चैत २८,
गुल्मी । गुल्मीमा जिप दुर्घटनामा पूर्व सांसद सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाँडा भन्ने स्थानमा लु १ ज १९५७ जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा जिपमा सवार धुर्कोट गाउँपालिका ५ बस्तु निवासी ७२ वर्षिय पूर्व सांसद एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रुद्रामणीशर्मा भण्डारी र मालिका गाउँपािलका वडा नम्बर १ निवासी ८ वर्षिय ओस्कर बिकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए । दुर्घटनामा घाइते मध्ये मालिका गाउँपालिका २ निवासी २६ वर्षिय कोशिला थापाको पनि मृत्यु भएको छ । थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनालाई पाल्पा लगिएको १ जनको वामी टक्सार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पूर्व सांसद भण्डारी ०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।
जिपमा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप विहिबार बिहान दर्लिङ्ग गुल्मीबाट बुटवलका लागि छुटेको थियो । दुर्घटनामा परि घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षिय सुर्य थापा, सोहि वडाकै गाडी चालक ३६ वर्षिय कमल पुरी, ३ वर्षिय कृतिमा थापा, ५ वर्षिय जेनिस थापा, १८ वर्षिय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षिय भोजबहादुर भट्टराई र ३८ वर्षिय रिमा भट्टराई रहेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताए । घाइते वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा उपचारको लागि लगिएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया