ताजा अपडेट »

आर्किपेलागोसको बिमान घरमा खस्यो, ६ जनाको मृत्यु

बुधबार, ०४ बैशाख २०७६

बैशाख ०४,
चिली । चिलीमा आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज दुर्घटना भएको छ । जहाज दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको हो ।

चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ । पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिए ।

बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ । -एजेन्सी