चैत २८,
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताएका छन् ।
‘विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनु पर्छ ।’ उनले भने ।
माडीमा बुधबार आयोजित माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफू पटकपटक माडी आउन खोज्दा आफ्नो कारणले भन्दा पनि अरु कारणले आउन नसकेको उनले स्पष्ट पारे । ‘मलाई टिभीमा पत्रपत्रिकामा देखिराख्नु भएकै छ । म माडी आउनु भन्दा पनि मुख्य कुरा विकास हो’ अध्यक्ष प्रचण्डले भने, ‘माडीको विकासको लागि मैले सक्दो सहयोग गरिराखेको छु । नयाँ बजेट र पञ्चवर्षीय योजनामा माडीका लागि धेरै कुरा परेका छन् । मैले माडीका लागि बहस र सरकारको ध्यानाकर्षण गरेको छु ।’
‘१५ किमी बाटो पक्की हुँदैछ । आउने वर्षमा हामी सबैले देख्ने गरी माडीको रंग बदलिन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘आउने चार वर्षमा माडीको कायापलट हुनेछ ।’ अध्यक्ष प्रचण्डले भने । राष्ट्रिय निकुञ्ज ऐन २०२९ सालमा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकोले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनको भनाइ थियो ।
‘यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस सुरु गरेको छु । बैठकहरु गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग’ उनले भने, ‘राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदोरहेछ । राजनीतिक नेतृत्व सधैं परिवर्तनको पक्षमा छ ।’माडीको निम्ति मुख्य समस्या निकुञ्ज ऐन भएको बताउँदै अध्यक्ष प्रचण्डले ऐन परिमार्जनको कुरा लागु हुन नसकेको बताए ।
‘मैले पटकपटक सम्बन्धित मन्त्रालयको मन्त्रीलाई कर्मचारीलाई ऐन संशोधन गरौं । भोलि के के सामना गर्नु पर्छ म गर्छु भन्दा पनि भएन’ उनले भने, ‘मैले प्रधानमन्त्रीलाई माडीका मेयरले अनसन बस्नु पर्दैन, अनसन बस्नै पर्ने भए मै बस्छु भनेँ । अहिले परिस्थिति फेरिएको छ । ऐन संशोधनको कुरा कानुनी समितिमा छलफलमा छ । माडीको जनताको हितको पक्षमा ऐन संशोधन हुनेछ । म आफैं बसेर त्यो काम गर्नेछु ।’
हुलाकी मार्गलाई तटबन्ध र रिंगरोडसँग जोड्ने कामको प्रकृया अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधानको निम्ति सरकार गठन भएदेखि नै प्राथमिकतामा राखेर छलफल भइरहेको दाबी गरे ।सुकुम्बासी सम्बन्धी विधेयक समितिमा दर्ता भइसकेको र छलफलको अन्तिम चरणमा रहेको उनले बताए । नापी भएको तर लालपूर्जा नपाएकालाई तुरुन्त लालपूर्जा दिने, नापी नभएको तर वर्षौंदेखि खेती गर्दै आएकालाई मिलेसम्म लालपूर्जा दिने र सुरक्षाको हिसाबले लालपूर्जा दिन नमिल्नेलाई स्थानान्तरण गर्ने व्यवस्था विधेयकमा गरिएको उनले स्पष्ट पारे ।
बाँदरमुढेमा पार्क बनाउन दस करोड रुपैयाँ छुट्याइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘पीडित जनताको लागि मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, त्यो अहिलेको बजेटमा व्यवस्था हुनेछ ।’ बहुवर्षीय योजना अन्तर्गत ध्रुवाघाटदेखि वनकट्टासम्म आकाशेपुलको लागि गृहकार्य भइरहेको र बाटो कालोपत्रे तुरुन्तै गरिने उनको भनाइ थियो । ‘त्यसका लागि वन मन्त्रालय र अन्तर्राष्ट्रिय संस्थासँग सहमति बनाउनु पर्नेछ ।
राष्ट्रिय निकुञ्जभित्र संरचना बनाउन सर्वोच्चको फैसलालाई पनि ध्यान दिएर सहजीकरण गर्न निर्देशन दिएको छु ।’ उनले अगाडि भने, ‘आज एक वर्षपछि मैले यहाँ बस्दै गर्दा मेरो दुईतिर दुई जना माननीय मन्त्रीहरु शिक्षामन्त्री गिरिराजमणि पौडेल र यातयात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ । सरकारको नेतृत्व यहाँ केन्द्रित भयो आज । माडी देशको केन्द्रविन्दुमै छ । विकासको केन्द्रविन्दुमै छ । यसको महत्वबारे चिन्तन गर्नुहोस् ।’
प्रतिक्रिया