ताजा अपडेट »

प्रशिक्षक बन्ने रहर बुनेका नन्दकुमार

मंगलबार, २३ मंसिर २०७७


नन्दकुमार चौधरीको उमेर ३० वर्ष पुग्यो । उनले पार्वतीसँग विहे गरेको नौं वर्ष पूरा भयो । सन्तान अहिलेसम्म भएका छैनन् । नन्दकुमार र पार्वती आमा बाबासँग घरबाट छुट्टिएर बसेका छन् । उनीहरुको घर लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने सियारी गाउँपालिका वडा नं. ३ हर्नैया गाउँमा पर्छ ।

युनेस्कोको आर्थिक सहयोग एवम् सियारी गाउँपालिका र केपीन, रुपन्देहीको संयोजनमा सञ्चालित तीनसय ९० घण्टे तालिममा उनले हाते कढाई सम्बन्धी तालिम लिए । कोरोनाका कारण रोजगार गुमेका वा भएको व्यवसायमा समस्यामा परेकाहरुका निम्ति सञ्चालित उक्त सीपमूलक प्राविधिक तालिम लिन पाउँदा नन्दकुमार खुसी देखिन्थे ।

तीन वर्ष अघि पार्वती कस्मेटिक एण्ड टेलरिङ्ग सेन्टर खोलेकी थिइन् पार्वतीले अर्थात् नन्दकुमारकी श्रीमतीले । श्रीमानलाई टेलरिङ्गको जिम्मा दिएकी थिइन् भने आफूले कस्मेटिक पसल हेरिन । नन्दकुमारले सियारी गाउँपालिकाले दिएको सिलाइ कटाई तालिम र फेसन डिजाइन तालिम लिएर टेलरिङ्ग पेसालाई अघि बढाउँदै आएका छन् । कोभिड–१९ को कारण उनको पेसामा केही धक्का लाग्यो । आम्दानी घट्दै गयो । सो रोगको व्यापकताका कारण ग्राहकहरु आउन कम हुँदै गए । त्यही बेला खुलेको हाते कढाई सम्बन्धी तालिम लिने अवसर पाए नन्दकुमारले । उनीसँगै नौंजना महिलाहरुले उक्त तालिम लिएका हुन् ।

तीनसय ९० घण्टे तालिममा उनले चेन स्टीच, ऐना स्टीच, स्टोन वर्क, फ्रेन्चनट वर्क लगायका कढाईका प्रारम्भिक सीप सिकेका छन् । उनले १५ किमिसका स्टीच एवम वर्कहरु सजिलै सिकेका हुन् । हाते कढाईका लागि कपडा,धागो, सितारा, सियो, पेन्सिल, कटर, इरेजर लगायतका सामानहरु आवश्यक पर्ने उनले सुनाए । आधुनिक मेसीनबाट कढाईको तालिम र मेसीन किन्ने उनको सपना छ । साथै गाउँपालिकाले कढाई सम्बन्धी थप एड्भान्स तालिम दिए जाती हुने जिज्ञासा व्यक्त गरेका छन् ।

गाउँको बेरोजगारी समस्या कम गर्न र आयमूखी काममा गाउँले युवाहरुलाई सक्रिय बनाउन पहल गर्ने योजना बनाएका छन् नन्दकुमारले । भविष्यमा कढाई तालिमको प्रशिक्षक बनेर जीविकोपार्जनको बाटो फराकिलो बनाउने सपना बुनेका छन् । यतिबेला यो उनको रहर र आम्दानी गर्ने उद्यमको रुपमा विकास विकास हुँदैछ ।

टेलरिङ्गका साथै हाते कढाईलाई जीवनोपयोगी सीपसँगै जोडेर अघि बढ्ने योजना बुनेका नन्दकुमार चौधरीले हर्नैया चोकमा नै आफ्नो पार्वती कमस्मेटिक एवम् टेलरिङ्ग सेन्टर सञ्चालन गर्दै आएका छन् ।

पार्वती र नन्दकुमारले एकलाख ५० हजार रुपैयाँको लगानीमा आफ्नो उद्यम सञ्चालन गरेका थिए । एक लाख रुपैयाँ आफूहरुसँगै थियो भने ५० हजार रुपैयाँ कर्जा लिएका थिए । उद्यम सञ्चालन गरेको दुई महिनामा मै उनीहरुले लिएको कर्जा तिरे । अहिले महिनामा सिलाई कटाई गरेर पँचास हजार आम्दानी हुने गर्छ । सबै खर्च कटाएर महिनामा २० हजार जोगिने नन्दकुमारले बताए ।

आम्दानीबाट वचत भएको पैसा बैंकमा राखेका छन् । घरधन्दा, औषधी उपचारमा खर्चिएका छन् । घरमा बाबा आमालाई घरखर्च गर्न पठाइ दिएका छन् । थप मेसीन किन्ने रहर गरेका नन्दकुमार चौधरीले दिनरात आफ्नो ज्ञान, सीप र क्षमता आफ्नै खुवीको उद्यममा लगानी गरेका छन् । हाते कढाई तालिमबाट उनी अत्यन्तै उत्साहित भएका छन् । प्राप्त गरेको तालिमको प्रमाण–पत्रलाई सही ठाउँमा प्रयोग गरी उद्यमशील बन्ने दृढ प्रतिज्ञा गरेका छन् । उनको सीपलाई सम्मान गरौं र उनको प्रशिक्षक बन्ने सपना पूरा होस् कामना गरौं ।

https://www.globalaawaj.com/archives/67715