ताजा अपडेट »

३५ वर्षदेखि दुग्ध व्यवसायमा, ७५ हजार मासिक आम्दानी

बुधबार, ०४ बैशाख २०७६


बिमला आचार्य
ग्लोवल आवाज

बैशाख ०४, बुटवल । हामीले सात आठ कक्षाका पुस्तकमा पढ्ने गछौं, “नेपाल कृषि प्रधान देश हो ।” तर पछिल्लो समय आम्दानीको स्रोत कृषि नभइ रेमिट्यान्स बनेको छ । नेतृत्व तहमा पुगेका नेताहरु रेमिट्यान्सले नै देश चलाउने सपना देखिरहेका छन् । युवाहरुलाई विदेशमा सस्तो ज्यामीको रुपमा बेच्ने म्यानपावर कम्पनीहरु खोल्न स्वीकृति दिइरहेका छन् । सरकारले नै युवाहरुलाई विदेश धकेलिरहेको अवस्थामा केही सचेत मानिस पनि छन् । जो रगत पसिनाले आफ्नै देशको माटो सिंचित गर्नुपर्ने विचारका साथ संघर्ष गरिरहेका छन् । एक संघर्षशिल दम्पत्तिको जिवनकथा यहाँहरुको माझ पस्कने जमर्को गरेका छौं ।

मानपकडी ८, खजुरीयाका रामसमुझ यादव अहिले झण्डै ५२ वर्षका भए । कठिनाइहरुसँग जुध्दै उनी कक्षा ५ सम्म मात्रै अध्ययन गरेका छन् । पारिवारिक अवस्था कमजोर भएका कारण अध्ययनलाई अगाडि बढाउन नसकेको उनी बताउँछन् । बुवाआमाको एक्लो छोरो भएको कारण पनि घरव्यवहारको जिम्मेवारी छिट्टै नै उनको काँधमा प¥यो उनी भन्छन् “१७÷१८ वर्षको उमेरदेखि नै भैंसि पाल्न र दुध बेच्न थालेको हुँ । काम गर्दै जाँदा आम्दानी पनि बढ्न थाल्यो, सफलता मिल्न थालेपछि काम गर्ने जोस जाँगर पनि बढ्न थाल्यो ।” यादव यो पेशामा रमाउन थालेको झण्डै ३५ वर्ष भयो । आफ्नै गोठमा १५ वटा भैंसि पालेका छन् ।

उनी सवेरै उठ्छन्, भैसिको हेरचाह गर्छन्, दुध दुहुन्छन्, गाउँबाट दुधहरु संकलन गर्छन् र बजारतिर निस्कन्छन् । मानपकडिबाट दुध लिएर उनी बुटवल बजारसम्म पुग्छन् । उनी दैनिक औसत १३५ लिटर दुध बिक्री गर्ने गर्छन् । यसरी दुध बेचेर ४ जना छोराछोरीलाई राम्रोसँग पढाएका छन् । गोठमा भैसिहरुको हेरचाहमा साथ दिएकी छिन् श्रीमती सुमावती यादवले र पढाइभन्दा बाहिरको समयमा छोराछोरीले पनि सहयोग गर्ने गर्दछन् । उनी भन्छन् “काम गर्ने क्रममा विभिन्न कठिनाइहरु पनि हुन्छन् । ग्राहकहरुको मन जित्न पनि सक्नुपर्छ । भैंसिहरु बिरामी हुन्छन् कहिलेकाँही मर्न पनि सक्छन् । तर संधै निराश हुनु परेको छैन ।”

बजारमा दुधको माग बढीरहेको छ । गाई भैंसि पाल्ने मानिस कमै मात्रामा रहेको कारण दुध पु¥याउन धौ–धौ परेको उनी बताउँछन् । केही समय पहिलेसम्म साइकलमा दुध लिएर हिँड्ने यादव अहिले भने मोटरसाइकलमा हिँड्ने गर्छन् । आफ्नो घर छ, ट्याक्टर छ, मारुती कार छ, केही जमिन छ । उनी भन्छन्, “सबै परिवार सँगै बस्न पाएका छौं । सुख दुःख बाँड्न पाएका छौं किन जाने विदेश ?” विदेश गएर कमाएको पैसा विदेश बसेर घर पठाउन सक्दासम्मको लागि मात्र हुने पछिसम्मको लागि दिगो नहुने उनको भनाई रहेको छ । यादव अहिले सबै खर्च कटाएर पनि लगभग ७५ हजार मासिक आम्दानी गरिरहेका छन् ।
देशका युवाहरु खुलेरै यो पेशा अपनाउन सक्ने गरि वातावरण सिर्जना गर्नुपर्नेमा सरोकारवालाहरु सचेत भएमा युवाहरु विदेश जाने लर्को कम हुने देखिन्छ ।