ताजा अपडेट »

चाडवाड नजिकिँदै गर्दा आकाशियो तरकारीको मूल्य

मंगलबार, २७ असोज २०७७
1 Shares

बुटवल । चाडवाड नजिकिँदै गर्दा भान्साका सामाग्री गृहणीहरुका लागि टाउको दुःखाईको विषय बनेको छ । मुलुक विश्वव्यापी कोरोना महामारीसँग जुधिरहेका बेला फलफूल तथा तरकारीको मूल्य वृद्धि गृहणी मात्र नभई आम उपभोक्ताका लागि चिन्ताको विषय हो ।

विगत वर्षभन्दा बजारमा दैनिक उपभोग्य वस्तुसँगै फलफूल तथा तरकारीको मूल्य एक्कासी वृद्धि हुँदासमेत सम्बन्धित निकायको ध्यान गएको छैन । बजारमा हरियो तरकारी तथा फलफूलको मूल्य मासुको मूल्यभन्दा बढी हुन थाले पनि सरकारले भने पटक-पटक दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि नभएको दाबी गर्दै आएको छ ।

विगतका वर्षहरुमा चाडवाड नजिकिँदै जाँदा बजार अनुगमनलाई प्राथमिकता दिने गरेका सरकारी निकाय तथा विभिन्न व्यवसायीक संघ–संस्थाहरुले समेत चासो नदिँदा उपभोक्ताले मूल्यवृद्धिको मागरमा पर्नु परेको गुनासो बढ्न थालेका छन् । कोरोना महामारीको कारण देखाउँदै व्यवसायीहरुले तरकारी, फलफूल तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गर्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले दशैँ तिहारमा हुने कालोबाजरी रोक्नका लागि मूल्य सूची अनिर्वाय गरेको बताएका छन् । ‘कालोबजारी रोक्नका मूल्य सूची अनिवार्य गरेको छ, मूल्य सूची नराख्ने व्यवसायीलाई कारवाही गर्नका लागि उपहानगरले दण्ड समिती गठन भइसकेको छ, नगरको निर्देशन अवेज्ञा गर्ने केही व्यापारी कारबाहीमा परिसकेका छन्’– नगर प्रमुख सुवेदीले ग्लोबल आवाजसँग भने । तर बुटवलमा रहेको कृषि उपज तथा थोक बाजार केन्द्र र यस क्षेत्रका भाटभटेनी, हरियो तरकारी, पैचो पसल लगायतका केही व्यवसायीक डिपार्टमेन्टहरु बाहेकका फलफूल तथा तरकारी पसलहरुमा मूल्य सूचि विनानै व्यापार भइरहेका छन् ।

दशैँ तिहार जस्ता चाडपर्वमा हुने महङ्गी नियन्त्रण गर्न उपमहानगरपलिकाले संघीय सरकार, प्रदेश सरकार, गुणस्तर तथा नापतौल विभाग र इलाका प्रशासनको समन्वयमा निरन्तर रुपमा बजारको अनुगमन गरि रहेको बताइए पनि प्रभावकारी नभएको गुनासो आउन थालेका छन् । सरकारले औपचारिकताका लागि चर्चा कमाउन मात्रै बजार अनुगमन गर्दा कालो बजारीयाहरु मौलाउन थालेका उपभोक्ताहरुको गुनासो रहेको छ ।

कोरोना महामारीले आक्रान्त बनेका जनतालाई दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले थप पिडा भएको छ । विगत वर्षहरुमा चाडवाडको समयमा अनुगमन तथा नियमनलाई जोड दिँदै आएका यस क्षेत्रका व्यवसायिक संघ–संस्थाहरुको समेत यसतर्फ चासो देखिएको छैन ।

विगत वर्षहरुमा बजार अनुगमन तथा आफ्ना व्यवसायीहरुलाई नियमन गराउनमा सक्रिय भूमिका निर्वाह गर्ने बुटवल उद्योग वाणिज्य संघले समेत यो वर्ष सक्रियता देखाएको छैन । तर संघका अध्यक्ष खेमबहादुर हमालले भने नियमित अनुगमनको काम हुनुका साथै नियम विपरित गएका केही व्यापारीहरुलाई कारबाही समेत गरिएको दाबी गरेका छन् । ‘समय समयमा अनुगमनको काम भइरहेको छ । व्यवसायीक मर्यादा विपरित गएका केही व्यवसायीहरुलाई कारबाही समेत गरिएको छ ।’–हमालले भने ।

विगत वर्षहरुमा ‘दशैँ तिहार सस्तो बजार’ समेत सञ्चालन गर्दै आएको संघले यो वर्ष स्थगित गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्ष दशैँ सस्तो बजार सञ्चालन नगर्ने संघका अध्यक्ष हमालले बताए । कोरोना संक्रमणको जोखिमका कारण दशैँ सस्तो बजार सञ्चालन नगरे पनि उपभोक्तालाई दशैं तिहारमा केही छुट दिनका लागि मातहतका सबै व्यापारीलाई आग्रह गर्ने उनले बताए ।

यसैगरी रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले पनि अनुगमनको काम सरकारी निकायको मातहनमा गरिने बताउँदै पन्छीने कोसिस गरे । आफू मातहतका व्यवसायीहरुलाई अनावश्यक मूल्यवृद्धि नगर्न आग्रह गरिएको बताउँदै उनले नियमन गरे नगरेको विषयमा सरकारी निकायसँग समन्वय गरेर मात्रै गर्न सकिने उल्लेख गरे ।

विगत वर्षहरुमा ग्राहकहरुका लागि दशैं तिहार सस्तो बजार लगायतका स्किमहरु ल्याउने गरेको संघले यो वर्ष भने कार्यक्रमहरु स्थगित गरेको छ । सस्तो बजार सञ्चालन नगरे पनि जिल्लाका विभिन्न स्थानमा उपभोक्तालाई सहज हुने गरी ‘दशैं तिहार विशेष कार्यक्रम’ सञ्चालन गरिने अध्यक्ष लोहनीले बताए ।

भिडभाड हुँदा कोरोना संक्रमणको जोखिम रहेकाले यस वर्ष बुटवल, देवदह, मुर्गिया र भैरहवा लगायतका विभिन्न स्थानमा सरकारले जारी गरेका सूरक्षा मापदण्ड अपनाएर त्यसता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष हमालले बताएका छन् ।