ताजा अपडेट »

भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख : एक लाख ४३ हजारको मृत्यु

मंगलबार, ३० मंसिर २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मंगलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७ सय ९ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घन्टाको अवधिमा एक हजार ३ सय ७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको मृत्यु भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताए । -सिन्ह्वा