म यो लेख्न बस्दा सोचिरहेको छु देश र युवाबीच कति लामो दूरी छ ? हामी भविष्यका कर्णदार वर्तमानका साझेदार भनिएका युवा किन आफ्ना पहुँच विस्तार गर्न नसकेका हौंला ? देशको शासन सत्ताको नेतृत्व गर्न किन नसकेका हौंला ? हाम्रो बाबु उमेरका मानिसहरु साठी वर्ष काट्दा काँधमा युवाको फुली लगाएर नेतृत्वमा अभिसप्त देख्दा के हामीलाई अपहेलित भएको महसुस् हुँदैन र ? हामी युवा कसैको भोटका गन्ती मात्रै हौ ! मलाई थाहा छैन, कुन युवाको परिभाषा भित्र को पर्ने हो ? हामी अभिसप्त छौ, युवाको नामको नेतृत्वसँग एक होइन पटकपटक हामीलाई हाम्रो बाबुआमाका उमेरहरुले आश्वासन दिई रहे सुशासन र पारदर्शिताको ।
एकपटक होइन पटकपटक सुशासनका खातिर देश विकासका खातिर हामी विश्वास गरिह्यौं, हामीभन्दा पाको पुस्तालाई । हामी सबैलाई थाहा छ-भ्रष्टाचार गलत बाटोबाट गरिने आम्दानी हो । भ्रष्टाचार गर्नेहरुबाट सुशासन र पारदर्शिताको कल्पना नगरेपनि हुन्छ । हामीलाई लाग्छ-भ्रष्टाचार बढी कमाउने ईच्छाले भएको छ । कानूनको कार्यान्वयन नहुँदा भईरहेको छ । हामीलाई कहिल्यै लाग्दैन कि भ्रष्टाचार जवाफदेहीता खोज्ने मानिसहरुको कमीको कारणले भइरहेको छ । हामी एकपटक होइन पटकपटक जवाफ दिन बाध्य बनाउँछौ भने पक्कै त्यो व्यक्तिमा कानूनको र समाजको भयभन्दा ठूलो भय उत्पन्न हुन्छ, जवाफदेहिताको अनि जिम्मेवारीको । आउनुहोस् भ्रष्टाचारी विरुद्ध कानूनले डण्डा कस्नुभन्दा भ्रष्टाचार हुन नदिन हाम्रा प्रश्नले डण्डा लगाऔँ ।
भनिन्छ-देशको सक्रिय जनशक्तिको रुपमा युवा रहेको हुन्छ । युवासँग देश बदल्ने तागत रहेको हुन्छ । के हामीसँग भ्रष्टाचार रोक्न सक्ने तागत छ ? अवश्य छ । सुशासन जवाफदेहीता कायम गर्नुपर्दैन ? तपाई हामीले एउटा मात्रै प्रश्न गर्नुपर्दछ । तपाई के गदै हुनुहुन्छ ? के तपाईले गरेको कार्य पारदर्शी छन् । के तपाई हिसाब देखाउन सक्नुहुन्छ ? हाम्रा छिमेकमा रहेका सरकारी अधिकारी जनप्रतिनिधि, राजनीतिज्ञलाई प्रश्न सोध्न न छोडौं । भ्रष्टाचार नियन्त्रणका लागि तपाई हाम्रो पहल जिम्मेवारी महत्वपूर्ण हुन्छ । हाम्रो कानूनमा स्पष्ट व्यवस्था छ हरेक सरकारी तथा गैरसरकारी निकायले प्रत्येक ३ महिनामा आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुपर्छ । त्योभन्दा अगाडि कोही कसैलाई सूचना चाहिएमा कार्यालय प्रमुखलाई आफूलाई चहिएको सूचनाको विवरण समेटिएको निवेदन लेखेर दिएमा कार्यालय प्रमुखले सूचना उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
कार्यालय प्रमुखले सूचना नदिए सूचना आयोगसँग जान समेत सकिन्छ । पारदर्शिताका र जवाफदेहिताका बारेमा आम नागरिकलाई सहजीकरण गर्न प्रत्येक कार्यालयमा सूचना अधिकारी तोकिएको हुन्छ । जसको काम आम नागरिकलाई सूचना दिने हुन्छ । यो आमनागरिकलाई आफूसँग जोडिएका कार्यालयलाई सहज र पारदर्शी बनाउन सरकारले गरेको अनुरोधका रुपमा यो व्यवस्थालाई बुझ्न सकिन्छ । भ्रष्टाचार हुनु भनेको अपारदर्शीता हो । टोल छिमेकका कार्यालयलाई जवाफदेहि बनाउने जिम्मेवारी तपाई हामी सबैको हो । सामान्यतया आर्थिक अपचलन गरेर गरिने अनियमिता थाहा पाउन सजिलो हुन्छ तर पछिल्लो समयमा भ्रष्टाचारलाई वैधानिक बनाउने प्रयास हुन थालेका छन् । यो सुशासन चाहनेहरुका निम्ति चुनौतीको विषय हो । हाम्रो खवरदारीको दायरा जतिसुुकै फराकिलो बनाए पनि नीतिगत भ्रष्टाचार रोक्न निकै कठिनाई छ । आम युवाले भ्रष्टाचारका विषयहरुप्रति सचेत बन्दै खबरदारी गर्नुपर्ने जरुरी छ ।
युवालाई सुशासनका निम्ति खवरदारी गर्न त्यति सजिलो छैन । पारदर्शीताको कुरा गर्दा तिमीहरुलाई किन चाहिन्छ र मानसिक दवाव दिनेसम्मका हर्कत हुने गरेका छन् । यो देशको युवा हुनुको नाताले भ्रष्टाचार र सुशासनका पक्षमा उभिन मेरो अहम् दायित्व हुन आउँछ । लामो समयदेखि सञ्चारकर्ममा रहेकाले स्थानीय स्तरको सूचनामा पहुँच राम्रो हुन्छ । सूचना लिनका लागि भनेजस्तो सजिलौ छैन । रुपन्देही जिल्लाको एक स्थानीय तहमा रातोकार्ड भएका अपाङ्गगता भएका व्यक्तिले सामाजिक सुरक्षाभत्ता नपाएको सन्दर्भमा सूचना माग्न जाँदा जनप्रतिनिधिले भनेको सम्झिन्छु –बिचरा ! आँखा देख्न नसक्नु हुँदो रहेछ । यो एकहजार लिएर जानुहोस् । मैले दिएको सूचना हजुरले पढ्न सक्ने होइन क्यारे । त्यसैले तपाईलाई किन चाहियो सूचना ? सरकारी निकायमा मात्र होईन गैरसरकारी निकायमा पनि सूचना माग्न सजिलो छैन ।
रुपन्देहीमा बालबालिकाका लागि काम गर्ने गैरसरकारी संस्थामा गएर सूचना माग्दा मैले मात्र होइन मेरो परिवारका सदस्यले पनि मानसिक तनाव भोग्न पर्याे । हामीलाई सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा बोल्ने हक छैन जस्तो लाग्दछ । अपाङ्गता र दलित महिला पछाडि पारिएका वर्गलाई आएको वजेट होस् वा कुनैपनि कार्यक्रम चाहे सरकारी होस् वा गैरसरकारी संस्था कसैको प्राथमिकतामा पर्दैनन् । त्यसका कारण छन्-उनीहरु जवाफ माग्न सक्दैनन् । म यस्तो देशको युवाहुँदा जहाँ भ्रष्टाचारकाबारे लेख्दा अपाङ्गतासँग जोडिएर टिप्पणी गरिन्छ । म यस्ता देशको युवाहरु जहाँ युवा लक्षित बजेट र कार्यक्रम युवाका निम्ति होईन अरु कुने कुरामा खर्च गरिन्छ, उपयोग गरिन्छ । हामी थोरै मात्र हौंला । जो भ्रष्टाचार भनेर बोल्ने सामथ्र्य राख्छौ । हामीलाई हाम्रो राज्यले भ्रष्टाचार विरुद्ध बोल्न होइन, आफनो भविष्य र परिवारको चिन्ता गर्न बाध्य गरायो । हामी यो विवश छौँ । आफ्नै अगाडि हुने भ्रष्टाचारलाई सहन ।
हामीलाई छिटो काम चाहिएको छ । चाहे मालपोतमा चाहे राहादानीमा चाहे यातयातमा हामीलाई अतिरिक्त पैसा दिएर आफनो समयको बचत गर्नु छ र त उनीहरु हामीलाई एकपटक होइन पटकपटक आफ्ना अकूत आम्दानीको स्रोत बनाइरहेका छन् । कहिलेकाँही लाग्दछ–हामी यसैगरि कहिलेसम्म सहुँला देशका बलिया मानिने युवा भ्रष्टाचार र सुशासनका सन्दर्भमा निरिह बनी रहनु पर्ने परिस्थतिको अन्त्य कहिले हुने होला ? हामी सहि सूचनाको अभावले आँखा चिम्लिरहेका त छैनौं । कहिलेकाँही लाग्दछ युवापिढी भ्रष्टाचार र अनियमितका पक्षमा सानै संख्याले केही न केही पक्कै प्रभाव परेको छ । प्रविधिको युगसँग युवाहरुमा भ्रष्टाचार विरुद्धका चेतना बद्दै गएको सत्यलाई नकार्न सकिन्न ।
दिनहुँ सार्वजनिक रङ्गेहात पक्राउ परेका भ्रष्टाचारीहरु प्रविधिको प्रयोग गरेर आफ्नो कर्तुत बाहिर ल्याउने युवालाई कति सराप्दा हुन् ? तपाई हामी कल्पना मात्र गर्नु सक्छौं । डिजीटल युगले नै सजिलो बनाएको छ भ्रष्टाचारीविरुद्ध नागरिक खवरदारी गर्न । अहिलेका युवा सुशासनका पक्षमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुले आगामी समयमा युवाहरु भ्रष्टाचारप्रति निर्मम हुन्छन् भन्ने आशा जगाएको छ । नेपालको सर्दभमा केही युवा समुहले भ्रष्टाचार विरुद्ध आम युवाको प्रतिनिधित्व गरिरहेका छन् । युवाहरु भ्रष्टाचार विरुद्धमा सक्रिय छन् र नियन्त्रणका लागि समेत सक्षम छन् । हामी युवाहरु देशका होनाहार र भविष्यका कर्णधारमात्र होइन वर्तमानको खबरदारी गर्ने हैसियत भएका सचेत नागरिक हौं ।
प्रतिक्रिया