ताजा अपडेट »

बाल्यकालका खेल र अपाङ्गता जीवन

आइतबार, २१ मंसिर २०७७

म जुन समाजमा उभिएकि छु, त्यो समाजलाई नियालेर हेर्दा लाग्छ, यो कति बृहत छ । संसारका हरेक मान्छेसँग अलग-अलग जीवन छ र जीवनका फरक-फरक परिभाषा । कहिलेकाहिं लाग्छ सबै मान्छे एकै भईदिएको भए यो संसार कति रमाइलो हुँदो हो ! म जुन समाजलाई जाने,जुन समाजमा हुर्किएँ, त्यहि समाजले कत्ति सिकाउँदो रहेछ । कति कुरा भोग्न विवस बनाउँदो रहेछ । कहिलेकाँही आफ्नो बाल्यकाललाई फर्केर हेर्छु सम्झिन्छु एकखुट्टे खेलेको, सम्झिन्छु घोडा खेलेको, दुबै आँखा बन्द गरेर साथी छुने र घैंटो फोरमा रमाएको ।

ती खेलहरु खेल्दा लाग्थ्यो, एक खुट्टा भएका, घिस्रिएर हिड्नुपर्ने बाध्यता भएका, आँखा बन्द भएका मान्छे कोहि छैनन्, सबै मानिस म जस्तै सक्षम छन्, दाौडिन, देख्न र कुरा गर्न सक्छन्, शारीरिक रुपमा कमजोर भएका व्यक्ति संसारमै कोही छैनन् होला । तर, अचेल लाग्छ, जीवन कमजोरीहरुको संगालो नै रहेछ ।

ध्रुर्वसत्य कुरा के हो भने हामी कोहीपनि कमजोरीरहित छैनौं, जीवन भोगाइका क्रममा सबैसँग एउटा न एउटा कमजोरी हुन्छ । कतिपय अवस्थामा जीवन भोग्ने कुरामा आफ्नो कमजोरी आफ्नै लागि प्रतिउत्पादक बन्नेपनि गर्दछ । शरीरको कुनै अंग नचल्दैमा वा अंगले काम नगर्दैमा जीवननै सकिन्छ भन्ने कुरा गलत सावित गर्ने संसारमा धेरै उदाहरणहरु छन् । हेलेन क्लेयर, स्टेफन हकिन, पारिजात, झमककुमारी जसले आफ्नो असहजताका बीच पनि तपाई हामीलाई प्रेरणाको स्रोत हुनेगरी संघर्ष गरे । तिनै संघर्ष गर्नेहरुका दिनचर्या कस्ता हुन्छन्, उनीहरुले आफ्ना सबै काम गर्न के दोस्रो व्यक्तिलाई नै रोज्छन् त ?

सरकारले निर्धारण गरेका १० प्रकारका अपाङ्गता भएकाहरु मध्ये केही अपाङ्गता भएका व्यक्तिहरुसँग मैले पनि संगत गरेकी छु । जसले उनीहरुको दिनचर्यालाई नजिकबाट चिन्ने अवसर दियो । दृष्टिबिहिन भएका ब्यक्तिहरु जसले आफ्नो काम आफै गरेका छन् । एउटा व्यवस्थित परिवार बनाएका छन् । बाहिरी आँखाले नदेखेपनि मनको आँखाले आफ्नो सन्तानका सपना देखेका छन् । मैले यस्ता ह्वीलचियर प्रयोगकर्ता पनि देखेकि छु, तपाई हाम्रा बेवास्ताका बीचपनि उकालो-ओरालो गरेर जोखिम मोलेर आफ्नो जीविकोपार्जन गरेका छन् । उनीहरुले भनेको एउटै कुरा सम्झना गर्न मन लाग्यो,हामीलाई हौसला र प्रेरणा दिने हो भने हाम्रो दैनिक जीवनलाई ब्यवस्थित बनाउन सक्छौं ।

जब एकाविहानै म भन्दा कैयौं उर्जा बोकेर हिंडेको एक दृष्टिविहिन सहकर्मीलाई देख्छु घैंटो फोडमा आंखा बन्द गरिएको समय र त्यस बीचमा मलाई भएको छट्पटि सम्झन्छु । सोँच्छु,पहिल्यै महिले त्यहिबेला यो संसारमा आँखा नहुने मान्छे हुन्छन् भन्ने किन थाहा पाउन सकिन ? जब सडकमा हिड्छु मलाई सडकका भिडभाडहरु र पर्खिनपर्ने परिस्थितीहरु कति दिक्दार लाग्छ , मलाई हतार हुन्छ भने ह्विलचियरमा सकि-नसकी गुडिरहेको अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने सोंच किन आउदैन ? कहिलेकाँही धिक्कार्छु आफैले आफूलाई आफू सक्षम छु, भन्ने म किन भावना बुझ्न सक्दिन ? मभन्दा बढी उर्जा बोकेर आउने मेरा दृष्टिबिहिन सहकर्मीलाई मेरो मनले किन बिचरा भन्छ , सडकमा ह्वीलचियर प्रयोग गर्दै गरेको ब्यक्तिलाई २, ४ पैसा दिन मन किन लाग्छ ?

म अहिले महशुस गरीरहेकी छु,सानैमा खेलेका खेलहरुबाट म किन सिक्न सकिन ? तपाई हामीले जीवन जे सोंचिरहेका छौं के उनीहरुले पनि त्यहि सोंँचेका हुंदैनन् र ? कुनै आँखा नदेख्ने मानिसले आफ्नो जीवनको सपना के नदेखेको हुंदो हो ? हात खुट्टा कमजोर भएका मानिसको के गन्तब्य नै हुंदैन होला ? के बोल्न नसक्ने मानिसको आवाज नै हुदैन होला ? यी मेरा अहिलेका मनमनका प्रश्न हुन् । लाग्छ म दृष्टिविहिन भैदिएको भए मलाई हेर्ने दृष्टिकोणले कत्ति भक्कानिन्थें होला ,यदि म ह्वीलचियरमा हिड्ने भैदिएको भए बिचरा शब्दले कत्तिपटक मेरो मन दुख्दो हो , म बोल्न नसक्ने भएको भए कत्तिपटक ननिस्किने आवाजको साहाराले छुर्लुप्प भिज्थेंहोला र यती भन्दाभन्दै पनि यो भन्न मन छ,जीवन कसैको अजम्बरी छैन जुनसुकै बेला जस्तोसुकै अपा∙ताले पनि हामिलाई भेट्न सक्छ ।

विचार गरौं त्यसवेला सहयोगका नाममा अरुले गर्ने ब्यवहारले कत्ति बिझाउला ? त्यसैले भन्छु घैंटो फोडाई, घोडा र एक खुट्टे खेलमा महशुस गरेजस्तै जीवनमा अपाङ्गताको महशुस गरौं । ‘हामी सबै समान हौं ।’ भन्ने बानीको विकास गरौं । आफ्नो शरीरलाई जत्ति माया गर्छौ, अरुको कमजोर भएको शरीरलाई स्वीकार गरौं ।

https://www.globalaawaj.com/archives/48778