नियमित सेवा प्रवाहमा तल्लिन भई सेवाप्रवाह गरिरहेको अवस्थामा म एक स्वास्थ्यकर्मी आफै कसरी कोरोना संक्रमित हुन पुगेछु पत्तै भएन । गत भाद्र २५ गतेको स्वाव संकलन भएर २६ गते बिहान करिव नौ बजेको समयमा मलाई फोन आयो । जुन फोन थियो ‘तपाई कोरोना संक्रमित हुनुभएको छ आइसोलेशनमा उच्च मनोवलका साथ बस्नुहोला ।’ मैले जवाफ दिए साच्चै मेरो कोरोना रिपोर्ट पोजेटिभ देखिएकै हो भनी प्रति प्रश्न गर्दा एकान्तवासबाटै सञ्चालन भैरहेको अनलाइन प्रविधिमार्फत मेरो ७ बर्षीय छोरीले अध्ययन गरीरहेकी थिइन् ।
मैले फोनमा गरेको कुराकानीबाट म मा कोरोना पोजेटिभ देखिएको विषय जव उनले थाहा पाइन तब, उनले आफ्नो अनलाइन पढाइको भिडियो बन्द गरी छाति पिटेर रुन थालिन । त्यो क्षण साच्चै नै हृदयविदारक नै थियो । जुन दिनसम्म म आफै स्वास्थ्यकर्मी भएको नाताले सहजै रुपमा लिएको थिए । जब छोरीको त्यो अवस्था देखे अनी साच्चीकै आफ्नो मन सम्हाल्न सकिन जुन समयमा मेरो श्रीमान मलाई पूर्ण रुपमा होम आइसोलेनमा राख्ने तयारीमा जुटी सक्नुभएको थियो । जब होम आइसोलेशन तयार गरी मलाई पूर्ण रुपमा आइशोलेट गर्नुभयो र छोरीलाई सम्झाउँदै नियमित प्रकृयाजस्तै ठानी मलाई सम्झाउँदै रोग लाग्नु सामान्य कुरा उच्च मनोवलका साथ बस हामी तिम्रो साथमा छौ, पिर चिन्ता नगर भन्ने जस्ता शब्दहरु व्यक्त गरिरहँदा मलाई बल्ल साच्चै कोभिड-१९ पोजेटिभ भएको आभाष भयो ।
मेरो आफ्नो स्वास्थ्य समस्याका बावजूद पनि मेरो घरपरिवार र बुवाआमाहरुलाई अन्यन्त्रबाट खबर हुँदा ठूलो पीडा र असर पर्न सक्छ भन्ने ठानेर आफै फोन गरी मलाई कुनै समस्या छैन खै कसरी रिपोर्ट पोजेटिभ देखियो हजुरहर नआत्तिनुहोला भन्ने शब्द सुन्नासाथ छोराछोरीप्रति आमावुवाको माया न हो मन थाम्न नसकी निशब्द हुनुभयो । आफूमा देखिएको स्वास्थ्य समस्याहरु आफैभित्र दवाएर राख्ने कोशिष गरी उच्च मनोवलका साथ पूर्ण एकान्तबासमा पुगेँ ।
मलाई पूर्ण रुपमा आइसोलेट गरी परिवारबाट पाउनुपर्ने माया सद्भाव र सहानुभुती भएतापनि स्वास्थ्यमा आउने विभिन्न उतार-चढावका कारणले केही दिन अनिँदो बिते त केहि दिन खाना नखाएरै वितेतापनि मैले मेरो आफ्नो उच्च मनोवललाई कमी हुन दिइन जसको कारणले गर्दा मलाई कोभिड-१९ जित्न सहज बनाउँदै गइरहेको थियो । कोरोना संक्रमणको कारणले समाजमा त्रास उत्पन्न हुने भएपनि मेरो छिमेकमा नै यस अगावै कोभिड-१९ ले एउटा सिंगो परिवार नै संक्रमित भैसकेकोले हामी टोलवासी छरछिमेकीले सामान्य रुपमा लिई उच्च मनोवलका साथ कोभिड-१९ जितिन्छ छि-छि र दुर-दुर गर्नु हुँदैन भन्ने मनोभावना विकास गरी उक्त परिवारलाई सद्भाव र सहयोग गर्दै आइरहेका थियौं । जसको कारणले मेरो छरछिमेक आफन्त परिवार र पारिवारिक सदस्यहरु उच्च मनोवलका साथ मलाई हौसला प्रदान गरि एकान्तबासमा छु भन्ने महशुस गर्न समेत नदिन तल्लिन रुपमा लाग्नुभएको थियो ।
यो भाइरस कसैले चाहेर हुने हैन र यो दैनिक जीवनशैली अपनाउने क्रममा आकस्मिक रुपमा देखा पर्ने गर्छ भन्ने सचेतना अभिवृद्धि गर्न आवश्यक छ । यसैगरी एउटा तप्का यो रोग केही पनि होइन भन्ने बुझाइबाट अगाडि बढेको छ । यो बुझाइ पनि परिवार, छिमेकी र समाजको लागि घातक हुन सक्छ । यसमा थप सजगता अपनाउन आवश्यक छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि सबैभन्दा पहिले उच्च मनोबल राख्न आवश्यक छ । सामान्य वा कमभन्दा कम लक्षण देखा परेका सङ्क्रमितहरुले उच्च मनोबल राखी होम आइसोलेशन वा सरकारले तयार गरेका आइसोलेशनमा बसी तातो पानी, बेसार, गुर्जो, अदुवा, तुलसी, अलैँची जस्ता सहजै पाउने जडीबुटीको प्रयोग गर्ने, बाफ लिने र नियमित व्यायाम गरेमा यसलाई सजिलै परास्त गर्न सकिन्छ र मैले पनि परास्त गर्न सफल भए ।
सम्भव भएसम्म होम आइसोलेशनको बसाई बिरामीको लागि उपयुक्त हुने मेरो अनुभव र सुझाव छ । जसले परिवारबाट टाढा छैन भन्ने भान हुन्छ र मनोबल पनि बढ्ने हुन्छ । यो समयमा आफन्त र शुभचिन्तकको फोन र प्रत्यक्ष रुपमा आएर दिने हौसलाले सबैभन्दा धेरै औषधिको रुपमा काम गर्ने रहेछ । आइसोलेशनमा बस्दा मनोरञ्जनात्मक गीत सुन्ने, जीवनोपयोगी सीप जस्ता सामग्रीले थप आत्मबल वृद्धि गर्छ । यसको साथै नियमित बिहान व्यायाम गर्ने, बिहानको घाम ताप्ने जस्ता क्रियाकलाप गर्दा शरीरमा स्फूर्ति आउँछ । कसैले पनि कोरोना सङ्क्रमणलाई हल्का रुपमा लिन हुँदैन ।
यो अन्तरालमा मलाई मायाँ गर्नुहुने मेरो सेवामा कुनै कन्जुस्याई नगरी सेवामै तल्लिन हुनुहुने घरपरिवारप्रति विशेष धन्यवादका साथै प्रत्यक्ष रुफमा भेट्न आउनुहुने एवम् देश तथा विदेशबाट सामाजिक संजाल फोन म्यासेजका साथै विभिन्न माध्यमबाट मलाई स्वास्थ्यलाभको कामना गर्ने सम्पुर्ण इष्टमित्र, साथी भाई, आफन्तजनप्रति विशेष आभार प्रकट गर्दछु । हजुरहरुको माया अनि स्नेहले यो रोगसँगको लडाईमा विजय प्राप्त गरी नियमित आफ्नो सेवामा फर्किसकेकी छु । आफूले आफ्नो ख्याल गरांै सामाजिक सद्भाव कायम गरौ । “स्वास्थ्य नै ठुलो धन हो“ त्यसैले अरुले के गर्ला भन्नुभन्दा आफू नै सचेत भएर आफ्नो नियमित कार्यमा जुटौ । शंका लाग्नासाथ परीक्षण गरौ । वृद्द बालबच्चा दिर्घरोगी र गर्भवतीको विशेष ख्याल गरौ आफूू बाँचौ र अरुलाई पनि बचाऔं ।
(बुटवल-१३ बेलबास निवासी पोखरेल तिलोत्तमा-१४ टिकुलीगढ स्वास्थ्य चौकी टिकुलीगढमा कार्यरत स्वास्थ्यकर्मी हुन् । )
प्रतिक्रिया