ताजा अपडेट »

दाङमा कोरोना संक्रमितको मृत्युदर बढ्दो, कात्तिकमा भन्दा मंसिरमा धेरै

आइतबार, २१ मंसिर २०७७
1 Shares

दाङ । दाङमा पछिल्लो समय कोरोना संक्रमितको मृत्यु हुने दर बढेको छ । सुरुमा कोरोना संक्रमणको दर वृद्धि भएकोमा पछिल्लो समय संक्रमितको मृत्युदरमा वृद्धि भएको एक तथ्याङकले देखाएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङको अनुसार जिल्लाका कोरोना संक्रमित मध्ये हाल सम्म ३९ जनाको निधन भएको छ । शनिबार तुलसीपुरका थप एक कोरोना संक्रमितको कोहलपुरमा निधन भएको थियो । यो संगै शनिवार सम्म जिल्लाका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३९ पुगेको हो ।

जिल्लामा तिन हजार एक सय बढि कोरोना संक्रमित हुँदा ३९ जनाको निधन भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार कोरोना संक्रमण सुुरु भएदेखी हालसम्म सबैभन्दा बढी कात्तिक र मंसीरमा संक्रमितको निधन हुने गरेको छ । गएको कात्तिकमा जिल्लाभर १७ जना संक्रमितको निधन भएको थियो । तर मंसिको तेस्रो साता सम्म १७ जनाको निधन भएको छ । यो तथ्याङकलाई तुलना गर्दा कात्तिकमा भन्दा मंसिरमा निधन हुनेको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ । कोरोना संक्रमण सुरु भएयता सवैभन्दा पहिले घोराहीका एक पुरुषको गएको जेठमा भारतमा निधन भएको थियो । तर उनको शवलाई नेपाल ल्याएर कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी असारमा एक जना, भदौमा एक जना र असोजमा तिन जना संक्रमितको निधन भएको केन्द्रले जानकारी दिएको छ । जिल्लाका दुई उपमहानगरपालिका मध्ये तुलसीपुरका धेरै संक्रमितको निधन भएको छ । तुलसीपुरका संक्रमित मध्ये हाल सम्म १८ जनाको निधन भएको छ । यस्तै घोराहीका १५ जना, लमही नगरपालिकाका ३ जना र राप्ती गाउँपालिकाका ३ जना संक्रमितको निधन भएको हो । यता तुलसीपुरमा पनि कात्तिक र मंसीरमा धेरै संक्रमितको निधन हुने गरेको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनका अनुसार गएको भदौमा एक, असोजमा २, कात्तिकमा ७ र मंसीरमा ८ जना संक्रमितको निधन भएको छ । यी मध्ये अधिकांशको बाँकेमा उपचारकै निधन हुने गरेको छ ।

कोरोना संक्रमित पुर्व शिक्षकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका– १८ बस्ने ७३ बर्षिय ओपबहादुर डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको तुलसीपुर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनीमा निमोनिया र दिर्घरोगीको समस्या रहेको थियो ।कोरोना आसंकामा गएको आईतबार कोरोना परिक्षण गराउदा संक्रमण पुष्टि भएको थियो । उनी अमर मा.वि.उरहरीका पुर्व प्रअ तथा महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरका पुर्व शिक्षक समेत हुन ।

लुम्बिनी प्रदेशमा ६३ जना आईसीयूमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३५७ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ३१२ जना आईसीयूमा र ४५ को भेन्टिलेटरमा उपचार भइरहेको छ । आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । त्यहाँ मात्र १ सय १२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३० जना आईसीयूमा र ६ जनाकव भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश २ मा १० जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा ८० आईसीयूमा र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

पछिल्लो समय तुलसीपुरका कोरोना संक्रमितको निधन हुने क्रम बढेको भन्दै सचेत रहन स्वास्थ्यकर्मीले सवैमा आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ फोकल पर्सन बिमल केसीले कोरोना संक्रमणको जोखिमसँगै मृत्यु हुने क्रम बढेकाले सचेत रहन सवैमा आग्रह गरेका छन् । विशेषगरी दिर्घरोगि, ज्येष्ठ नागरिक, तथा प्रतिरक्षा शक्ति कम भएका व्यक्तिहरुले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन उनले अपिल गरेका छन् ।

साथै उनले मास्क अनिवार्य लगाउनु पर्ने, भौतिक तथा सामाजिक दुरी र सरसफाईमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । यस्तैगरी चिसो ,धुलो धुवाँ वाट बच्न पनि आग्रह गरिएको छ । कोरोनाको शंकास्पद लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परिक्षण गरि समयमा नै स्वास्थ्य कर्मी तथा चिकित्सकको सम्पर्कमा आउन पनि उनले सवैमा आग्रह गरेका छन् ।