बुटवल । बुटवलमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगितामा दोस्रो चरणको खेल अन्तरगत आज भएको प्रतियोगितामा शिवनगर युवा क्लब विजयी भएको छ । शिवनगरले ठुटी पिपल युवा क्लबलाई २-० को गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा शिवनगरका जर्सी नम्बर ११ का विकास थापाले दोस्रो हाफको ११ औं मिनेटमा गरेको एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा शिवनगरकै जर्सी नम्बर १० का उमेश बर्तौलाले थप एक गोल गरी जीत सुनिश्चित गराएका थिए । क्वाटर फाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुई तर्फबाट गोल रहित बराबरी भए पनि दोस्रो हापमा शिवनगरका विकास र उमेशले एक/एक गोल गर्दै टिमलाई विजयी बनाउन सफल भएका हुन् ।
प्रतियोगितामा शिवनगरका जर्सी नम्बर २६ का खेलाडी उमेश थापा म्याद अफ दी म्याच घोषित भएका छन् । यसअघि शुक्रबार भएको खेलबाट झरना युवा क्लबले क्वाटर फाइनल प्रतिस्पर्धाका लागि स्थान पक्का गरिसकेको छ । आइतबार हुने प्रतियोगितामा आयोजक युवा क्लब सौभाग्य ‘ए’ र पाल्पाको सराई-११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
प्रतिक्रिया