अयोध्या थारु सियारी गाउँपालिका, हर्नैया, रुपन्देहीका गाउँपालिका अध्यक्ष हुन् । स्थानीय निर्वाचनमा उनले झिनो मतले श्रेष्ठता हासिल गरेका थिए । सियारी गाउँपालिकाको सर्वाङ्गीर्ण विकासका निम्ति हर समय क्रियाशील अध्यक्ष हुन् अयोध्या थारु । गाउँपालिकाको अध्यक्ष भएपछि उनले आफ्नो समय, ज्ञान, सीप, योग्यता र दक्षतालाई आफ्नै गाउँपालिकाको उन्नति र प्रगतिका निम्ति खर्चिएका छन् । घरका काम र आफ्नो उद्यमलाई परिवारको जिम्मा लगाएर निरन्तर गाउँकै विकासका लागि नीति निर्माण गर्ने, योजना तय गर्ने, कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने, अनुगमन, निगमन गरी जिल्लाकै नमूना गाउँपालिका बनाउन प्रयास गरिरहेका छन् ।
आर्थिक वर्ष २०७७/२०७८ लाई सियारी गाउँपालिकाले स्वास्थ्य वर्षका रुपमा घोषणा गरेको छ । त्यसको नेतृत्व गर्ने अध्यक्ष हुन् अयोध्या थारु । उनलाई आफ्नै जनप्रतिनिधिहरु र स्वास्थ्य तथा प्रशासनिक कर्मचारीहरुले सक्दो सहयोग गर्ने संकल्प गरेका छन् । यस आर्थिक वर्षमा गाउँपालिकाले ६९ लाख र संघीय सरकार एवम् प्रदेश सरकारले समेत आर्थिक सहयोग गरी गाउँका स्थानीयबासिन्दाहरुलाई स्वस्थ राख्न योजना तथा कार्यक्रम तय गरी अग्रसर भएको छ ।
कोभिड–१९ का कारण संसार नै त्राहीमाम भएको बेला सियारी गाउँपालिकाले आफ्ना नागरिकहरुलाई स्वस्थ राख्नका निम्ति तयार पारेको नीतिगत योजना उल्लेखनीय छ भने अब कार्यक्रमलाई कार्यान्वयन गरी उनीहरुको पूर्णस्वस्थताका निम्ति सहभागी गराउनु पर्ने देखिन्छ ।
अध्यक्ष थारुले आफ्नो गाउँपालिकामा जगत् जननी योजनाको ढाँचा तयार गरी कार्यान्वयनको दौरानमा छन् । आठवटा स्थानमा जगत् जननीको ठूला ठूला होर्डिङ्ग बोर्ड टाँग्दैछन् । यो जगत, पृथ्वी नै आमा हुन् । आमाले आफ्ना सन्तानलाई स्वस्थ,शिक्षित र सुखी बनाउन हर प्रयास गर्छिन् । त्यस्तै गाउँपालिकाले समेत आफ्ना गाउँबासी आमाहरुलाई स्वस्थ राख्नका निम्ति जगत् जननी योजना तय गरेका हुन् ।
अध्यक्ष अयोध्या थारु भन्छन् –जगत् जननी कार्यक्रम अन्तर्गत स्थानीय महिलाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ । गर्भवती महिलाहरुको नियमित निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क प्रसुती सेवा, सुत्केरी भएपछि तोकिएको भत्ता उपलब्ध गराउने व्यवस्था, निःशुल्क औषधीहरु, स्वास्थ्य केन्द्रहरुसम्म गर्भवती महिलाहरुलाई पुराउनका लागि एम्बुलेन्स सेवा, निःशुल्क प्रोटिनयुक्त खाद्य सामग्रीहरु र स्वयमसेवकहरुको उचित तरिकाले परिचालन र उपलब्ध गराइने छन् ।
सियारी गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख बुद्धिबहादुर घर्तिका अनुसार सियारीमा महिलाहरुको शैक्षिक एवम् स्वास्थ्य चेतनास्तर कमजोर भएको हुँदा जन्मिने बच्चाहरु प्रायजसो कम तौलको र कुपोषित पाइएकोले गाउँपालिकाले जगत् जननी योजनामार्फत यस्तो योजना ल्याइएको र यो योजनाले महिलाहरुको स्वास्थ्यस्तरमा सक्दो प्रगति हुने छ । स्वस्थ बच्चाहरु जन्मिने छन् र गर्भवती महिला र सुत्केरी आमाहरु सुरक्षित रहने छन् । उनीहरुको स्वास्थ्यको स्तर उकासिने छ ।
गाउँपालिकाले भर्खरमात्र विशेषज्ञ चिकित्सक राखी स्वास्थ्य सेवा दिन थालेको छ । गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुका स्तरोन्नति गरिएका छन् । पाँचवटा स्वास्थ्य चौकी र तीनवटा सामुदायिक स्वास्थ्य एकाई रहेको छन् । स्थानीयहरुलाई स्वास्थ्य सेवा दिनका लागि ६७ जना स्वास्थ्य प्राविधिक एवम् गैरप्राविधिक कर्मचारीहरु छन् । दुईवटा एम्बुलेन्स आफ्नै र दुईवटा स्थानीय संस्थाहरुको सहयोगमा गाउँमै एम्बलेन्सले स्वास्थ्य सेवा दिनरात दिइरहेका छन् ।
संघीय सरकारको आर्थिक सहयोगमा बन्ने १५ शैयाको अस्पतालको दुई महिनापछि शिलान्यास हुँदैछ । नागरिक आरोग्य केन्द्र (आयुवेर्दिक स्वास्थ्य केन्द्र) को स्थापना समेत सो गाउँपालिकामा हुने अध्यक्ष थारुले जानकारी गराए । तीन स्थानमा ल्याव सेवा गाउँपालिकाले नै दिएको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उत्तम तरिकाले परिचालन गरेको छ भने ६० वर्ष उमेर पूरा भएका उनीहरुलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग दिएर हार्दिकतापूर्ण विदाई गर्ने नीति बनाएको छ ।
अध्यक्ष अयोध्या थारु भन्दै थिए- जबसम्म गाउँबासीहरु स्वस्थ हुँदैनन् तबसम्म विकासका जति नारा फलाके पनि कुनै काम हुँदैन । स्वस्थ व्यक्तिले नै स्वस्थ तरिकाले सोच्ने र गतिलो तरिकाले काम गर्ने भएको हुँदा सबै गाउँबासीहरुलाई अधिकतम स्वास्थ्य सेवा दिई निरोगी र दीर्घजीवि गराउन प्रयत्न गरिरहेका छौं ।
प्रतिक्रिया