ताजा अपडेट »

प्रचण्ड थैव नकआउट कप : सौभाग्य र सिद्धार्थ विजयी

विहीबार, २५ मंसिर २०७७

बुटवल । बुटवलमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत विहिबार भएको खेलमा आयोजक सौभाग्य ‘ए’ र सिद्धार्थ युवा क्लब विजयी भएका छन् । पहिलो चरणको खेल अन्तरगत विहिबारको अन्तिम खेलमा आयोजक सौभाग्यले मजुवा युवा क्लबलाई १-० गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । सौभाग्यका सुवास क्षेत्रीले खेलको ३६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बनेको हो ।

यसअघि विहिबार विहान भएको खेलमा सिद्धार्थ युवा क्लबवले चरङ्गे युवा क्लबलाई २-० ले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । सिद्धार्थका लागि विश्वास थापाले खेलको १३ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो गोल १८ औं मिनेटमा गर्दै जीत सुनिश्चित गराएका थिए ।

बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तरगत शुक्रबारदेखि दोस्रो चरणको खेल हुने भएका छन् । दोस्रो चरणको खेल अन्तरगत शुक्रबार दिउसो ३ बजे एक मात्र खेल हुने आयोजकले जनाएको छ । दोस्रो चरणको पहिलो खेलमा आयोजक सौभाग्य ‘बी’ र झरना स्पोर्टस् बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।