ताजा अपडेट »

'व्यवस्था फेरियो, नाकाबासीको समस्या उस्तै'

सोमबार, २२ मंसिर २०७७
1 Shares

दाङ । मुलुकको राजनीति फेरियो, नेतृत्व गर्ने व्यक्तिहरु फेरिए, जनताको जनजीविका फेरियो, रहनसहनको शैली फेरियो तर लुम्बिनी प्रदेशको स्थायी मुकाम तोकिएको देउखुरीका नाकाबासीको समस्या उस्तै छ । उनीहरुको न राजनीतिक रुपमा रुपान्तरण हुन सकेको छ, न उनीहरुलाई विशेष आरक्षण राज्यले दिएको छ । न त मुलुकको संघात्मक लोकनतान्त्रिक संविधानले दिएको गास, बास कपास, स्वास्थ्य, शिक्षाको अधिकारको अनुभूति नाकाबासीलाई छ ।

विभिन्न समस्या झल्दै आएका दाङका नाकाबासीका बालबालिकाहरुले खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । जिल्लाको राजपुर गाउँपालिका वडा नम्वर– ७, भैंसाही नाकामा रहेका दुईवटा सामुदायिक विद्यालयमा कक्षा कोठाको अभावमा बालबालिकाहरु खल्ला आकाश मुनि बसेर पढ्न बाध्य भएका छन् । राज्यले बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको सुनिश्चित गरेपनि पठनपाठनको उचित वातावरण नहुँदा शिक्षा प्राप्त गर्न नाकाबासीका बालबालिकालाई समस्या भएको छ ।

विद्यालयमा प्रर्याप्त भौतिक संरचना नहुदा त्यस क्षेत्रका बालबालिकाहरुले हिउँदमा खुल्ला आकाश मुनि बसेर पढन् बाध्य भएका छन् भने बर्षातको समयमा एउटै कक्षामा धेरै विद्यार्थीहरु बसेर पढ्न बाध्य छन् । स्थानियका अनुसार गौरीशंकर माध्यमिक विद्यालको तीनवटा कक्षाकोठाहरु भत्किएपछि विद्यार्थीहरुलाई अहिले पठनपाठनमा समस्या भएको छ । दुई सय ५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा कक्षाकोठा नहुँदा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउनुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानाध्यापक टंकबहादुर विकले बताए ।

बर्षातको समयमा बहुकक्षा र अन्य समयमा विद्यार्थीहरुलाई खुल्ला आकाश मुनि बसालेर पढाउन बाध्य भएको उनको भनाई छ । भौगोलिक रुपमा विकट रहेको भैंसाहीमा रहेको उक्त विद्यालयमा भैंसाही, मनोहरा, खिड्की, सिमजगमरी, नेउपाने, पालानगौरी, गाईखुटी, उत्तरखुटी लगाएतका गाउँबस्तीबाट बालबालिका पढ्न आउने गरेका छन् ।

यसप्रति सम्वन्धित निकाय ध्यान नदिएको उनको गुनासो छ । आफूहरुले विगत देखी नै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उनले दुखेसो गर्छन् । साथै विद्यालयमा शिक्षक दरबन्दीको समेत अभाव भएको छ । जसले गर्दा निजी स्रोतका शिक्षकहरुसँगै निम्न माध्यमिक तहका शिक्षकहरुले पठनपाठन गर्दै आएका छन् ।

जनप्रिय विद्यालयमा पनि समस्या

यस्तैगरी सोहि क्षेत्रमा रहेको जनप्रिय प्राथमिक विद्यालय सिमगजमेरीको भवन जिर्ण बन्दै गएको छ । ५ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा ८५ जना विद्यार्थीहरुले अध्ययन गरेका छन् । विद्यालयको भवन जिर्ण बन्दै गएको छ भने फर्निचरको पनि अभाव छ । त्यस्तैगरी खानेपानी, शौचालयको उचित व्यवस्था हुन नसकेको विद्यालयले बताएको छ ।

विद्यालयमा कार्यालय सहयोगी बाहेक चार जना निजी स्रोतका शिक्षकहरुद्वारा पठनपाठन भईरहेको विद्यालयका प्रधानाध्यापक शशिराम विकले बताए । विद्यालयमा भरपर्दो झ्याल ढोकाको व्यवस्था नहुँदा विद्यालयका महत्वपूर्ण कागजातहरु सुरक्षाका लागि झोलामा राखेर घर लग्नुपर्ने बाध्यता रहेको उनले बताए। विद्यालयमा सिमजगमरी, नेउपाने, पालानगौरी, गाईखुटी, उत्तरखुटीलगायतका बस्तीबाट बालबालिकाहरु पढ्न आउने गरेका छन् ।