ताजा अपडेट »

बलात्कारका घटनाहरु कम गर्न के गर्नुपर्छ ?

शनिबार, २४ असोज २०७७

अहिले देशका विभिन्न ठाउँमा बलात्कारका घटनाहरु बढिरहेका छन् । यसले महिलालाई असुरक्षित बनाएको मात्र छैन, समाजलाई नै लज्जित बनाएको छ । समाजको कलंक बनेको बलात्कार जस्तो जघन्य अपराधमा कसरी कमि ल्याउन सकिन्छ भन्ने बारेमा कालिका मानवज्ञान मावि बुटवलका कानूनका विद्यार्थीहरुको धारणा यहाँ प्रस्तुत गरिएको छ :

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ : रोशनी डुम्रे
अहिले हामीलाई थाहा नै छ, दिनानुदिन घटिरहेका बलात्कारका घटनाले गर्दा चेलिहरु आफ्नेै घरमा ढुक्कसङग एक्लै बस्न नसक्ने अवस्था छ । एउटा आमा नै रास्ट्रपति भएको देश हो नेपाल तर चेलिले न्याय भने पाउन सकेनन् । हामी भन्छौ छोटा लुगाको कारण हो बलात्कार तर किन यहाँ पुरा शरीर ढाक्नेकेै हुन्छ बलात्कार । फेरि भन्ने गर्छौ घरदेखि बाहिर घुम्न ठिक होइन । तर, किन यहाँ घरभित्र बाबु दाजुभाइ बाटेै भएका छन् बलात्कार । तर बलात्कार त तब हुनसक्छ जब मानिसमा कुत्सित भावना र कुसस्कारको जन्म हुन्छ जो रगतको सम्बन्ध अनि उमेरको ख्याल गर्दैन।

निर्मलालाई न्याय देउ भनिरहँदा धेरै बालिकाको बलात्कार पछि हत्या भयो मिडिया र समाजमा चर्चा चल्यो तर अपराध रोकिएको छैन । आवाज उठाएर मात्र बलात्कारको अन्त्य गर्न नसकिने प्रष्ट देखिएको छ । यसलाई अन्त्य गर्न आफुमा भएको शक्ति भन्दा अरु केहि ठूलो हुदैन । आफ्नो जिन्दगीको रक्षा आफै गर्ने सिक्नु पर्छ र प्रत्येक परिवारमा पुरुषहरुलाई नैतिकवान र चरित्रवान बन्ने शिक्षादिनुपर्छ । एउटा अपराधीलाई उन्मुक्ति दिनु भनेको हजारौ अपराधीलाई जन्म दिनु हो । अब कानुन फितलो होईन बलियो बनाउनुु पर्छ । बलात्कारीलाई मृत्युदण्ड दिएमा मात्र बलात्कारमा परेका महिला बालबालिकाहरुले न्याय पाउछन् । प्रचलित कानूनमा संसोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड को ब्यवस्था गरेमा बल्ल बलात्कारी पछि हटने छन् ।

सजाय कम गर्नसक्न स्वविवेकी अधिकार हटाउनुपर्छ : रितिना कुँवर
कसैले कुनै १८ वर्षभन्दा माथिको महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा महिला वा बालिकालाई बलत्कार गरेको मानिने कानुनी ब्यबस्था छ । यो बलत्कार जस्तो जगन्य अपराधमा अभियुक्त लाई हुने सजायमा मृत्यु दण्ड नै हुनुपर्छ तर नेपाल को संविधान २०७२ को भाग ३मौलिक हक र कर्तव्य को धारा १६ मा सम्मान पूर्वक बाँच्न पाउने हकमा उपधारा २ ले मृत्यु दण्डलाई स्वीकार गर्ने कानुन बनाउन वञ्चित गरेबाट मृत्यु दण्ड हुने अवस्था रहेन।

यस्तो अपराध गर्ने पीडक (अभियुक्त)लाई जिउ छउन्नजेल कैद गर्नू उपयुक्त हुन्छ मुलुकी अपराध (सहिता) ऐन २०७४को परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९को उपदफा ३ मा उल्लेख भएको सजाय सम्बन्धमा न्यायधिसलाई प्रदान गरिएको स्वविवेकी अधिकार हटाई बलात्कारिलाई आजीवन कैद गर्ने ब्यबस्था हुनुपर्दछ। समाजमा मिलापत्र गर्ने परिपाटी लाई दुरुत्साहन गर्न त्यस्ता कार्य भएमा अनुसंधान अधिकारी,सरकारी वकील र सोमा संलग्न अन्य ब्यक्ति लाई पनि बलत्कार को मुद्दामा अनुसंधान को क्रममा प्रमाण नष्ट गरी पीडक छुट्ने अवस्था सिर्जना गरेको खण्डमा तत्त समन्धि अधिकारी सामाजिक ब्यक्तित्व माथि पनि कडा कारबाही हुने ब्यबस्था कानुनमा नै गरी तुरुन्तै लागू गर्नू पर्छ ।

प्रहरी र सरकारी वकील समक्ष पीडक( अभियुक्त )ले दिएको साविती बयान लाई अदालत मा पुगेर इन्कार गरे बाट पनि प्रमाण संकलन मा त्रुटि देखाई न्यायालयको स्वविवेकीय अधिकारबाट छुट्करारसफाई पाउने अवस्था हुन बाट रोक्न पीडक (अभियुक्त)ले नै इन्कारी बयानलाई पुष्टि हुने प्रमाण जुटाउनु पर्ने बाध्यात्मक कानुनी ब्यबस्था हुन सके बलत्कार को घटना निराकरण हुन सक्छ

स्वअनुशासन आवस्यक : मनिषा पाण्डे
कसैको मन्जुरी बिना , डर धम्कि देखाइ वा बल को प्रयोगगरि जबर्जस्ति गरिने यौनसम्पर्कलाई बल्त्कार भनिन्छ ।आजभोलि यस्ता क्रियाकलाप दिन २ गुणा र रात ४ गुणाले बढीरहेका छन । महिलामाथि घटने येस्ता घटनाका थुप्रै कारणहरु छन । तिमध्ये महिलाहरूलाई खेलौना स्वरुप हेर्नु मुख्यकारण हो।

अनि बेरोजगारी ,वैदेशिक रोजगारीमा जानू ,उत्श्रृखल फिल्म गित हेर्नु ,नशालु पेय पदार्थ प्रयोग गर्नु ,सामाजिकनैतिकताको ह्रास गर्नु, सानै देखि पे्रमि प्रेमिका बनाउनु, यौन सम्बन्ध राख्न खोज्ने ,आदि अन्य कारण हुन् भने येस्ता क्रियाकलापलाई रोक्ने महिला र पुरुष दुवै आफू अनुशासित हुने र जति सक्दो ब्यस्त रहने, किशोर किशोरीहरुले अभिभावक र शिक्षकहरुको आदेश पालना गर्ने ,लैंगीक समानताको भावना बिकास गर्ने र कडा कानुन निर्माण गर्ने ,प्रत्येक परिवारमा पुरुषले हरेक महिलालाई सुरक्षित बाताबरण मिलाइदिने, हरेक महिलालाई आत्मसुरक्षाका तालिम दिने ,अपरिचित व्यक्तिसङग कुनै किसिमको सम्बन्ध नराख्ने जस्ता कुरामा ध्यान दिनुपर्छ। बलात्कृतले पनि बलात्कारका घटनाहरु नलुकाउने र बलात्कारिलाई प्रचलित कानूनमा व्यवस्था गरिएको मध्येको उच्चतम सजाय दिने गरियो भने बलात्कारका घटनामा कमि आउनेछ ।

पुरुषहरूको सोँच परिवर्तन हुनु जरुरी : लक्ष्मी अधिकारी
सामान्यतः बलात्कार भनेको कुनै पनि नारी ,बलिकाहरुलाइ उनिहरुको इच्छा बिपरित जबर्जस्ति करणी गर्ने हो भन्ने बुझिन्छ । अहिले हाम्रो समाजमा दिनहु बलात्कारको घटना हाम्रो कानले सुन्ने गरेको पाइन्छ । बलात्कार अन्त्यको लागि विभिन्न सस्थाहरु ,क्लबहरु ,विद्यार्थी लगायत अभिभावकहरुले कार्यक्रम संचालक गर्दै आएका छन् तर बिडम्बना दिनहुँ बलात्कार बढी राखेको छ ,बलात्कारिहरु भाग्न सफल भएका छन् । कहिकतै बलात्कारिहरु समातिएका पनि छन् तर उनिहरुलाई सजाय दिएका छैनन् । हामीले बलात्कारका घटनाहरु अन्त्य गर्नको लागि सर्बप्रथम पुरुषहरूको सोच परिवर्तन हुनु जरुरी छ । उनिहरुले नारी होस या नाबालिका हरेकलाई दिदिबहिनिको नजरले हेर्नू जरुरी छ ।

हरेक कार्यक्रम छोरीलाई सचेत गराउनको लागि नभएर छोरालाई सचेत गराउनको लागि नि होस् । साथै नारीहरुमा पनि आत्मबल हुनु जरुरी छ । तर बालबालिकाको सन्दर्भमा कुरा गर्दा उनिहरु आफ्नो अभिभावकमा निर्भर हुन्छन् । हरेक अभिभावकले आफ्नो बच्चाको सुरक्षाको जिम्मेवारी बहन गर्न सक्नु पर्छ । बालबालिका सम्बन्धि हरेक घटनालाई अन्त्य गर्नको लागि सर्बप्रथम अभिभावक सचेत हुनु जरुरी छ । त्यतिले मात्र बलात्कारको अन्त्य हुदैन, न्यायिक क्षेत्र समेत बलियो हुनु पर्छ । कुनै पनि बलात्कारिहरु पैसाले गर्दा छुटकारा नपाओस । धनी होस् या गरिब पैसामा न्याय नजोखियोस । सबैलाइ न्याय बराबर होस अनि सजाय पनि बराबर होस् । कडा कारबाही भयो भनी बलात्कारका घटनाहरु कम हुदै जानेछन् अनि सम्पुर्ण बालबालिका ,नारिहरु स्वतन्त्र र सुरक्षित रुपमा बाँच्न पाउछन् ।

यौन हिंसाको बारेमा पढाउनुपर्छ : समिक्षा गौतम
अहिले बलात्कार को घटना धेरै बढीरहेको छ । २ महिनाकि नाबालकदेखि ७० वर्षे वृद्धा समेत सुरक्षित छैनन् । आज उ एउटा नारी बलात्कारको शिकार भई, भोलि अर्को हुनेछे , र पर्सि म पनि या हामी पनि शिकार नहुने भन्न सकिदैन । कुनै पनि केटी मान्छे सुरछित छैन । दिन दिनै बलात्कार को घटना बढी रहेको छ , ती मध्यकेहि घटनाहरु सार्वजनिक हुने गरेको भएपनि धेरै घटनाहरु गुपचुपमै रहेको सुनिन्छ ।

बलात्कार विकृत सोचको नतिजा हो । छोटा कपडा लगाउदैमा बलात्कार हुने हैन । यो सोचाइ बदलिनु पनि आवश्यक छ । हामिलाइ यो घटना अन्त्य गर्नु छ भनी आफूबाट नै सोच परिवर्तन गर्नु पर्छ । बलात्कृतले न्याय नपाएमा अपराधीले हिम्मत पाउछ अनि निरन्तर रूपमा बलात्कारिको संख्या बढी नै रहन्छ । कडा कारबाही हुनु पनि जरुरी छ । जसरी अरु देशमा बलात्कारि लाई फासीको सजाय छ ,त्य्स्तौ यहाँ पनि त्यो सजाय हुनु पर्छ । नारी पुरुषमा भेदभाव नराखी शिक्षा दिनु पनि निकै आवश्यक छ , सानै कक्षादेखि यौन हिंसाको बारेमा पढाइदिने हो भने पनि किशोरीहरु आफुमा सुरक्षित हुन् सक्छन ।

यौन शिक्षा आवश्यक : मोनिका ढेंगा
बलात्कार हाम्रै समाजको विषालु अर्गानिक उत्पादन हो जुन अहिले हावाको वेग जसरी सामाजिक सञ्जाल एवम् पत्रपत्रिकामा फैलिएको छ। मानिसमा हुने असमजदारी, यौनशिक्षाको अभाव, अविकसित अपरिपक्व किशोरकिशोरीहरुले प्राप्त गर्ने यौनजन्य सामाग्री जस्ता मुख्य कारणले यो समस्याले समाजमा विकराल रुप लिएको छ। समाजमा जे जति परिवर्तन आएपनि महिलाहरुले परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। महिला माथि हुने बलत्कारमा कमी आउन सकेको छैन ।

समाजमा रहेको यस्तो असहिय हिंसाको अन्त्यका निम्ति सर्वप्रथम त कठोर कानुन र कार्यन्वयन हुनु जरुरी छ। महिला सशक्तिकरणका लागी विशेष कार्यक्रम सञ्चालन गर्दै महिलालाई सचेत बनाउनुपर्छ। यौन शिक्षाको बारेमा सबैलाई जानकारी दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ। कानुन सम्बन्धि निकायहरुलाई राज्यद्वारा विशेष निगरानी गरिनुपर्छ साथै पिडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्छ। त्यस्तै राज्य स्तरमा भएको कानुन सर्व साधारणको पहुँचमा पुग्नुपर्छ।

महिला र पुरुष दुवैको साथ र सहयोग आवश्यक : राजन अधिकारी
जुन पुरुषले आफ्नो आमाको महत्व बुझेको छ उस्ले सबैतिर सकारात्मक देख्छ । मलाइ त लाग्छ बलत्कार त्यो पुरुषले गर्छ जस्ले आमाको महत्व, दिदिबहिनिको महत्व बुझ्दैनन। बलत्कार गर्नुमा समेत पुरुषले बहादुरी भनेर ब्याख्या गर्ने यो समाजले पीडित महिलाको बारेमा किन सोच्दैन ? बलत्कारिलाइ कडा भन्दा कडा सजाय दिन नसक्नु भनेको बलात्कारिलाइ उक्साउनु हो।

जसोतसो समाए जस्तो गर्ने अनि भित्रभित्रै के के गरेर उन्मुक्ती दिने । बलत्कार भएपछि बलत्कार भएको प्रमाण खोज्छ अदालतले,आफै भन्नुस न एक बलात्कृत चेलिले कसरी प्रमाण दिन सक्छिन र? म पनि एक पुरुषनै हो । पुरुषलाई मात्र आरोप लाउने मेरो मनसाय पटक्कै हैन ।कतै महिलाको कारणले पनि चेलो बलत्कृत भएकी छन । सामाजिक समस्यालाइ उन्मुलन गर्न महिला र पुरुष दुवैको साथ र सहयोग आवस्यक छ ।