । तर, त्यो पनि गर्भमै तुहियो ।

नेपाली समाजलाई एउटा नयाँ परिवर्तन र विकासको साँचोमा हालेर मूर्तरूप दिन सक्ने भनी विश्वास र भरोसायोग्य मानिएका पात्रहरू नायक होइन उल्टो खलनायक पात्रको रूपमा स्थापित हुन सक्ने नकारात्मक सम्भावना हाम्रो अगाडि देखिन्छ । यो नेपाली इतिहासमै दुर्भाग्यपूर्ण स्थिति हुनेछ ।

यसरी हेर्दा हाम्रो नेपाल अहिले निराशा, कुण्ठा, पलायनताको रूपमा विसर्जनरुपी महासागरको छेउमा छ । तुफानी चक्रव्यूहको डरलाग्दो घेराबन्दीमा छ । यो चक्रव्यूहबाट निस्कन त्यागी, कुशल, र विवेकी नेतृत्वको खाँचो छ । यस्तो गुण भएको नेतृत्वले मात्र संकट समाधान गर्न सक्छ । नेपालको नायक, आदर्श त्यही हुनेछ । त्यति मात्र होइन विश्वमै पनि नमूना नायक बन्न सक्छ । आशा छ र गर्नु पनि पर्दछ यस्तो खडेरीको अन्त्य छिट्टै होस् । हामी सबै सतजीवन व्यतीत गर्न चाहनेलाई आदर्श समाजको खाँचो छ ।