चैत २८,
कपिलवस्तु । पदेश २ का सरोज यादवले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको १४औँ राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । १२औँ सागका कांस्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश ७ का कैलाश ठगौनालाई पराजित गरेका हुन् । त्यस्तै, नेपाल प्रहरीका रितेशप्रसाद यादवले सेनाका अदीप खड्कालाई र प्रदेश ३ का शैलेन्द्रकुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी गराए ।
त्यस्तै, अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तिलकबहादुर देउजाले प्रदेश ५ का शिवकुमार यादवलाई पराजित गरे । यसैगरी प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमलदेव यादवलाई पराजित गरे । ६१ केजी तौलमा प्रदेश ७ का अर्जुन गुरुङ, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र प्रदेश ५ का भुनेश्वर यादवले पनि जित निकाले । अर्जुनले प्रदेश १ का आनन्द राजवंशी, जादुले सेनाका अर्जुन बोहरा, भागवतले प्रदेश ७ का सुरज थापामगर र भुनेश्वरले प्रदेश २ का जयमंगल यादवलाई पराजित गरेका थिए ।
कपिलवस्तु जितपुरस्थित सिद्धार्थ कलेजको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ र प्रदेश ७ की मनीषा सिंहले जितको शुरुवात गरे । यस्तै, ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले । ५७ केजीमा सेनाकी कल्पना विक र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे ।
५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशीला चन्द, ६५ केजीमा प्रदेश ७ की नीरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले । शान्ति भारोत्तोलन खेलकी खेलाडीसमेत हुन् ।
प्रतिक्रिया