ताजा अपडेट »

बँदेलको आक्रमणबाट ९ घाइते, ३ को अवस्था गम्भीर

विहीबार, २८ चैत्र २०७५

चैत २८,

महोत्तरी । जंगली जनावर बँदेलको आक्रमणमाबाट महोत्तरीमा ९ जना घाइते भएका छन् । बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा बँदलेको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् भने ६ जना समान्य घाइते भएका छन् । बँदेलको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।  

गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ । त्यस्तै सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार शाहले जानकारी दिनुभयो । बिहीबार बिहान गाँउमा आएको बँदेलले  स्थानीय रबिन्द्र महतोले चलाउँदै गरेको ज ८ प ८७८२ नम्बरको मोटरसाइकलमा र ज १ ह ४५८० नम्वरको अटो रिक्सामा धक्का दिएको थियो ।

बँदेलले आक्रमण गर्ने क्रममा पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बलले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयहरुले सुरक्षा वेशमा ढुङ्गामुढा गरेका थिए ।बँदेलमाथी प्रहरीले गोली किन प्रहार गरेन भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दा सेन्टीमा बसेको एक जना जवान घाईत भएको सशस्त्र वेश क्याम्प पशुपतिनगरले जनाएको छ । आक्रमक बँदेललाई सम्बन्धित निकाय र प्रहरीले नियन्त्रणमा लिनुपर्ने हिसाबले प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताउनुभयो । बँदेलको आक्रमणबाट घाइते भएकाहरुको उपचार खर्चमा ध्यान दिने बर्दिवासका नगर प्रमुख विदुर कुमार कार्कीले बताउनुभयो ।