वैशाख ६,
बुटवल । तिनाउ नदीको किनारमा केही दिनयता चहलपहल बढेको छ । नेपाली सेना र प्रहरी मुहारमा उल्लास बोक्दै सरसफाईमा जुटिरहेका छन् । नौलो खालको प्रवेशद्वार बनेको छ । विशेष आकर्षक मञ्च तयार हुँदै छ । स्थानीय जनप्रतिनिधि अहोरात्र तयारीमा खटिरहेका छन् । भव्य पूर्ण कदको मूर्ति निर्माण गरिएको छ । विशाल राष्ट्रिय झण्डा पनि तयार भएको छ । सधँै फोहरको डङ्गुरले कुरुप यो ठाउँ दुलहीजस्तै सिंगारिएको छ । छेउछाउंमा युद्ध सङ्ग्रहालय, सूचना केन्द्र लगायतका संरचना बनाउने तयारी भएको छ ।
यो बुटवल उपमहानगरपालिका १ जीतगढीको कुरा हो जहाँ २०४ बर्षअघि नेपाल—अङ्ग्रेज युद्धमा नेपाली सेनाले अङ्ग्रेज सेनालाई हराएको थियो । अङ्ग्रेज सेनालाई हराएको दिन वैशाख ७ को सम्झनामा शनिबार यहाँ विशेष कार्यक्रम गरिँदै छ । २०४ वर्षयता यो दोस्रो विजय उत्सव हुनेछ ।
गत वर्षदेखि प्रदेश ५ को राष्ट्रिय पर्वका रुपमा जीतगढी विजय उत्सव मनाउन थालिएको हो । उक्त दिन यहाँ सार्वजनिक विदा दिइने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यस पटक व्यवस्थित, ऐतिहासिक सम्पदाका संरचना निर्माण र पूर्ण तयारीका साथ विजय उत्सव हुने बताउनुभयो ।
बुटवल उपमहानगरद्वारा विशाल राष्ट्रिय झण्डा र त्यो बेला युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरिएको छ । झण्डाको उचाई ४२ फिटको छ ।नौ फिट उचाईको उजीरसिंहको सालिक अङ्ग्रेज फौज हारेर फर्केको दिशा दक्षिणतर्फ फर्काएर राखिएको छ । राष्ट्रिय झण्डा सालिकको छेउमा फहराइने छ । सालिकको बाहिरी भाग जितगढी किल्लामा रहेका ऐतिहासिक,पुराना ईंटा जस्तै आवरण झल्किने रङकोे छ ।
झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईंको बेसमेन्ट कङ्क्रिटबाट बनेको छ । दुवै संरचना ४४ लाख ५२ हजार रुपिया“मा निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिले बनाएको हो । ती संरचना अहिले ढाकेर राखिएको छ । शनिबार विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ती संरचनाको अनावरण गरिने कार्यक्रम छ ।
विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइराला लगायतका नेता सहभागी हुनुहुने उपमहानगर प्रमुख सुवेदीले जानकारी दिनुभयो ।नेपाल अङ्ग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले त्यतिबेलाकै युद्ध सामग्री र पोशाक प्रदर्शनसहित युद्ध कौशल प्रदर्शन गर्नेछ । विजय उत्सव मनाउन युद्धसँग सम्बन्धित विशेष झाँकीसहित ¥याली पनि निकालिनेछ ।
ऐतिहासिक महत्व
युद्ध इतिहासमा बुटवलको जीतगढी किल्लाको ऐतिहासिक महत्व छ । विक्रम सम्वत् १८७१ अर्थात सन् १८१४ मा नेपाल र अङ्ग्रेज सेनाबीच युद्ध भएको थियो । पाल्पा राज्यका कर्णेल उजीरसिंह थापा नेतृत्वको सेनाले बुटवलको जीतगढी किल्लालाई रणभूमि बनाएर झण्डै तीन महिना लडेको थियो ।
अङ्ग्रेज सेना यो गढीबाट हार खाएर फर्किन बाध्य भयो । यो जीतले नेपाल स्वाधीन हुन सकेको हो ।
युद्धका बेला बनाइएको २०५ फिट लामो र आठ फिट चौडाको ऐतिहासिक जीतगढी किल्ला छ । गढी किल्लाको नुवाकोट र फूलबारी जोडिएको सुरुङ छ । यसअघिसम्म युद्धको नेतृत्व गरेका उजीरसिंह थापाको अर्धकदको सालिक थियो । २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको उत्तरतर्फ पुरिएको पर्खालको पेटी भेटिएको थियो ।
बन्दै गुरुयोजना
जीतगढीलाई संरक्षण गर्दै यहाँ पर्यटन प्रवद्र्धन गर्ने काम सुरु भएको छ । बुटवल उपमहानगरले जीतगढी संरक्षणको प्रारम्भिक गुरुयोजना बनाएको छ । त्यसमा जीतगढीलाई मणिमुकुन्द सेन (फूलबारी), नुवाकोट गढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिल पार्कसम्म जोडिएको छ ।
विगतमा पटक पटक संरक्षणका लागि छुट्याइएको बजेट फ्रिज भएको थियो । अहिले जितगढीको संरक्षण र विकासका लागि तीन तहकै सरकारले बजेट विनियोजन गरेका छन् ।
हटाइँदै अतिक्रमण
ऐतिहासिक सम्पदा भए पनि जितगढी क्षेत्र अतिक्रमणको शिकार भएको छ । वरपर अतिक्रमण गरेर घर, टहरा लगायतका संरचना बनाइएका छन् । यहाँ ३१ घर छन् । बुटवल उपमहानगरले किल्ला क्षेत्रमा अतिक्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाउने योजना बनाएको नगरप्रमुख सुबेदीले बताउनुभयो ।
सुरक्षा बैठक
जीतगढी विजय उत्सवको तयारीले सुरक्षाकर्मी उत्साही छन् । उत्सव सफल पार्न सुरक्षा निकाय सक्रिय छ । नेपाली सेना लगायत सुरक्षा निकाय यो किल्लालाई नेपाली सुरक्षाकर्मीको वीरता ठान्छन् ।
उत्सव सफल पार्न बिहीबार बुटवलमा सुरक्षा बैठक बस्यो । बैठकले उत्सवलाई सफल पार्ने र नेपाली सुरक्षाकर्मीको युद्ध कौशललाई सम्झाउने गरी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।-
दीपक ज्ञवाली /गोरखापत्र अनलाइन
प्रतिक्रिया